कास्कीमा सर्वदलीय बैठक : सिमा सुरक्षामा सरकारलाई गम्भीर बन्न ध्यानाकर्षण

समाधान संवाददाता २०७७ जेठ १ गते १४:२२

समाधान संवाददाता

कास्कीका विभिन्न ५ राजनीतिक दलको संयुक्त बैठकले देशमा विद्यमान सिमा विवाद र कोरोना महामारीबारे सरकारलाई ध्यानाकर्षण गराएको छ । नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीको अध्यक्षतामा जनता समाजवादी पार्टी, नेकपा मसाल, राष्ट्रिय जनमोर्चा, नेकपा(माओवादी) दलका प्रतिनिधि सम्मिलित बिहीबारको बैठकले देशका समसामयिक समस्याबारे गरेका ६ निर्णय संयुक्त विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

नेपालको भूमि अतिक्रमण भइरहेकोले सिमा सुरक्षामा कुटनीतिक र राजनीतिक रुपमा उच्चस्तरीय वार्ता गर्न मुख्य रुपमा बैठकले जोड दिएको छ । ‘राष्ट्रको सीमा सुरक्षा जस्तो संवेदनशिल विषयमा सरकार कुटनीतिक, राजनितीक रुपमा उच्चस्तरिय सार्थक एवं परिणाममूखी वार्ता गरी नेपालको अविछिन्न अधिकार निर्वाध रुपले कायम गर्न स्थायी समाधान खोज्नुको सट्टा वक्तव्यवाजीमा अल्मलिएर कुटनीतिक श्रेष्ठता कायम गर्न नसकेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तीमा भनिएको छ ।

Advertisement

बैठकले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालाई कोरोना उपचार अस्पताल नबाउन उनीहरुको राय छ । नागरिकले सर्वसुलभ स्वास्थ्योपचार सेवा लिइरहेको अस्पताललाई कोरोना अस्पताल बनाउने योजना अव्यवहारिक भएकोले विकल्प खोज्न सुझाइएको छ । साथै, स्वास्थ्यकर्मीलाई गुणस्तरीय पिपिइ व्यवस्था गराउन र कोरोना परीक्षणको दायरा बढाउन माग गरेको छ ।

सरकारले वितरण गर्ने राहतमा राजनीतिक आस्थाका आधारमा पक्षपातपूर्ण व्यवहार गरेको आरोप सर्वदलीय बैठकले लगाएको छ । रोकिएको राहत वितरण तत्काल थाल्न बैठकले माग समेत गरेको छ ।

Advertisement

पर्यटन, उद्योग, कारखाना, कृषि र शिक्षा क्षेत्रमा प्रोत्साहन प्याकेज ल्याउन बैठकको माग छ । एसइई परीक्षाप्रति गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ ।
विपदमा पनि सरकारले एकलौटीपन देखाएको भन्दै सबै राजनीतिक पार्टी र नागरिक समाजलाई साथमा लिन आग्रह गरिएको छ । जिल्ला प्रवेश नाकामा विशेष सुरक्षा व्यवस्था गरी कडाई अपरिचित र शंकास्पद व्यक्तिहरुलाई कडाई गर्न सर्वदलीय बैठकले सरकारको ध्यानाकर्षण गराएको छ ।

बैठकमा जसपा अध्यक्ष गिरीप्रसाद गुरुङ, नेकपा मसालका प्रवक्ता चन्द्रबहादुर केसी, राष्ट्रिय जनमोर्च कास्कीका कोषाध्यक्ष विष्णु पुरी र नेकपा (माओवादी)का सचिव कर्णबहादुर पुन परेस सहाभागी भएको विज्ञप्ती मार्फत जनाइएको छ ।

तपाईको प्रतिक्रिया