काेराेनाकाे उपचारमा संलग्न ३ डाक्टर अस्पतालको झ्यालबाट हाम फाले

समाधान संवाददाता २०७७ वैशाख २५ गते १६:००

मस्को, २५ वैशाख (रासस–एपी)

कोरोनाभाइरस महामारीबाट पीडित बिरामीको उपचारमा संलग्न रुसका तीन जना चिकित्सकले अति कार्यबोझ रहेको भन्दै शंकास्पद रुपमा अस्पतालका झ्यालबाट हाम फालेको रसियाका सञ्चार माध्यमहरुले बताएका छन् ।

ती चिकित्सकमध्ये २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जनाको गम्भीर अवस्थामा उपचारकै क्रममा मृत्यु भएको थियो । विगत दुई साताको अवधिमा भएका यी घटनाहरुको यथार्थ पत्ता लगाउन प्रहरीले अनुसन्धान थालेको छ ।

रसियामा एक दर्जनभन्दा बढी अस्पतालका चिकित्सकहरुले व्यक्तिगत सुरक्षा सामग्रीको अभाव रहेको तथा संक्रमण रोक्ने कार्यविधिमाथि प्रश्न उठाउँदै आएका छन् । चिकित्सकहरुलाई सार्वजनिक रुपमा आफ्ना पीरमर्का भन्न रोक लगाइएको र कुनै चिकित्सकले सरकारी आदेशको बेवास्ता गरेमा जागीरबाट हटाइने धम्की दिने गरिएको चिकित्सकको भनाई छ ।

Advertisement

समाचारहरुमा अस्पतालका झ्यालबाट हामफाल्ने चिकित्सकमध्ये दुई जनाले कार्यस्थलका विषयमा विमती राखेका थिए भने तेस्रो व्यक्तिमाथि साथीलाई कोरोना सारेको आरोप लगाइएको थियो । रसियामा सयौंको संख्यामा चिकित्साकर्मीहरु नै कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।

रसियाको राजधानी मस्कोबाट ५०० किलोमिटर दक्षिणस्थित भोरोनेज क्षेत्रमा कार्यरत डा अलेक्जान्डर शुलेपोभको गत मे २ मा आफू कार्यरत अस्पतालको दोस्रो तलाबाट हाम फालेका कारण ज्यान गएको थियो । कोरोना संक्रमित डा शुलेपोभको त्यही अस्पतालमा उपचार हुँदै थियो ।

Advertisement

पश्चिम साइबेरियाको क्रानोयास्र्क शहरमा अप्रिल २५ मा डा येलेना नेपोमन्यास्चाया नाम गरेकी चिकित्सकको अस्पतालकै पाँचौं तलबाट खसेर ज्यान गयो । उहाँको मे १ तारिखका दिन अस्पतालको सघन उपचार कक्षमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

त्यस्तै अप्रिल २४ मा मस्कोस्थित एक अस्पतालको झ्यालबाट खसेर डा नताल्या लेभेदेभाको मृत्यु भयो । अस्पतालले दुर्घटनाबस नताल्याको निधन भएको बताए पनि स्थानीय संचार माध्यमहरुले डा नताल्यामाथि कोरोनाभाइससँग सम्बन्धित तनाब नै मुख्यरुपमा जिम्मेवार रहेका बताएका छन् । रसियामा १ लाख ६६ भन्दा बढी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको र एक हजार ५३७ जनाको ज्यान गइसकेको छ ।

तपाईको प्रतिक्रिया