आँधीखोलामा दोस्रो चरणको राहत वितरण सुरु

समाधान संवाददाता २०७७ जेठ १ गते १८:२७

समाधान संवाददाता

आँधीखोला गाउँपालिकाले दोस्रो चरणको राहत वितरण कार्य सुरु गरेको छ । लकडाउन लम्बिएपछि दैनिक ज्यालादारी गर्ने मजदुर तथा विपन्न घर परिवारलाई हातमुख जोड्न समस्या नहोस् भनेर दोस्रो चरणको राहत वितरण शुरु गरिएको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले बताए ।

वडा ५ मा बुधबार, वडा २ मा बिहीबार, वडा नं १, ३ र ६ मा शुक्रबार तथा वडा ४ मा आउँदो शनिबार ३ गते राहत वितरण गर्न लागिएको अध्यक्ष पौडेलले जानकारी दिए । राहत सामाग्रीमा अत्यावश्यक खाद्यान्न चामल, दाल, नुन, खाने तेल, चिनी र साबुन वितरण गरिएको छ ।

Advertisement

गाउँपालिकाले पहिलो चरणमा ६ सय ३५ घर परिवारलाई राहत वितरण गरेको थियो । दोस्रो चरणमा ३ सय ३० परिवारलाई राहत वितरण गर्ने गाउँपालिका सूचना प्रविधि अधिकृत रोशन लामिछानेले बताए । गाउँपालिकाले संघीय सरकारले तयार गरेको मापदण्ड अनुसार परिवार संख्याका आधारमा आधा र पुरा परिमाणमा राहत वितरण गर्न लागेको हो ।

राहत सामग्री अन्तर्गत २ जना सम्मको परिवारलाई १५ किलो चामल, १.५ किलो दाल, १ प्याकेट नुन, साबुन २ वटा, १ किलो चिनी र १ लिटर तेल वितरण तथा तीन र तीनभन्दा माथिका परिवार संख्या भएकालाई ३० किलो चामल, ३ किलो दाल, २ प्याकेट नुन, ४ वटा साबुन, २ किलो चिनी र २ लिटर तेल वितरण गर्न निर्णय कार्यपालिका बैठकले गरेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया