क्वारेन्टाइनमा जुम्ल्याहा जन्म

समाधान संवाददाता २०७७ वैशाख २७ गते २०:०२

दाङ

तुलसीपुर उपमहानगरपालिकाको क्वारेन्टाइनमा बस्नुभएका एक महिलाले जुम्ल्याहा शिशुलाई जन्म दिनुभएको छ ।

तुलसीपुर – १३ फूलबारी निवासी अनिता यादवले शुक्रबार राति ९ बजे जुम्ल्याहा बालिकालाई जन्म दिनुभएको हो । भारतको बलरामपुर माइती जानुभएकी यादवलाई घर फर्किनेक्रममा तुलसीपुरस्थित क्वारेन्टाइनमा रहेका बेला व्यथा लागेको थियो । सुत्केरी हुने समय नजिकिएपछि एक्लै पैदल यात्रा गरेर भारतबाट फर्किनुभएका यादव गत बुधबार घर फर्किनुभएको थियो ।

उहाँलाई बिहीबारदेखि क्वारेन्टाइनमा राखिएको थियो । लकडाउनका कारण सवारी साधन नचलेपछि लामो दूरीको यात्रा पार गरेर यादव तुलसीपुर आउनुभएको हो । “एम्बुलेन्समा आउन पैसा थिएन, घर जान माइतीले दवाव दिएपछि हिँडेरै आएँ”, उहाँले भन्नुभयो, “खानेकुरा साथमै बोकेर ल्याएकी थिएँ, बाटोमा खानेकुराको समस्या त भएन तर बास बस्न भने समस्या थियो ।” दुई दिनको लगातारको पैदल यात्रा हिँडेर घर आउनुभएका उहाँले कसैको घरमा बास माग्दा नदिएको र सडक पेटीमै रात बिताउनुपरेको कटु अनुभव भोग्नुप¥यो ।

Advertisement

यादव भारतबाट आएको थाहा पाएपछि बिहीबारदेखि क्वारेन्टाइनमा राखिएको उपमहानगरपालिका विपद् व्यवस्थापन शाखा प्रमुख भीमप्रकाश खत्रीले बताउनुभयो । क्वारेन्टाइनमा राखेकै दिन दिउँसोदेखि उहाँलाई व्यथा लागेपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भर्ना गरिएको थियो । उनीहरुको प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि अहिले तुलसीपुरस्थित तुलसी हस्पिटल प्रालिमा एनआइसियुमा राखेर उपचार भइरहेको अस्पतालका सञ्चालक तथा बालरोग विशेषज्ञ डा किशोर खत्रीले बताउनुभयो ।

डा खत्रीका अनुसार तौल सामान्यभन्दा कम भएकाले एनआइसियु(नवजात अतिसघन उपचार कक्षमा राखेर उपचार गरिएको छ । शिशुको तौल २.५ देखि ३.५ केजीसम्म हुनुपर्ने भए पनि ती शिशुको तौल क्रमशः डेढ र एक केजी २५ ग्राम छ । कम तौल भएका शिशुको आन्द्रामा प्वाल पर्ने, श्वासप्रश्वासमा समस्या हुने र चिनी कम हुने भई मृत्युसमेत हुने जोखिम भएकाले एनआइसियुमा राखेर उपचार भइरहेको डा खत्रीको भनाइ छ । उहाँका अनुसार शरीरमा अक्सिजनको मात्रा कमी भएकाले शिशुको अवस्था गम्भीर छ ।

Advertisement

आमाको दूध सजिलै चुस्ने नहुँदासम्म एनआइसियुमा राखेर उपचार गर्नुपर्ने डा खत्रीले बताउनुभयो । नवजात शिशु र आमाको उपचारमा लाग्ने खर्च अस्पतालले निःशुल्क उपलब्ध गराएको छ । उपमहानगरपालिकाले खानाको यवस्थापन गरेको जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख ओमप्रकाश न्यौपानेले बताउनुभयो । डा खत्रीका अनुसार उनीहरुको सबै खर्च दैनिक रु १४ हजारभन्दा बढी लाग्ने छ । अहिले सुत्केरीको स्वास्थ्यावस्था सामान्य छ । यादवको आजै कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । यादवको यसअघि गरिएको ¥यापिड डायग्गोष्टिक टेष्टको रिपोर्ट भने नेगेटिभ आएको जनस्वास्थ्य निरीक्षक विमल केसीले बताउनुभयो । रासस

तपाईको प्रतिक्रिया