जिल्ला स्तरीय राहत कोषको संकलित रकम ५ वटै स्थानीय तहलाई वितरण

समाधान संवाददाता २०७७ वैशाख ३० गते १४:३७

एसके थकाली, जोमसोम
कोरोना कहरले आहत बनेका जिल्लाका स्थानीयको राहतका लागि जिल्ला स्तरीय राहतकोषले संकलन गरेको रकम मुस्ताङका ५ वटै स्थानीय तहलाई वितरण गरेको छ । जिल्ला स्तरीय राहत संकलन तथा व्यवस्थापन समितिले विभिन्न सरोकारवालाबाट संकलित रकम आवश्यकता र औचित्यताका आधारमा आइतबार वितरण गरेको हो ।

जिल्ला स्तरीय राहत कोष समितिका संयोजक जिसस प्रमुख छिरिङ ल्हामो गुरुङको अध्यक्षतामा राहत संकलन उपसमितिका संयोजक खगेन्द्र तुलाचनले मुस्ताङका ५ वटै स्थानीय तहका पालिका अध्यक्षहरुलाई हस्तान्तरण गरेको जिल्ला समन्वय अधिकारी पुष्प कटुवालले जानकारी दिए । समितिले गत बैशाख १० गते निर्धारण गरेको राहत वितरण मापदण्ड बमोजिम आवश्यकता र औचित्यताका आधारमा पालिकालाई संकलित आर्थिक सहयोग हस्तान्तरण भएको समन्वय अधिकारी कटुवालले उल्लेख गरे ।

विश्व व्यापी माहामारीले सृजित कोरोना भाईरस कोभिड–१९ का कारण लामो समयसम्मको लक डाउनले दैनिक जिविकोपार्जन गर्न समस्यामा परेका गरिव, विपन्न, असहाय र अपाङ्ग व्यक्तिलाई राहतको पहुँच पु¥याउन जिल्ला स्तरीय समिति गठन भएको थियो । समितिले दाताहरु मार्फत संकलन गरेको १४ लाख बराबरको सहयोग ५ वटै पालिकालाई वितरण गरेको राहत संकलक उपसमिति संयोजक खगेन्द्र तुलाचनले जानकारी दिए ।

Advertisement

व्यक्तिलाई राहत वितरण गर्ने गरी राहतकोषको रकम वितरण गरेको हो । जसअनुसार थासाङलाई ३ लाख ७५ हजार, घरपझोङलाई २ लाख ५० हजार, वारागुङलाई २ लाख २५ हजार, लोघेकर दामोदरकुण्डलाई २ लाख ७५ हजार र लोमान्थाङ गाउपालिकालाई २ लाख ७५ हजार वितरण भएको उपसमिति संयोजक तुलाचनले बताए ।

जिल्ला स्तरीय रातहका लागि मुस्ताङका ५ वटै स्थानीय तहले राहत संकलन नामावली विवरण जिल्ला स्तरीय राहत कोष समितिलाई उपलब्ध गराएका थिए । यसअघि कोरोना कहरले दैनिक ज्यालादारी गर्ने पीडित मजदुरलाई राहत वितरण गर्न प्रादेशिक सरकारले आर्थिक सहयोग उपलब्ध गराएको थियो । प्रादेशिक निर्देशिका अनुसार राहत वितरण हुदा गरिब तथा विपन्न परिवारको पहुँचमा राहत पुग्न नसकेकाले जिल्ला स्तरीय समितिले राहत संकलन गरेको थियो । जिल्ला स्तरीय समितिले तोकेको ५ बुँदे सर्तमा रही राहत वितरण गर्न स्थानीय तहलाई आग्रह गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया