महामारीमा रेडक्रसलाई भूमिका देऊ

समाधान संवाददाता २०७७ वैशाख २६ गते ६:४८

घनश्याम रेग्मी

मे ८ अर्थात् अन्तर्राष्ट्रिय रेडक्रस दिवस । सन् १८२८ को मे ८ को दिन स्वीटजरल्यान्डको जेनेभामा जाँ हेनरी ड्युनान्टको जन्म भएको थियो । नोबेल शान्ति पुरस्कारका प्रथम विजेता अनि रेडक्रस जस्तो विश्वव्यापी परोपकारी संस्थाका संस्थापक यी महान व्यक्तित्वको जन्मदिनलाई हरेक वर्ष विश्व रेडक्रस दिवसका रुपमा संसारले सम्झना, सर्मपण अनि सद्भाव व्यक्त गर्दछ । हेनरीलाई एकजना लेखकका रुपमा पनि चिनाउन चाहन्छौं ।

घनश्याम रेग्मी


किनभने यिनले सन् १८५९ मा लेखेको पुस्तक ( मेमोरी अफ सोल्फेरिनो ) अत्यन्त हृदयश्पर्शी यात्रा संस्मरण हो । सोल्फरिनो भन्ने ठाउँ अहिलेको इटालीमा पर्दछ । युरोपको यस ठाँउमा युद्धताका हेनरी कामको सिलसिलामा पुग्दा रगताम्य सिपाही, घाइते अनि मृतकहरुको दर्दनाक अवस्था प्रत्यक्ष देखेका थिए ।

Advertisement

यहि यात्राले उनलाई विश्व परोपकारका लागि रेडक्रसजस्तो अभूतपूर्व संस्था सन् १८६३ मा रेडक्रसको अन्तर्राष्ट्रिय कमिसन अर्थात् आइसिआरसीका रुपमा सुरुआत गर्न प्रेरित गर्यो ।


कोरोनाको महामारीमा नेपालमा रेडक्रसलाई कुनै पनि भूमिका दिएको छैन । राजनीतिक व्यक्तित्वले मात्र परिचालन गर्न खोजिएको छ । स्थानीय तहमा विपत व्यस्थापन समिति छ त्यसमा रेडक्रसको प्रतिनिधि रहने व्यवस्था छ तर समन्वय नभएको रेडक्रसका प्रतिनिधिको गुनासो छ

Advertisement

रेडक्रसको मुख्य कार्यहरुमा मानवताको संरक्षण अनि युद्धग्रस्त क्षेत्रहरुमा घाइतेहरुको उद्धार रहेको छ । यो संसारले धेरै युद्धहरु खेपेको छ, रक्तपातको इतिहास बोकेको छ अनि हरेक युद्धमा कैंयनका संख्यामा घाइतेहरु उपचार नपाइकन छटपटाएर मरेका छन् ।

हेनरी ड्युनान्टले मानवताको मूल्य अनि सेवाको आवश्यक्तालाई महसुस गरेर स्थापना गरेका यो रेडक्रस आज संसारभरिका १ सय ९० भन्दा बढी देशहरुमा कार्यरत छ । नेपालमा पनि हामीहरुले पढेका अधिकांश विद्यालयदेखि नै स्वयंसेवा अनि मानवताको मूल्यलाई आत्मसात गर्दै रेडक्रसको जुनियर रेडक्रस अनि युवा रेडक्रस सर्कलमा हामीहरु आफै धेरैजना सक्रिय भएका हुनसक्छौं ।

अस्पताल, स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी चिनाउनका लागि यही रातो क्रस चिह्नको प्रयोग गरिन्छ । पछिल्लो समयमा रेडक्रस अनि स्वास्थ्यसेवाको चिह्नलाई फरक देखाउने विभिन्न प्रयास भए पनि आजको संसारमा एउटा बुझ्ने उमेरको सानो बच्चाले पनि रातो क्रस देख्ने बित्तिकै सहजै स्वास्थ्य सेवा भनेर बुझ्दछ । नेपालमा पनि सन् १९६३ बाट नेपाल रेडक्रसको सुरुआत भएको हो । सम्पूर्ण जिल्लाहरुमा नेपाल रेडक्रसले आफ्नो सेवाहरु दिँदै आएको छ ।

स्वयंसेवा उन्मुख संस्था भएकाले रेडक्रसका कार्य विद्यार्थी, युवा स्वयंसेवी अनि स्वयंसेवी शिक्षकहरु, समुदायका व्यक्तिहरुले गर्दछन् । विसं १९९०, २०४५ अनि २०६३ सालमा ठूलाठूला भूकम्पको मार खेपेको नेपाली भूमिमा रेडक्रसले विपद व्यवस्थापनमा ठूलै गुण लगाएको छ । रक्तदान अनि सहज रक्त उपलब्धताकालागि रेडक्रस अद्वितीय संस्था हो । यसका अलावा अपांगताको क्षेत्रमा अनि सशस्त्र द्वन्द्वताका हराएका र वेपत्ता पारिएका परिवारलाई सही सूचना प्रदान गर्न र वर्तमान समयमा पुनर्निर्माणमा हातेमालोको सहकार्लायमा समेत रेडक्रसको उल्लेखनीय भूमिका नेपालमा रहेको छ ।

रेडक्रसका मुख्य सिद्धान्तहरु सातवटा रहेका छन् ।
१) मानवता
२) निष्पक्षता
३) तटस्थता
४) स्वतन्त्रता
५) स्वंसेवा
६) एकता
७) सर्वव्यापकता

विगतका महामारीमा रेडक्रसले गरेको अतुलनीय योगदान जस्तै यस वर्ष पनि विश्व कोरोनाले आक्रान्त पारेको बेलामा रेडक्रसको भूमिका महत्वपूर्ण छ । हाल नेपालमा जारी लकडाउनको बेलामा नेपाल सरकारले एकद्वार प्रणाली मार्फत पीडितलाई सहयोग गर्ने निर्णय गरेको छ । यो आफैमा राम्रो हो । तर यस विषम परिस्थितिमा सरकारले आफै केही गर्न भन्दा पनि विभिन्न सहयोगी संस्थाहरुको सहयोग लिइ तिनीहरूको उचित परिचालन गर्नु पर्दछ । ती सहयोगी सस्थामध्ये सबैभन्दा मानव सेवामा समर्पित संस्था नेपाल रेड्क्रस । सोसाइटी हो । यसको गठननै मानवीय सेवा हो यसको राष्ट्रिय अन्तर्राष्ट्रिय मान्यता रहेको छ । यसका हाजारौंको संख्यामा सदस्य रहेका छन् । यो नेपालको कुनाकुनासम्म विस्तार भएको छ ।

रेडक्रससँग विपत व्यवस्थापन तालिम लिएका जन शक्ति पनि छन । रेडक्रससँग विपत व्यवस्थापनका लागि आवश्यक सामग्री पनि छन् । यो राजनीतिबाट अलग संस्था हो । त्यसैले वर्तमान समयमा नेपाल सरकारका स्थानीय तहहरुले नेपाल रेडक्रस सोसाइटीको सहयोग लिनु धेरै राम्रो हुन्छ । हरेक स्थानीय तहहरुले नेपाल रेडक्रस सोसाइटीसँग निम्न प्रकरका सहकार्य गर्न सक्छ । तर यसो भन्दा सरकारलाई कमजोर बनाउन खोजेको होइन । झन् सशक्त र प्रभावकारी बनाउन खोजेको हो ।
१ कोरोनाका बारेमा आवश्यक सचेतना जनचेतना फैलाउन ।
२ हरेक स्थानीय तहमा स्वयंसेवक परिचालन गर्न जुन हरेक समाजमा जे जस्ता समस्या पर्दछन् ती समस्या समाधान गर्न
३ हरेक स्थानीय संस्थामा क्वारेन्टाइन निर्माण गर्न र त्यसका लागि आवश्यक भाँडाबर्तन कपडा कम्मलको व्यवस्था गर्न
४ विपतका बेलामा रक्तसञ्चार सेवा प्रबन्ध गर्न
५ एम्बुलेन्स सेवा सञ्चालन गर्न
६ लकडाउनको बेलामा खाना खान नपाएकाहरूलाई खाना खुवाउने प्रबन्ध गर्न
७ कोरोनाभन्दा अन्य रोग लागेकालाई उपचारका लागि सहयोग गर्न
८ हरेक समाजका हरेक व्यक्तिलाई सकारात्मक सोचको विकास गराउन

यस्ता धेरै ठाउँमा रेडक्रसको सहयोगबाट मानवीय सेवा प्रदान गराउन सकिन्छ । तर कोरोनाको महामारीमा नेपालमा रेडक्रसलाई कुनै पनि भूमिका दिएको छैन । राजनीतिक व्यक्तित्वले मात्र परिचालन गर्न खोजिएको छ । स्थानीय तहमा विपत व्यस्थापन समिति छ त्यसमा रेडक्रसको प्रतिनिधि रहने व्यवस्था छ तर समन्वय नभएको रेडक्रसका प्रतिनिधिको गुनासो छ ।

तसर्थ विश्व रेडक्रस दिवसका अवसरमा हाल महामारीको रुपमा फैलिएको कोभिड १९ को असरबाट बचाउन र मानवीय सेवामा थप समर्पित गराउन सबैलाई प्रेरणा मिलोस ।
नेपाल रेडक्रस सोसाइटी शिशुवा उपशाखाका पूर्व सभापति रेग्मी युवा उपसमिति कास्कीका पूर्व सदस्य हुन् ।

तपाईको प्रतिक्रिया