तनहुँकाे शेराटारस्थित सूर्य नेपाल उद्योग बन्द गर्न स्थानीयको माग

समाधान संवाददाता २०७७ जेठ १ गते ६:३९

राजन उपाध्याय
दुलेगौंडा, १ जेठ

लकडाउनको अवधिमा बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालि सञ्चालन भएपछि स्थानीयले विरोध गरेका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेराटारमा अवस्थित उक्त चुरोट उद्योग सरकारले लकडाउन खुकुलो बनाउँदै लगेपछि १ हप्ताअघि सञ्चालनमा आएको थियो । उद्योग सञ्चालनमा आएपछि जोखिम बढ्ने भन्दै स्थानीयले लकडाउनको अवधिभर उद्योग बन्द गर्न माग गर्दै विरोध गरेका हुन् ।

सिमराबाट कच्चा पदार्थ ल्याएपछि कोरोनाको जोखिम बढेको भन्दै स्थानीयले विरोध गरेको मेयर किसान गुरुङले बताए । उद्योगले सिमरामा प्रशोधन गरिएको ५ कन्टेनर सुर्ती र २ कन्टेनर प्याकिङका सामग्री केही दिनअघि ल्याएको थियो । ‘जोखिम बढेको बेला रातरात ट्रकमा सामान ल्याइन्छ । यसरी त हामीलाई जोखिम बढ्योे’, स्थानीय दिलबहादुर गुरुङले भने, ‘ढुवानी गर्ने चालक र सहचालकबाट संक्रमण फैलने खतरा बढ्यो ।’ उनले चुरोट अत्वाश्यक वस्तु नभएकाले लकडाउन अवधिभर सञ्चालन गर्नुपर्ने उल्लेख गरे ।

Advertisement

उद्योगका प्रबन्धक बाबुराम कार्कीले भने मौज्दात रहेका सुर्ती बिग्रने भएकाले उद्योग सञ्चालन गरेको दाबी गरे । कर्मचारीलाई आवश्यक सुरक्षाको प्रबन्ध मिलाएको उनले बताए । ‘कर्मचारीलाई उद्योगभित्रै खाने बस्ने व्यवस्था र सामाजिक दुरी कायम गरेका छौँ’, उनले थपे, ‘कच्चापदार्थ अनलोड गरेका कर्मचारी छुट्टै बसेका छन् । स्थानीयहरु आत्तिनु पर्दैन ।’

स्थानीयले उद्योग बन्द गराउन नगरपालिकाको ध्यानार्कषण गराएपछि मेयर किसान गुरुङ, उपमेयर सविता रसाइली, प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदी, वडा अध्यक्ष रामबहादुर क्षेत्री थापा लगायत जनप्रतिनिधि सहित सरोकारवालाले उद्योगको सुरक्षा अवस्थाबारे अनुगमन गरे । अनुगमनमा क्रममा सुरक्षित तरिकाले उद्योग सञ्चालन गरिएको पाइएको जानकारी दिए ।

Advertisement

मेयर गुरुङले नेपाल सरकारले निर्धारण गरेका मापदण्डलाई ख्याल गर्दै सञ्चालन गर्न निर्देशन दिए । बाहिरबाट कच्चा पदार्थ ल्याएमा उद्योग बन्द गराउने मेयर गुरुङको भनाई थियो । करिब २ सय कर्मचारीमध्ये हाल ८० जनालाई सामाजिक दुरी कायम गर्दै काममा खटाएको प्रालिले जनाएको छ । सिमरामा मुख्य कारखाना रहेको सूर्य नेपालले शुक्लागण्डकीमा २०७१ सालमा उद्योग सञ्चालन गरिएको हो ।

तपाईको प्रतिक्रिया