लकडाउनमा २३१ महिला तथा बालिकामाथि हिंसा

समाधान संवाददाता २०७७ वैशाख ३० गते १८:२३

काठमाडाैं

लकडाउनको समयमा २४ जिल्लामा २ सय ३१ महिला तथा बालिकामाथि विभिन्न प्रकारका हिंसा भएको महिला पुनर्स्थापना केन्द्र (ओरेक) ले अभिलेखीकरण गरेको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमण देखिएपछि यसको रोकथामका लागि गत चैत ११ गतेदेखि मुलुकभर लकडाउन लागू छ । यस अवधिमा अभिलेखीकरण भएका घटनामध्ये १३३ घरेलु हिंसा, २१ सामाजिक हिंसा, ३४ बलात्कार, सात बलात्कारको प्रयास, १० यौन दुव्र्यवहार, दुई हत्या, दुई हत्या वा आत्महत्या अनुसन्धानका क्रममा रहेको, १४ आत्महत्या, दुई आत्महत्याको प्रयास, दुई हत्याको प्रयासका घटना र चार साइबर अपराधसँग सम्बन्धित छन् ।

घटनामा संलग्न पीडकहरुमा १०५ श्रीमान्, ४५ परिवारका सदस्य, ४६ छिमेकी, १२ पे्रमी ठानिएका व्यक्ति, पाँच साथी, चार घरमालिक रहेका र २५ जना पीडकको पहिचान खुल्न बाँकी रहेको ओरेकले जनाएको छ ।

Advertisement

पीडितमध्ये सबैभन्दा बढी ७७ महिला १७ देखि २५ वर्ष उमेर समूहका भएको पाइएको छ । यसैगरी २६ देखि ३५ वर्ष उमेर समूहका ६२, छत्तीसदेखि ४५ वर्ष उमेर समूहका ३३, छयालीस वर्षभन्दा माथिका उमेर समूहका २० महिला विभिन्न प्रकारका हिंसाबाट प्रभावित रहेका छन् । १६ वर्षभन्दा कम उमेरका ३२ बालिका हिंसाबाट प्रभावित भएका छन् भने उमेर समूह थाहा नभएका सात जना हिंसाबाट प्रभावित भएका छन् ।

संस्थामा अभिलेखीकरण भएका घटनामध्ये १०२ प्रहरीमा उजुरी दर्ताका लागि गएको, ३० मेलमिलाप समितिमा गएको, ३० हिंसा सहन नसकेर आमाबुबाको घर÷आफन्तकामा गएर बसिरहेका, ६९ प्रभावितले कुनै पनि निकायमा सहयोगका लागि हाल उजुरी गरी नसकेको र वातावरण सहज भएपछि सम्बन्धित निकायमा जाने बताएका छन् ।

Advertisement

ओरेकद्वारा सञ्चालन गरिएको तीन वटा हटलाइन, मनोविमर्शकर्ता, महिला मानवाधिकार रक्षक, साझेदार महिला सामुदायिक संघसंस्थाबाट यी घटनाहरु अभिलेखीकरण गरिएको हो र यीमध्ये १७ वटा घटना सञ्चारमाध्यमबाट संकलन गरिएको ओरेकले जनाएका छ । रासस

तपाईको प्रतिक्रिया