निर्माण सामग्री अभावले ङादी आयाेजनाकाे काम रोकियाे

समाधान संवाददाता २०७७ वैशाख ३० गते १४:२९

जनक श्रेष्ठ, लमजुङ

कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा निर्माण सामग्री अभाव भएपछि ङादी आयोजनाको काम अघि बढ्न सकेको छैन । जिल्लाको उत्तरी भेग मस्र्याङदी गाउँपालिका–६ स्थित ङादीखोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्शन एण्ड इन्स्टलेसन कम्पनीद्वारा निर्माणाधीन ३० मेगावाटको सो आयोजनाको काम सामग्री अभावमा रोकिएको आयोजनाले जनाएको छ ।

सरकारले आयोजना निर्माणको अनुमति दिए पनि निर्माण सामग्री ढुवानीमा समस्या भएकाले काम हुन नसकेको आयोजनाका जनसम्पर्क अधिकृत विजय गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आयोजनामा सिमेन्ट, रड अभाव भएकाले हालसम्म पनि निर्माण भएको छैन, सो सामग्री नारायणगढबाट ल्याउनुपर्ने र जिल्ला प्रशासन कार्यालयबाट दुवानी सवारी साधनको पास लिइसकेको र केही दिनमा ढुवानी भएसँगै आयोजनाको काम अघि बढ्छ ।” आयोजनामा कामदार भने अभाव नभएको जनाइएको छ । “सामग्री आएपछि स्वास्थ्य सावधानी अपनाउँदै र सरकारको नियममा रहेर आयोजनाको काम अगाडि बढाउने तयारीमा छौँ”, उहाँले भन्नुभयो ।

विसं २०७३ चैत महिनाबाट निर्माणकार्य थालनी गरेको सो आयोजनाले तीन वर्षभित्र निर्माणकार्य सम्पन्न गरिसक्ने सम्झौता भएको थियो । उक्त सम्झौताअनुसार गत चैत महिनामा आयोजनाको निर्माणकार्य सम्पन्न गरी विद्युत् उत्पादन गर्नुपथ्र्याे । तर विविध कारणले निर्माणकार्यमा ढिलाइ भइरहेको बेला लकडाउन भएकाले काम प्रभावित हुँदा झन् आयोजनाको निर्माण सम्पन्न अनिश्चित बनेको छ । हालसम्म ८५ प्रतिशत मात्र आयोजनाको काम सम्पन्न भएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार सुरुङ, विद्युत्गृह (पावरहाउस), बाँध क्षेत्रको सिभिल संरचना निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनामा सुरुङसहित ७२५ मिटर पेनस्टक पाइप राखिने आयोजनाले जनाएको छ । अनुमानित करिब रु ६ अर्ब लागतमा निर्माणसम्पन्न गर्ने लक्ष्य आयोजनाको रहेको छ ।

Advertisement

आयोजनामा एभरेष्ट बैंकको अगुवाइमा पाँच बैंकले ७५ प्रतिशत अर्थात् रु चार अर्ब ५० करोड ऋण लगानी गरेका छन् । बुटवल पावर कम्पनीबाट २५ प्रतिशत लगानी रहेको आयोजना प्रमुख उत्तम अमात्यले जानकारी दिनुभयो ।

आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग प्रचलित ‘पोष्टेड’ दरअनुसार वर्षायाममा रु ४.८० र सुक्खायामका लागि रु ८.४० मा विद्युत् खरिद सम्झौता (पिपिए) गरेको छ । रासस

Advertisement

तपाईको प्रतिक्रिया