अभिभावकलाई एउटा शिक्षकको अनुरोध

समाधान संवाददाता २०७७ जेठ १ गते ११:५७

राजेन्द्र भण्डारी


आदरणीय अभिभावक ज्यू,
सर्वप्रथम सम्पूर्ण आदरणीय अभिभावकज्यू नमस्कार ! आरामै हुनुहन्छ ! तपाईँ लगायत सम्पूर्ण परिवारलाई आरामै होस् भनी माता भद्रकालीसँग प्रार्थना गर्दछु । यतिखेर नेपाल लगायत सम्पूर्ण भूगोल नै कोरना भाइरससँग अन्तिम तथा निर्णायक युद्ध लडिरहेको छ । यो युद्ध इतिहासमा लडिएका ती युद्धहरुभन्दा विल्कुल फरक छ । तर पनि परिणाम भने एउटै छ । अथाह धन र जनको विनाश ।

निश्चय यो भाइरसले मानव र मानवताको छातीमा धारिलो हतियारले हान्ने दुस्साहस गरेको छ । यो प्रहारले मानव र मानवतालाई केही क्षति गर्ला तर समग्र मानव सभ्यताको अटल विश्वासको जगलाई यसले कदापि हल्लाउन सक्दैन । केही समयको अन्तरालमा नै सम्पूर्ण मानव समुदायको एकता र सहकार्यको मिश्रणले यसलाई पराजय गरिदिने छ । केही घडीको प्रतिक्षा पश्चात् हामी पुन पूर्व अवस्थाका बिचमा पानी परेपछिको आकाश खुलेझंै गरेर र आँधि पछिको शान्त समुद्रजस्तै गरेर समयले हामीलाई भेट गराउने छ । यो भेट हामी सबैका लागि एउटा नयाँ उत्साह, उमंग र ऊर्जाका रुपमा हुनेछ । आदरणीय अभिभावकज्यू, देशभित्रको भूगोलमा भर्खरै एउटा ऋतुको समाप्ति भएर अर्को नयाँ वसन्तको सुरुवात भएको छ । हरेक वनस्पतिका कलिला मुनामा नवीन लालिमाको ज्योति प्रस्फुटित हुँदैछन् । यसका सुगन्धित बास्नाले अवसर र सम्भावनाका विशाल हरियाली फाँटहरुलाई निर्देशित गर्नेछ । जहाँ हामी सबै मिलेर सुदिन, प्रगति र उन्नयनका गीतहरु गाऔँला र प्रेम, करुणा र एकताका भाकाहरु सिकौंला ।

Advertisement


यो माटोमा सिर्जित हाम्रा गौरवमय संस्कार, संस्कृति र परम्पराप्रति नम्र बन्न सिकाइदिनुहोला । घर आँगनमा रहेका हाम्रा स्थानीय प्रविधिलाई दैनिक जीवनका आयामसँग मितेरी लगाइदिनुहोला ।

आदरणीय अभिभावकज्यू, यतिखेर यहाँहरु सबै आफ्ना परिवारका साथ दुख सुखका साथ रमाइरहनु भएको छ भन्ने पूर्ण विश्वासमा छु । यहाँहरुका सुन्दर र कलिला फूलहरु हामीसँग रहेर राष्ट्रिय गान, कक्षागत गानबाट सुरुआत हुने दिन र दिनभरी नै गुड मर्निङ सर, गुड आफ्टरनुन सर, मे आइ गो टु टोइलेट, यो कसरी आयो सर, मेरो त मिलेन सर, फेरि भनिदिनुहोस् न आज अंग्रेजी शिक्षक आउनुभएको छैन । म पानी खान जान्छु सर । आज मेरो टाउको दुखेको छ सर, मलाई घर जानको लागि पास दिनुहोस सर । बाई बाई सर आदिसम्मका शब्दरुपी क्रियाकलापमा एक प्रकारको शान्त, उत्साह र विनम्रता तथा नवीन ऊर्जा देख्ने हामी शिक्षकहरु ती अवोध बालापनहरुलाई देख्न र सुन्न नपाउँदा धेरै नै मन दुखेको छ । पीडा भएको छ । एउटा नयाँ प्रयोगको थालनीको लागि । एउटा नयाँ जीवन जिउने कलाको प्राप्तिको लागि भनेर समयले यी सबैलाई दबाउन, प्रतीक्षा र धैर्य गर्न हामीहरुलाई सिकाएको छ ।

Advertisement

साच्चै नै यहाँहरुको घर एउटा अथाह ज्ञान र अनुभवको भण्डार हो । यहाँहरु सबै एउटा मूल्यवान शिक्षकहरु हुनुहन्छ । यहाँहरुका बालबालिकाहरुलाई राष्ट्र एउटा असल नागरिक बनाउने अभियानमा राज्यले केही जिम्मेवारी हजुरहरुलाई पनि सुम्पेको छ । केही चुनौतीहरु थपिदिएको छ । विश्वास छ, हाम्रा अभिभावकहरु यो यात्रामा संवेदनशील, अनुशासित र सिर्जनशीलताका साथ खरो रुपमा उत्रनु हुनेछ र आफ्ना जीवनका अनुभव, भोगाइ र अविश्मरणीय पललाई कहिँ न कतैबाट अवश्य पनि आफ्ना सन्तानका माझमा प्रस्तुत गर्नुहुनेछ ।

निश्चय पनि यहाँहरु सबै चिन्तित हुनुहुन्छ । किनभने एकातर्फ आफनो पेसाप्रतिको कर्तव्य र अर्कोतर्फ यो महामारीबाट आफू र आफ्नो परिवारलाई बचाउने दायित्वका बीचमा उभिनु भएको छ । यो अभियानमा हामी सबैलाई सफलता प्राप्त होस् भन्ने कामना पुन भद्रकाली मातासँग गर्न चाहन्छु ।

आदरणीय अभिभावकज्यू, सर्वप्रथम आफ्ना बाबुनानीहरुको स्वास्थ्यमा विशेष ध्यान दिनुहोला । सूर्यका किरणहरु यहाँहरुको घर आँगनमा पोखिँदा, चराचुरुंगीहरुले नयाँ ऊर्जा र उत्साहको संगीत छर्दा र उत्तरतिरका सेता हिमालहरु आफना लाजका घुम्टोहरु हटाएर उन्मुक्त भएर हाँस्दै गर्दा उनीहरुलाई नयाँ मन लिएर उठाउनुहोला ।


सर्वप्रथम, ईश्वरलाई धन्यवादका साथ विनम्रता प्रकट गर्न लगाउनु होला । सफा सुग्गर गराएर घरेलु ताजा नास्ता दिनुहोला र सरस्वतीको बन्दनाका साथ पठन पाठनमा संलग्न गराउनुहोला । सम्भव भएसम्म तपाईँ पनि सहभागी हुनुहोला । बिहानको खाना पश्चात् आफनो खेत बारीमा आफूले गर्ने प्रत्यक्ष कर्मसँग उनीहरुलाई जोड्नुहोला । यो दौरानमा उनीहरुले देख्ने छन् कि हाम्रा लागि हाम्रा अभिभावकहरु कति धेरै संघर्ष गर्नु हुँदो रहेछ, जीवन सञ्चालनमा कति धेरै पसिनाहरुको आरोह अवरोह हुँदो रहेछ भन्ने कुरा बुझ्ने छन् । खेतका कान्लामा फुलेको सिरु घाँस र गरामा उम्रेको बालीको मुनाबीचको रहस्यमय जीवन प्रक्रियालाई आफ्नै आँखाले हेर्ने छन् । आफ्नै हातले स्पर्श गर्ने छन् र मनले महसुस गर्ने छन् ।

कहीँ कतैबाट अलमल भएमा सरलता र मिठासपूर्ण उत्तरबाट बुझाइदिनुहोला । आफ्नो बगैैंचामा लैजाने र फूल रोप्न पनि नछुटाउनु होला किन भने त्यहाँ तिनीहरुले फूलबाट मह संचय गर्नु मौरीको आनन्द हो भन्ने कुरा सिक्ने छन् । मौरीलाई मह प्रदान गर्ने फूलका पनि त आनन्द हो, किन भने मौरीका लागि फूल जीवन स्रोत हो अनि फूलका लागि मौरी प्रेमको सन्देश वाहक हो भन्ने कुरा सिक्ने छन् । उनीहरु स्पष्ट हुनेछन् कि, संसार, प्राणी र वनस्पति बीचको घनिष्टता तथा एक अर्काको अपरिहार्य सम्बन्ध । संसारमा यो भन्दा ठूलो सिकाइ अरु कुन हुन सक्ला ? योभन्दा ठूलो अवसर अरु कुन हुन सक्ला ? यो भन्दा ठूलो प्रयोगात्मक कक्षा अरु कुन हुन् सक्ला ? आशावादी मानिसको जीवन नै सार्थक हुन्छ । आशावाद नै निर्माता हो । आशावाद नै कुनै मानिसको सूर्योदय हो । यसबाट नै जीवनको निर्माण हुन्छ भन्ने उदाहरण बगैंचाकाको मालीलाई देखाएर प्रस्तुत गरिदिनुहोला । सन्तुलित दिमागजस्तो सादगी छैन, सन्तोषजस्तो कुनै सुख छैन, लोभ जस्तो कुनै बिराम छैन, दया जस्तो कुनै पुण्य छैन भन्ने आध्यात्मिक तथा मनोवैज्ञानिक ज्ञान उनीहरुका मनमा सिञ्चित गरिदिनुहोला । आफ्नो अन्तरआत्माको आवाजलाई सुन्न, आफ्नो सिद्धान्त र आदर्शमा बाँच्न र बन्द आँखाभित्र व्रह्मान्डलाई हेर्न, जीवनको सबै भन्दा उत्तम कर्म हुन भन्ने विचार राखिदिनुहोला ।

आदरणीय अभिभावकज्यू, हाम्रा पुर्खाले लडेर हामीलाई छोडेको हाम्रो माटोको रक्तिम सुगन्धको बारेमा मात्र होइन यो माटोको लागि लडेका ती अमर नेपाली आमाका सन्तानहरुको वीरताको बारेमा पनि बताइदिनुहोला । जसले गर्दा उनीहरुले यो देशको इतिहासप्रति गर्व गर्न सक्ने छन् । यो माटोमा सिर्जित हाम्रा गौरवमय संस्कार, संस्कृति र परम्पराप्रति नम्र बन्न सिकाइदिनुहोला । घर आँगनमा रहेका हाम्रा स्थानीय प्रविधिलाई दैनिक जीवनका आयामसँग मितेरी लगाइदिनुहोला । संस्कार तथा व्यवहार परिवर्तन गर्न सके मात्र सन्तान असल हुन सक्ने भएको हुँदा यो दौरानमा आफ्नो सन्तानको संस्कार तथा व्यवहार परिवर्तन गर्नमा थोरै भने पनि भूमिका खेलिदिनु हुन अनुरोध छ ।


आदरणीय अभिभावकज्यू, घरमा नै बसेर स्वाध्ययन गरेका कयौं महान व्यक्तिहरुले ठूला ठूला सिद्धान्त र प्रविधिहरुको आविष्कार गरेर मानव सभ्यतालाई ठूलो गुण लगाएको इतिहास हामीसँग साक्षी छ भनेर हौसला थप्नु होला । स्वतन्त्र रुपमा उनीहरुको इच्छा र चाहानाहरुलाई बुझ्दै उनीहरुसँग सदैव मिठो र मित्रवत व्यवहार गर्नुहोला । ईश्वरको मर्यादा गर्न सिकाउँदै जीवन मानवताको असीमित पाठ हो र मानवता सबैभन्दा ठूलो धर्म हो भन्ने कुरा मन्दिर र आर्तहरुले चहराइरहेका मानिसहरुको विम्बलाई देखाएर बताइदिनु होला ।

महान् र असल जीवन तपाईँको कल्पनामा कोरिएको चित्रबाट नै सुरु हुन्छ भन्ने कुरा बताइदिनुहोस् । अवसर जीवनमा पटक पटक आउँदैन, एक पटक नै आउँछ तसर्थ तिमी जित्नको लागि उठ्नु पर्छ भन्ने कुरा सम्झाइदिनुहोला । गएका अमूल्य मौकाहरुमा आँसु नझार र जान लागेका दिनहरुकाबारे दुख नमान । हरेक जीवित मानिसहरुसँग समस्याहरु हुन्छन । हरेक समस्यामा सकारात्मक सम्भावनाहरु हुन्छन् । हरेक समस्याहरुको एक सीमित अवधि हुन्छ । हरेक समस्याले तपाईँलाई परिवर्तन गराइदिन्छन भनेर समस्या देखेर भाग्ने होइन कि जुध्ने हो भनेर हौसला थपिदिनुहोला । वैशाखीको सहारामा हिँड्ने मानिस बालुवाको बाटोमा हिँड्न त सक्छ तर दौडन सक्दैन भन्ने कुरालाई बुझाइदिनुहोला । हरेक महत्त्वकांक्षले ठूलो मिहिनेत मागेको हुन्छ भन्ने कुरा सुनाइदिनुहोस । सुतेको हात्ती भन्दा काम गरिरहेको कमिलाको ठूलो महत्व हुन्छ भन्ने ज्ञान दिनुहोला । यो नै जीवन जिउने कला सिकाइको सबैभन्दा महत्वपूर्ण पक्ष हो भन्ने कुरालाई उनीहरुको माझमा राखिदिनुहोला ।


अन्त्यमा आदरणीय अभिभावकज्यु, हिंसाबाट कहिल्यै समस्या समाधान हुन सक्दैन, शान्ति, वार्ता र सहकार्यबाट समस्या समाधान हुन्छ भन्ने कुरालाई छिमेकीसँग भएको झगडाको उदाहरण दिएर शान्तिको दियो बाल्नु होला । झुट र सत्यबीचको अन्तिम लडाइँमा जीत सत्यको नै हुन्छ । हामी सबैको लागि यहाँ केही न केही छ, गर्नको लागि ठूलो काम पनि छ र सानो काम पनि छ साथै काम हामीलाई गर्नु छ, त्यो नजिकै छ । भन्ने सन्देश आफ्ना बाबुनानीहरु समक्ष रखिदिनुहुने छ भन्ने पूर्ण विस्वास छ ।

भण्डारी भद्रकाली मावि, कुँडहर, पोखराका सहायक प्रधानाध्यापक हुन् ।

तपाईको प्रतिक्रिया