घरबाट हामफालेका युवकको कथा – बैंगलुरुबाट लुरुलुरु पोखरा

समाधान संवाददाता २०७७ वैशाख ३१ गते ७:०८

अनुप पौडेल, पोखरा

घरबाट आमाबुवा र २ बहिनीसँग बिदा मागेर साढे २ महिना पहिले पोखरा छोडेका उनी बाउन्न हन्डर त्रिपन्न ठक्कर खाएर मंगलबार बिहान पोखरा आइपुगे । आमासँग पैसा कमाउँछु भनेर हिँडेका अभिषेक बस्नेत पोखरा–८ इन्द्रपुरी टोलको डेरामा पसे । तर राहतको सास फेर्न पाएनन् । बरु घरकै छतबाट हाम फाल्नुपर्ने अवस्था आइलाग्यो ।

वडाध्यक्ष र प्रहरी आफूलाई क्वारेन्टाइनमा राख्न लिन आएको मेसो पाएपछि उनी घरको दोस्रो तलाबाट हामफालेर भाग्न खोजे । तर, सफल भएनन् । ‘भारतबाट पोखरा आइपुगेको भन्ने जानकारी पाएपछि त्यहाँ पुगेका थियौं,’ वडाध्यक्ष रुद्रनाथ बरालले भने, ‘हामीलाई देखेपछि दोस्रो तलाबाट हामफाले । तल टिन र खाल्डो भएकाले खासै केही भएन ।’

Advertisement

रन्थनिएर भाग्न खोजीरहेका उनी छेउको घरको कम्पाउन्डमा घेराबन्दीमा परेको वडाध्यक्ष बरालले बताए । अभिषेकलाई ३ महिना पहिले भारतको बैंगलुरूमा काम गर्ने साथीले काम गर्न बोलाएका थिए ।

पढाइ छोडेर बसेका उनलाई पनि खाली बस्नभन्दा उतै गएर काम गर्छु भन्ने लाग्यो । ‘खाली बस्नभन्दा काम गर् भनिरहन्थें । पछि उता रहेको पोखराकै साथीले बोलाएछ । त्यसपछि लकडाउन हुनभन्दा २० दिन अगाडि घरबाट गएको हो,’ अभिषेककी आमा रजनीले सुनाइन् ।

Advertisement

सामान्य उपचार र स्वाब संकलन गरेपछि बस्नेतलाई पोखरा महानगरपालिकाले बनाएको क्वारेन्टाइनमा राखिएको वडाध्यक्ष बरालले जानकारी दिए । कार्यथलो कर्नाटकबाट विहार आएपछि उनी झन्डै १२ सय नेपालीसँगै क्वारेन्टाइनमा बसे ।

सम्बन्धित समाचार – क्वारेन्टिनमा राख्ने डरले दोस्रो तलाबाट हाम फाले बस्नेत

२ दिन बसेपछि क्वारेन्टाइनबाट भागे । त्यहाँ आफूहरुलाई राम्रो व्यस्था नभएको र नेपालीलाई स्वदेश फर्काउने चलिरहेको बताएका थियो । नेपाली भएको पहिचान दिएपछि नेपाल प्रवेश गर्न पाइने भन्दै उनले घरबाट नागरिकताको प्रतिलिपि मगाएका थिए ।

‘हामी १२ सय नेपाली एकै ठाउँमा छौं । कुनै राम्रो व्यवस्था छैन । नेपालीको पहिचान देखाएपछि प्रवेश गर्न दिन्छ रे, मेरो नागरिकता पठाइदिनु,’ अभिषेकले ६ दिन पहिले आमासँग भनेका थिए । रजनीले उनको नागरिकताको प्रतिलिपि पठाइदिन् । त्यो पठाएपछि उनी आफ्नो सम्पर्कमा नआएको र मंगलबार बिहान सिधै घरमा देखेको उनले बताइन् ।

‘मैले नागरिकता पठाइदिएपछिसम्पर्कविहीन भयो । फोन गर्दा पनि लागेन, एक्कासि बिहान घर आइपुगेछ,’ रजनीले भनिन् । गाउँ सोलुखुम्बु भएपनि उनको जन्मथलो पोखरा हो । भारतबाट घर आएको सुइँको पाएपछि छिमेकीले विरोध गरे । उनी पोखरा पनि सजिलै आइपुगेका होइनन् । १२ दिनमा २५ सय किलोमिटर लामो दुरी पार गरे ।

‘उताबाट मे १ तारिखमा हिँडे । त्यसपछि बारातिरबाट नेपाल छिरें । सीमामा खटिएका सुरक्षाकर्मीलाई ५ सय दिएपछि मलाई छोडिदिए,’ अभिषेकको भनाइ उद्धृत गर्दै वडाध्यक्ष रुद्रनाथ बरालले भने । नेपाल प्रवेश गरेपछि सामान ढुवानी गर्ने ट्रकमा चितवन हुँदै मुग्लिङसम्म आए । त्यहाँ ट्रक ड्राइभरले उनलाई खाना खुवाए । त्यसपछि अर्को ट्रकमा हालेर पोखरा पठाइदिए ।

कामका लागि बिरौटा पुगेकी उनकी आमा रजनीले छोरा घर आएको थाहा पाइन् । नहर सफा गर्न खटिएकी उनलाई घरबाट छोरीले फोन गरेर अभिषेक घर आएको सुनाइन् । त्यसपछि रजनीले छुट्टै कोठामा राख्न भनिन् । आफूले छोरा घर आएको थाहा पाएपछि तत्काल वडाध्यक्षलाई जानकारी गराएको रजनीलले बताइन् ।

‘म काम गर्दै थिएँ । घरबाट छोरीले फोन गरेर उ (अभिषेक) घर आएको भनी । मैले वडाध्यक्षलाई फोन गरेर सबै कुरा भनें । उहाँहरु तत्कालै घर पुग्नुभएछ,’ रजनीले भनिन्, ‘उहाँहरुलाई देखेपछि डराएर हामफालेछ ।’ बैंगलुरूबाट बिहारसम्म कहिले हिँड्दै कहिले अत्यावश्यक सवारीमा चढेर घर आइपुगेको अभिषेकले बताएका छन् । कति ठाउँमा आफूले प्रहरीलाई भारू ५ सय दिएर हिँडेको उनको भनाइ छ ।

उनी पोखराको रत्नचोकस्थित सबलाइन माविमा पढ्थे । १० कक्षाको परीक्षा दिएपछि ३ वर्ष पहिलेअभिषेक गाउँ गएका थिए । उनी सोलुखुम्बुमा हजुरआमा र अंकलसँग २ वर्ष बसेर १ वर्ष पहिला पोखरा आएका हुन् । अभिषेकका २ बहिनी छन् । सानी बहिनी कक्षा ७ मा पढ्छिन् भने ठूली बहिनी एसईईको तयारीमा छिन् । अभिषेककी आमा रजनी र बुवा गोपाल दुवै मजदुरी गर्छन् ।

क्वारेन्टाइनमा बस्नुपर्ने डरले घरको तलाबाट हामफालेका उनको आरडिटी परीक्षण गरिएको छ । मंगलबार स्वाब संकलन गरिएको र पिसिआर परीक्षण बुधबार हुने प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । ‘उहाँको आरडीटी परीक्षण गरेका थियौं । त्यो नेगेटिभ आएको छ तर प्रोटोकलअनुसार पीसीआर गर्नुपर्ने देखिन्छ,’ उनले भने, ‘पिसिआर परीक्षणका लागि स्वाब संकलन भएको छ । रिपोर्ट बुधबार आउँछ ।’

यो पनि – घरको तलाबाट हाम फालेका अभिषेकको आरडिटी नेगेटिभ

तस्बिर-सुमन ढुंगाना

तपाईको प्रतिक्रिया