मुस्ताङमा आरडिटी किट अभाव हुँदा परीक्षण कम

समाधान संवाददाता २०७७ जेठ २ गते ६:००

एसके थकाली
जोमसोम, २ जेठ


मुस्ताङमा कोरोना भाइरस ¬(कोभिड–१९) परीक्षण गराउने द्रुत परीक्षण (¥यापिड डाइग्नोस्टिक टेस्ट–आरडिटी) किटको अभाव हुने देखिएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशानालय पोखराले उपलब्ध गराएको १ सय २० थान आरडिटी किटमध्य जम्मा ५० थान मौज्दात रहेको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको हो ।


जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले विदेशबाट फर्किएका तथा पोखरा र काठमाडौं सहितका ठाउँबाट आएकाको आरडिटी परीक्षण गर्ने भनेपनि घर फर्किनेको संख्या धेरै भएको हुँदा परीक्षणमा समस्या भइरहेको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङका कार्यालय प्रमुख टिकाराम भण्डारीले जानकारी दिए ।

Advertisement

क्वारेन्टिनमा बसेकाहरु, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र केही विदेशबाट आएकाहरुमा परीक्षण गर्दा प्राप्त किट खपत भएको स्वास्थ्य प्रमुख भण्डारीले बताए । मौज्दातमा रहेको किट न्यून भएकाले परीक्षणको दायर बढाउन समस्या परेको उनको भनाई छ । ‘जिल्लामा प्राप्त किट मध्ये ७० थान प्रयोग भयो । अब ५० थान मात्र बाँकी छ । बाँकीले क–कसको परीक्षण गराउने हो । समस्यामा छौं,’ उनले भने ।

माक्स, स्यानिटाइजर, ग्लब्स लगायतका सामग्रीको अभाव भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । यसअघि जिम्मे फाउन्डेसन, सांसद र विभिन्न सरोकारवाला निकायले उपलब्ध गराएको सामग्रीको मौज्दात पनि न्यून रहेको स्वास्थ्य प्रमुख भण्डारीले सुनाए । व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) मौज्दातमा सय थान रहेको उनले बताए ।

Advertisement

मुस्ताङमा हालसम्म संक्रमित भेटिएका छैनन् । विदेशबाट र पोखरा तथा काठमाडौंबाट मुस्ताङ भित्रिएका करिब १ हजार ३ सय व्यक्तिको लक्षण जाँच गरिएपनि आरडिटीसम्म हुन सकेको छैन । यदि आरडिटीमा पोजेटिभ देखिएपनि पोखरा पु¥याउनुपर्ने बाध्यता छ । स्थलमार्ग हुँदै पोखरा पुग्न ९ घन्टा लाग्ने गर्छ । जिल्ला प्रवेश गरेकाहरुको परीक्षण नहुँदा संक्रमित भित्रभित्रै रहेको शंकाले भने मुस्ताङबासीलाई पिरोलेको छ ।

प्रवेश नाकामा कडाई

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले म्याग्दी र मुस्ताङ जोडिएको नाकामा थप कडाई गर्ने निर्णय गरेको छ । मुस्ताङका सिडिओ वेदप्रकाश अर्यालको अध्यक्षताको बैठकले सवारी आउजाउ तथा व्यक्तिगत हिँडडुललाई कडाई गर्ने निर्णय गरेको हो । पछिल्लो समय संक्रमण बढिरहेकाले लकडाउनलाई प्रभावकारी बनाउन नाकामा कडाई गरिने भएको सिडिओ अर्यालले जानकारी दिए ।

समितिले यसअघि जिल्लामा भइरहेको विकासको काम सुरु गर्न चाहने कम्पनी, ठेकेदार र मजदुरलाई कोरोनो रोकथामका लागि १३ बुँदे सर्त सहित काम गर्न निर्देशन र जिल्ला स्तरीय राहत समितिले गरेका ४ बुँदे निर्णय स्थगित गरेको छ । भइरहेका मजदुरबाट कम्पनीले निर्माण काम गर्न सक्ने तर अब बाहिरबाट आउने मजदुरलाई रोक लाग्ने छ ।
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत सडक खन्ने अपरेटरहरुलाई कोरोना परीक्षण पछि मात्र काम गर्ने व्यवस्था गरेको प्रजिअ अर्यालले बताए । दैनिक अत्यावश्यक खाद्य सामग्री, विद्युत र संञ्चार लगायतका प्राविधिकलाई काम भने यथावत् रुपमा सञ्चालन हुने छन् ।

तपाईको प्रतिक्रिया