बाटो बिराएको कम्युनिस्ट आन्दोलन

समाधान संवाददाता २०७७ जेठ ३ गते ९:२३

सुरेन्द्र थापामगर

हरेक वर्षको जेठ ३ गते नेपाली राजनीतिमा एउटा नमिठो सम्झना लिएर आउँछ दासढुंगा दुर्घटना । त्यो काहालीलाग्दो क्षण त्यतिबेला जान्नेबुझ्झने भएका सवैलाई जानकारी छ ।

तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित चढेको जीप चितवनको दासढुंगामा दुर्घटना भएको खवर हावासरी फैलियो । त्यो घटना सत्य नहोस भनेर धैरैले प्राथना र पुकार गरे आखिर घटना सत्य ठहरियो । त्यो निधन पार्टीको लागि मात्र नभएर समग्र कम्युनिस्ट आन्दोलन र प्रजातान्त्रिक आन्दोलनको लागि अपुरणीय क्षति थियो ।

Advertisement

२०५० साल जेठ ३ गते भएको त्यो दुखद रहस्यमय दुर्घटना आजसम्म रहस्यमय नै छ । दासढुंगा दुर्घटनाका सम्बन्धका ३ वटा आयोग बनेको थियो । सरकारी पक्षबाट प्रचण्डराज अनिल आयोग, नेकपा एमालेबाट वर्तमान प्रधानमन्त्री तत्कालीन स्थायी समिति सदस्य केपी ओली र नागरिक समाजको तर्फबाट मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको संयोजकत्वमा आयोग बनेका थिए ।

सरकारी आयोग बाहेक अन्य २ आयोगको प्रतिवेदनले उक्त दुर्घटनालार्ई स्वभाविक मानेका थिएनन् । अहिले पनि शंका र अनुमानहरु यथावत छन् ।

Advertisement

अझै रहस्यमय दासढुंगा दुर्घटना

यतिबेला जननेता मदन भण्डारी र जीवराज आश्रितको क्रियाशीलताबाट हुर्केको कम्युनिस्ट पार्टी करिब २ तिहाइको बहुमतका साथ सरकारमा छ । यसभन्दा अगाडि पनि नेपाल कम्युनिस्ट पार्टी पटक पटक सत्तामा पुगेको थियो । तर नेकपा सत्तामा रहदा यो मुद्दा कहिलै उठने गरेको छैन ।

सायद प्राय सबै नेताहरुले यो घटनालार्ई बिर्सन चाहन्छन् । कसैले कुरा नउठाइदिए हुन्थो जस्तो मान्छन् होला । नेकपाका तल्लातहका कार्यकर्ता मदन भण्डारी तथा जीवराज आश्रितको रहस्यमय दुर्घटनाबारे अझै बुझन चाहन्छन ।

आफना प्रिय नेताको मृतु स्वभाविक दुर्घटना थियो कि षडयन्त्रपूर्वक दुर्घटना थियो, उनीहरु जान्न चाहन्छन् । तर पनि आजपर्यन्त दासढुंगा दुर्घटना रहस्यमय नै छ । दासढुंगा दुर्घटना इतिहासको दुखद घटना थियो । त्यतिबेला पार्टीले दासढुंगा दुर्घटनालार्ई सम्भवत षडयन्त्रपूर्ण हत्या भनेको थियो सम्भवत अब नेकपाका कार्यकर्ताले यो प्रश्नको उत्तर कहिलै पाउने छैनन् ।

नयाँ बाटो र लोकतान्त्रिक अभ्यास

मदन भण्डारी नेपाली राजनीतिमा प्रखर वक्ता, प्रगतिशील राष्ट्रवादका हिमायती, माक्सवादको सिर्जनात्मक प्रयोगकर्ता, नवीन विचारक तथा जनप्रिय नेताका रुपमा चिनिनु भएको थियो । समकालीन परिस्थितिलार्ई वस्तुवादी विश्लेषण गर्ने खुबीले मदन भण्डारीलार्ई नवीन विचारकको रुपमा छिट्टै स्थापित गराएको थियो ।

मदन भण्डारी सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्त हुनुपर्छ भन्नु हुन्थ्यो । अहिले हाम्रो पार्टीमा सिद्धान्त जस्तो व्यवहार र व्यवहार जस्तो सिद्धान्त छैन

उहाँद्वारा शूत्रबद्ध जनताको बहुदलीय जनवादको नवीन सोचले देशको कम्युनिस्ट आनदोलन र लोकतान्त्रिक आनदेलनलाई दिशाबोध गर्न सक्षम भएको छ । विषेशगरी तत्कालीन समयमा विश्वका कम्युनिस्ट सरकारहरु एकपछि अर्को गरी ढल्दै गएको अवस्थामा मदन भण्डारीले माक्र्सवादको पुनव्र्याख्या र पुन परिभाषा गर्नु जरुरी छ भनेर बहस चलाउनु भयो ।

समाजवादी व्यवस्था पतन हुनुका पछाडि वितरण प्रणाली निष्पक्ष वा न्यायपूर्ण नहुनु तथा पार्टी भित्र प्रजातान्त्रिक अभ्यासको कमी तथा जनता र नेताबीच अन्तक्रियाको कमीले भ्रष्टाचार संस्थागत भएर हो भन्ने उहाँको ठहर थियो ।

कमरेड मदन भण्डारीले त्यतिबेला जे औंल्याउनु भएको थियो, ठीक आजको नेपाल कन्युनिस्टमा पार्टी तै रोग लागिरहेछ । अहिले नेकपाभित्र आन्तरिक प्रजातन्त्रको अभ्यासमा कमी छ । तल्ला कमिटीदेखि पार्टीको उच्च तहसम्म आन्तरिक प्रजातान्त्रिक अभ्यासको कमीले गर्दा बेलावखत पाटीमा विग्रह, विवाद र अमर्यादित खिचातानी र गुटबन्दी मैेलाइरहेको छ ।

जब पार्टीमा विचार र सिद्धान्तको बहस हुँदैन । पद, कुर्ची र सुविधाको बहस भएपछि पार्टी जनताबाट टाढिँदै जान्छ । सिंगो पार्टीलाई एकताबद्ध पार्ने मूख्य आधार वैचारिक एकता हो । पार्टी विचारको जगमा उभिनु पर्छ ।

मदन भण्डारी सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्त हुनुपर्छ भन्नु हुन्थ्यो । अहिले हाम्रो पार्टीमा सिद्धान्त जस्तो व्यवहार र व्यवहार जस्तो सिद्धान्त छैन । राजनीतिक अस्थिरताको कालखण्ड सकिएको यतिबेला कम्युनिस्ट पार्टीलार्ई यी जनताका सञ्चा सेवक हुन् भनेर देखाउने राम्रो अवसर छ ।

बाटो बिराइयो कि

कम्युनिस्टहरुले राजनीतिलार्ई पेसा होइन सेवा हो जसको आफ्नै आदर्श हुन्छ भनेर स्थापित गर्नु पर्ने हुन्छ । व्यवहारमा हामी अन्य दलभन्दा फरक हुन सकेका छैनौं । पार्टीका जिम्मेवार नेताहरु सरकारमा रहँदा बारम्बार भ्रष्टाचारजस्तो घृणीत कार्यमा जोडिनु कम्युनिस्ट चरित्रको पतन हुनु हो ।

कम्युनिस्ट मूल्य र मान्यता एकपछि अर्को गरेर भत्किँदै गइरहेछ । हिजो कम्युनिस्टहरु निजी सम्पतिको खुब विराध गर्थे । आज कम्युनिस्टहरु निजी सम्पति भनेपछि हुरुक्क हुन्छन् भन्छन् । हाम्रो निजी सम्पतिप्रतिको मोह बढेको देखेर होला चीनिया राष्ट्रपतिले नेपाल आउदा निजी सम्पतिको मोह गर्ने कम्युनिस्ट हुन सक्दैनन् भनेको ।

मूलत पुँजीवादीहरु धनी तथा केही सुविधाभोगी वर्गको हितमा लागेको हुन्छ तर माक्र्सवादीहरु समाजका गरिब, शोषित तथा निमुखा वर्गहरुको हितमा लागि पर्छन भनिन्थ्यो । हाम्रा नीति तथा कार्यक्रम ती वर्गप्रति लक्षित छन् कि छैनन् हामीले समीक्षा गर्न बिर्सेका छौं । हाम्रो समीक्षा त मेरो गुटको मान्छे, उसको गुटको मान्छे भनेर गन्दा नै हाम्रो जीवनको महत्वपूर्ण पुँजी खर्च भएको छ ।

२०६३ सालयता ७ पटक वामपन्थीको सरकार बनेको छ यो देशमा । तीमध्ये २०५१ सालको मनमोहन अधिकारीको ९ महिने शासनकाल मात्र सम्झना गर्छन् मानिसहरु । आफ्नो गाउँ आफै बनाऊँ र वृद्ध भत्ताको कम्युनिस्ट पुँजी अब सिद्धिन लागेको छ ।

नेपाली समाजको आमुल परिवर्तन गर्ने ध्येय, उद्देश्य बोकेकोे पार्टीले व्यवहारमा कति जनपक्षीय र सुधारवादी काम गरेको छ ? यसबारे बहस हुनुपर्छ । पार्टी संसदीय फाँटमा ओर्लेपछि हाम्रो वैचारिक र सांस्कृतिक धरातलमा स्खलन भएको छ । साँच्चै हाम्रो पार्टी गरि खाने वर्गमा पुग्नुपर्ने थियो तर हाम्रो दिशा उल्टो भएको छ ।

हामी गरिब र दिन दुखीतिर गइरहेका छौं कि सम्भ्रान्त वर्गतिर गएका छौं ? एकचोटी समीक्षा हुनु जरुरी छ । मान्छेहरु भन्छन् अहिलेसम्म हाम्रो परिवर्तन र समृद्धि केबल सम्भ्राम्त वर्ग र सहर बजारमा सीमित रह्यो परिवर्तन र समृद्धि गाउँघर र गरिबकहाँ पुग्नसकेको छैन ।

यसलाई सबै राजनीतिक दलले मनन गर्नु पर्छ । त्यसमाथि हिजो गाउँ घरमा जनताको घरमा रोटी मकै ढिँडो खाएर भूमिगत जीवन बिताएका कम्युनिस्ट नेताहरुले सिंहदरबार छिरेपछि हामी बर्गर र पिज्जामा हरायौ कि ?

हामीले गाउँघर र हिजोको जीवनशैली बिर्सन हुँदैनथ्यो । जननेता मदन भण्डारी र जीवराज आश्रितको जीवनशैलीबाट हामीले सिक्ने धेरै कुरामध्य सादा जीवन र देशभक्तिपूर्ण भावना पनि एक हो ।

राष्ट्रियता र कम्युनिस्ट

हामीले आर्जन गरेको यो बहुमत राष्ट्रियताप्रति पार्टीले देखाएको योगदानको परिणाम हो । यो हाम्रो राजनीतिक पुँजी खिइन हुँदैन । मदन भण्डारीको साँचै अनुयायी हुने हो भने राष्ट्रप्रति कतैबाट हुने थिचोमिचोप्रति दृढतापूर्वक आवज बुलन्द गर्नुपर्छ ।

विवादित टनकपुरबाँध परियोजनाका सम्वन्धमा संसदको चौथो अधिवेशनमा मदन भण्डारीले भनेको कुरा यतिबेला सम्झन लायक छ। ‘यो मुलुकको कुनै पनि व्यक्ति वा निकायले मुलुकको इन्च जमीन पनि कुनै अर्के विदेशी राष्ट्रलार्ई दिन पाउँदैन ।’

यतिबेला भारतले हाम्रो भूमि लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जोडने सडक बनाएर हाम्रो सार्वभौमिकतामाथि हस्तक्षेप गरेको छ । भारतसँगको असमान सन्धि सम्झौता खारेज गर्ने भनेर धेरै पटक धेरैले भने । हाम्रो देशबाट केही प्रयास पनि नभएको होइन तर हाम्रो प्रयास परिणाममुखी भएन ।

आफ्नो भूभागमा वर्षौदेखि विदेशीले बाटो बनाउँदा हामीलाई चुइक्कसम्म थाहा नहुनु हाम्रो विडम्बना हो । हिजोदेखि आजसम्म सरकारमा बस्नेहरुलार्ई यस्तो गम्भीर विषयमा जानकारी नहुँदा देशले पीडा भोगेको छ ।

यतिबेला राजनीतिक दलले यो बुझ्नु पर्छ सत्ता फेरि चुनावबाट पाइन्छ तर देशको भूगोल एकचोटी गुमेपछि फेरि फर्काउन मुश्किल हुन्छ । हामी भारतबाट पलपल हेपिएका छौं । खुम्चिएका छौं । सरकारका मन्त्रीहरुले गाडीमा झन्डा हालेर मात्र राष्टिृयता जोगिँदैन ।

राष्ट्रियता जोगाउन कागजी घोषणा गरेर मात्र हुँदैन । ठोस पहलाकदमी लिन पर्छ । जननेता मदन भण्डारीले मे २७, १९९१ मा न्युजविकलार्ई दिनु भएको अन्तर्वातामा ‘भारतसँग भएका असमान र अपमानजनक सन्धिहरु हटाउन चाहन्छौं र ती सन्धिहरुको संशोधन र नवीकरण गर्ने प्रयत्न गर्नेछौ’ भन्नुभएको थियो । मदन भण्डारीको सम्झना गर्दा यी कुराहरुलार्ई हेक्का राख्नुपर्छ ।

अन्त्यमा

गत १७ असोज २०७४ मा तत्कालीन नेकपा एमाले र नेकपा मावोवादी चुनावी तालमेल भएपछि पार्टी एकताको माहौल बनेको थियो । एकीकृत कम्युनिस्ट पार्टीप्रति सर्बसाधारण नागरिकको आशा र भरोसाबीच २०७४ साल जेठ ३ गते मदन आश्रित दिवसकै दिन २ पार्टीबीच ऐतिहासिक एकता भयो ।

पार्टी एकताको सुरुका दिनमा जुन उत्साह र उमँग कार्यकर्तामाझ थियो, मुख्य नेताबीच बेलाबखत देखिने गुटबन्दीले आम कार्यकर्तालाई निराश बनाउने गरेको छ । इमान्दार कार्यकताहरु जो गुटको फेरो समाउन सक्दैन् जान्दैनन् उनीहरुको कहिल्यै मूल्यांकन हुँदैन ।

तलदेखि माथिसम्मको गुटबन्दीले पाटीलार्ई गालेको छ । कम्युनिस्ट पार्टीमा निष्ठा, योग्यता र क्षमताको राजनीति अब अनिकाल पर्न थालेको छ । नेपाल कम्युनिस्ट पाटी विभिन्न प्रतिभा र योग्यताको फूलबारी हो । यो पार्टीमा योग्यता र क्षमताको कदर हुनुपर्छ । पाटी एकीकरणपछि पनि कतिपय ठाउँमा पुरानै ध्रुवीकरणको नमिठो गन्ध आउने गर्छ ।

नेताहरुको जीवनशैली फेरिएको छ तर आम कार्यकताको जीवनशैली फेरिएको छैन । भिएस नयपालले देश दुईवटा छ भनेझै कम्युनिस्ट पार्टीभित्र पनि दुईवटा कम्युनिस्ट छन् एउटा एसी भित्र अर्को एसी बाहिर । जननेता मदन भण्डारी र जीवराज आश्रितले परिवर्तन गर्न खोजेको देश एसी बाहिरको हो । आजको दिन कमरेडहरुले आफू एसी भित्र बसेर एसी बाहिरका आम नागरिकलार्ई नर्बिसिऊन् । मदन आश्रितप्रति हार्दिक श्रद्धान्जली ।

तपाईको प्रतिक्रिया