सीमा समस्याको निकास उच्चस्तरीय वार्ताबाटै खोज्न सर्वदलीय सहमति

समाधान संवाददाता २०७७ वैशाख ३१ गते २१:०४

काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा सहभागी नेताहरुले भारतले हालै सडक उद्घाटन गरेको भूभाग नेपालकै भएको निष्कर्ष निकाल्दै वार्ताका माध्यमबाट समाधान खोज्न सरकारलाई सुझाव दिएका छन्।


सीमा समस्याका विषयमा छलफल गर्न डाकिएकाे बैठक समापनपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैठकमा सरकारले चालेका कदममा सबैको साथ रहेको र भारतले हालै उद्घाटन गरेको सडकको केही क्षेत्र नेपाली भूमिमा पर्ने भन्दै वार्ताका माध्यमबाट समाधान खोज्न सबै दलले सरकारलाई सुझाव दिएको बताए।

Advertisement

बैठकले कालापानीमा भारतले सडक खोलेकोमा भर्त्सना गरेको र सो भूभाग नेपालकै हो भन्ने कुरामा दृढ अभिमत प्रकट गरेको उनको भनाइ छ।

सीमा समस्याका विषयमा सबै राजनीतिक दलको एकतालाई प्रधानमन्त्री ओलीले धन्यवाद समेत दिएका थिए। पुर्खाले लडेर बचाएको नेपाललाई अहिले हामीले अडेर बचाउनुपर्ने बताएका छन्। आफैले बोलाएको सर्वदलीय बैठकमा उनले यस्तो बताएका हुन्।

Advertisement

बैठकमा भारतले चालेको पछिल्लो कदमले दुखी बनाएको उनले बताए। ’पुर्खाले लडेर बचाएको नेपाललाई अहिले हामीले अडेर बचाउनुपर्छ,’ बैठकपछि बाहिरिने क्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीलाई उद्धृत गर्दै भने।

बैठकमा सबै राजनीतिक दलका प्रतिनिधि, सरकारका मन्त्रीहरू र पूर्वप्रधानमन्त्रीहरुको उपस्थिति थियो।

तपाईको प्रतिक्रिया