एसइई दिने विद्यार्थीलाई रेडियोबाटै ट्युसन

पर्वत
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण डेढ महिनाभन्दा लामो बन्दाबन्दी जारी छ ।
बन्दाबन्दीका कारण अन्योलमा परेको (एसइई) माध्यमिक शिक्षा परीक्षा दिने १० कक्षाका विद्यार्थीलाई सहयोग गर्न पर्वतमा रेडियोबाट ट्युसन पढाउन शुरु गरिएको छ ।
पर्वतको कुश्मा नगरपालिकाले गत चैत ६ गतेदेखि शुरु हुने भनिएको विद्यालय शिक्षा परीक्षा एसइई स्थगन भएर घरमै बसिरहेका विद्यार्थीलाई पढाइमा सहयोग गर्न अनिवार्य तीन विषयको रेडियो ट्युसन कक्षा सञ्चालन गरेको हो ।
लकडाउनको समयलाई सदुपयोग गराउने काममा सहयोग गर्न नगरपालिकाले स्थानीय पञ्चासे एफएम, रेडियो शालिग्राम र रेडियो कुशुमबाट प्रत्येक दिन अनिवार्य अङ्ग्रेजी, अनिवार्य गणित र अनिवार्य विज्ञान विषयको रेडियो ट्युसन कक्षा सञ्चालन गरेको हो । इन्टरनेटको पहुँच नगरभित्र सबै ठाउँमा नपुगेकाले रेडियोमार्फत कक्षा सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।
विषयगत विज्ञता भएका शिक्षकहरुको परिचालन गरेर रेडियोमार्फत एसइई दिने विद्यार्थीको पढाइमा सहयोग गर्न रेडियो ट्युसन कक्षा सञ्चालन गरिएको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो । लामो समय परीक्षा स्थगन हुँदा र घरमा बस्दा दिक्क मानिरहेका र फुर्सदमा भएका विद्यार्थीलाई व्यस्त राख्न र उनीहरुको सिर्जनात्मक विकास तथा पुनःताजगीका लागि हौसला प्रदान गर्न नगरपालिकाको खर्चमा रेडियोमार्फत ट्युसन पढाइ कार्यक्रम शुरु गरिएको जोशीले बताउनुभयो ।
नगरपालिकाको सहयोगमा रेडियोमार्फत पढाउने कार्यक्रम बुधबार सम्झौता भई शुक्रबारबाट शुरु भएको हो । एक महिनासम्म सञ्चालन हुने ट्युसन कक्षामा प्रत्येक विषयमा दुई–दुई शिक्षकले सहजीकरण गर्नुहुने भएको छ । प्रत्येक विषयका लागि हरेक दिन एक घण्टाको समय मिलाइएको र उक्त समयमा विद्यार्थीले रेडियो सेटको नजिकै पूर्ण तयारीका साथ कापी, कलम र किताब लिएर सिकाइमा लाभ लिन सक्ने कुश्मा नगरपालिकाका नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले बताउनुभयो ।
उहाँले यसका लागि सबै अभिभावक, सरोकारवाला र विद्यार्थीलाई सक्रिय सहभागिताका लागि आग्रह गर्नुभएको छ । पञ्चासे एफएमबाट बिहान ९ बजेदेखि अङ्ग्रेजी विषयको कक्षा सञ्चालन हुने छ भने रेडियो शालिग्रामबाट बिहान ८ बजे गणित विषयको ट्युसन कक्षा शुरु हुनेछ । त्यसैगरी रेडियो कुशुमबाट बिहान ७ बजे विज्ञान विषयको कक्षा सञ्चालन गरिने नगर शिक्षा अधिकृत क्षेत्रीले जानकारी दिनुभयो ।
प्रविधिको सदुपयोगमार्फत विद्यार्थीको सिकाइमा सहयोग पु¥याउन सञ्चालन गरिएको रेडियो ट्युसन कार्यक्रमअन्तर्गत हप्तामा दुई दिन विषयगतरूपमा प्रश्नोत्तर कार्यक्रम सञ्चालन गरिने र उक्त प्रश्नोत्तर कार्यक्रममा विद्यार्थीले विषयगत शिक्षकलाई आफूले नबुझेका र नजानेका प्रश्नहरु सोध्न सक्नेछन् भने शिक्षकले रेडियोबाटै जवाफ दिनुपर्ने व्यवस्था पनि गरिएको नगरपालिकाले जनाएको छ । रासस








राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
कास्कीमा एक महिनामा १८६ मुद्दा दर्ता, फरार प्रतिवादीबाट ३५ लाख बढी असुल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया