मार्क्सवादलाई कसरी बुझ्ने ?

समाधान संवाददाता २०७७ जेठ १ गते १२:०८


कृष्ण पौडेल

मार्क्सवाद केवल कम्युनिस्टहरुको संस्थापन शास्त्र मात्र होइन, मानव सभ्यताको अमूल्य बौद्धिक सम्पदा हो । यसको उपयोगिताबाट स्वयं मार्क्सवादी भनिनेहरू मात्र होइन, आमसमाज र युग नै लाभान्वित भएको छ । मार्क्सवादको विचार प्रणालीमा दर्शनशास्त्र, राजनीति तथा अर्थशास्त्र मुख्य पाटाहरु हुन् ।



मार्क्सवादी दर्शन, द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद सबैभन्दा वैज्ञानिक दर्शन मानिन्छ । अतिरिक्त मूल्यको सिद्धान्त माक्र्सवाद प्रमुख आर्थिक सिद्धान्त हो । साथै वर्ग संघर्ष, वैज्ञानिक समाजवाद तथा साम्यवादको परिकल्पना, कम्युनिस्ट पार्टीको घोषणापत्र यसको राजनीतिक पाटोको रुपमा बुझिन्छ ।

मार्क्सवादी चिन्तन विश्लेषण प्रणाली विज्ञानमा आधारित छ, त्यसैले यसलाई संसारलाई बुझ्ने मात्र होइन बदल्ने बाटो देखाउन सक्ने प्रगतिशील क्रान्तिकारी विचार शैलीको रुपमा स्थापित छ ।


मार्क्सवादकै प्रतिप्रभावले समकालीन पुँजीवादको स्वरुप र चरित्रमा प्रशस्त फेरबदल आएको छ

Advertisement



मार्क्सवादका प्रवर्तक कार्ल मार्क्स एवं फ्रेडेरिक्स एंगेल्सको समय उन्नाइसौँ शताब्दीको मध्यतिर युरोपमा पुँजीवाद जल्दोबल्दो फक्रँदो अवस्थामा थियो । बेलायतमा वास्प शक्तिमा आधारित प्रथम औद्योगिक क्रान्तिको चरण पार हुँदै थियो ।

मार्क्सले आफ्नो प्रसिद्व कृति पुँजीमार्फत तत्कालीन पुँजीवादी अर्थव्यवस्थाको गहिरो विष्लेषण गरेका थिए । उनले पुँजीवादको नकारात्मक पाटोको उजागर गर्दै त्यसको अन्त्य सन्निकट रहेको घोषणा गरेका थिए ।

हजारौं वर्षदेखिको शोषित पीडित श्रमजीवीहरूको न्यायिक आन्दोलन तथा सार्थक विद्रोहलाई राजनीतिक मार्गदर्शन दिन सक्नु माक्र्सवादको युगान्तकारी योगदान हो । वर्ग संघर्ष र सामाजिक क्रान्तिको सैद्धान्तीकरणले सर्वहारा श्रमिक वर्गलाई मुक्तिका लागि वैचारिक अस्त्र उपलब्ध गराएको छ ।

Advertisement


मार्क्सवादको आधार र अभिप्राय मुलतः मानवतावाद हो । मानिस मानिसबाट नै सबैभन्दा बढी पीडित र त्रसित भइरहेको अवस्थालाई सदाको लागि अन्त्य गर्न वर्गीय शोषण र त्यसलाई प्रत्याभूत गर्ने राजनीतिक, आर्थिक प्रणालीको समेत परिवर्तन गर्न पर्ने निचोड माक्र्सवादको मुल मर्म हो ।



मार्क्सवादको प्रादुर्भाव पश्चात विश्वव्यापी रुपमा श्रमजीवी तथा शोषित उत्पीडित समुदायको आन्दोलन, विद्रोह र क्रान्तिको लहर चलेको थियो ।

यसले मान्छे भएर पनि मानवको दर्जा पाउन नसकेका बहुसंख्यक जनसमूहमा आत्मसम्मान, मुक्ति तथा समानताको आत्मविश्वासको संचार विद्युतीय गतिमा हुन पुग्यो, संसार बदल्ने उत्साह जाग्यो । जसको कारण विश्व समाजमा धेरै हदसम्म बदलिएको छ र यो क्रम यद्यपि जारी छ ।



मार्क्सवादले पुँजीवादको तिखो आलोचना गर्दै त्यसको अवश्यम्भावी मृत्यु भविष्यवाणी गरेकोले पुँजीवादी शिविरमा खैलाबैला मच्चियो । मार्क्सको दाबी अनुसार संसारभर आन्दोलन र सशस्त्र विद्रोह उठ्न थालेको, क्रान्तिको आँधीबेहरी सिर्जना भएको, त्रासदीपूर्ण आर्थिक चक्रको सामना गर्नुपरेको परिस्थितिले उनीहरूलाई साँच्चीकै अत्यायो ।

दुई/दुईवटा विश्व युद्ध विभीषिकाको भोगाइले पुँजीवादले आफैले आफैलाई बुझ्न समर्थ भयो र अस्तित्व रक्षाका लागि आफैलाई बदल्न विवश तुल्यायो । मार्क्सवादकै प्रतिप्रभावले समकालीन पुँजीवादको स्वरुप र चरित्रमा प्रशस्त फेरबदल आएको छ ।

सामाजिक सुरक्षा तथा कल्याणकारी राज्यको अवधारणा, मानव अधिकार, बहुलवाद, उदार लोकतन्त्र त्यसको परिणाम हो । जसकारण पनि पुँजीवादी विश्व व्यवस्थाले दोहोरिरहने संकट चक्रहरुको व्यवस्थापन गर्दै आयु लम्बाइरहन सफल भएको छ ।

वर्तमान सन्दर्भमा मार्क्सवादी भनिने कम्युनिस्ट आन्दोलनमार्फत दुनियाँ बदल्ने प्रवाह शिथिलता देखिएको छ । तापनि विश्वस्तरमा गरिबी निवारण, वातावरणीय संरक्षण, महिला सशक्तीकरण, ट्रेड युनियन आन्दोलन, विश्व शान्ति जस्ता अभियान, जनजागरणले उचाइ हासिल गरेका छन् ।

कुनै न कुनै माध्यमबाट संसार अधिकतर मानवीय, आत्मीय र सुरक्षित बन्ने बनाउने सार्थक प्रयासहरुलाई मार्क्सवादी दर्शन तथा विचारबाट निसृत अभिप्रेरणाको देन मान्न सकिन्छ । यसर्थ पनि मार्क्सवादको सान्दर्भिकता अझै बढेर गएको छ । तर मार्क्सवादको व्याख्या र परिभषामा युगानुकुल परिस्कार र परिवर्तन जरुरी छ । समाज बदल्ने विधि विज्ञान आफै पनि अपडेटेड रहनु पर्ने हुन्छ नै ।

(कार्ल मार्क्सको २०२ जन्मजयन्तीको सन्दर्भमा डेनमार्कमा भएको अनलाइन अन्तर्क्रियामा पौडेलले व्यक्त गरेको विचारका आधारमा)

तपाईको प्रतिक्रिया