संक्रमितसँग सम्पर्क भएकाको जाँच हुँदै

समाधान संवाददाता २०७७ जेठ ३ गते १५:४५

बागलुङ

गलकोट नगरपालिकाबाट पर्सा गएका १४ मजदुरमा कोरोना सङ्क्रमण देखिएपछि उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुमा कोरोना जाँच हुँदैछ ।

‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दा पत्ता लागेका १०९ जनाको स्वाब संकलन गरी जाँचका लागि पोखरास्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको हो । स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौका अनुसार आइतबार साँझसम्ममा सबै जाँचको रिपोर्ट आउनेछ ।

क्वारेन्टाइनमै बसिरहेका ती मजदुरमा गलकोटबाट बस चढेर गएको १९ दिनपछि कोरोना सङ्क्रमण पुष्टि भएको थियो । नगरपालिकाले बस चढाइ पठाएका ८० मजदुरमध्ये १४ जनामा कोरोना देखिएको थियो । सबै मजदुर निर्माणका क्षेत्रमा काम गर्थे । शुक्रबार र शनिबार गरी चार वडामा स्वाब संकलन गरिएको थियो ।

Advertisement

वडा नं ३ मा २६, ५ मा २९, ६ र ७ मा गरी ५५ जनाको स्वाब लिइएको वडा नं ३ का अध्यक्ष वीरजंग भण्डारीले जानकारी दिए । जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, सर्वसाधारणलगायत गरी १०९ जनाको स्वाब संकलन गरिएको छ ।

जिल्लाबाट गएका मजदुरमा कोरोना सङ्क्रमण पुष्टि भएपछि स्थानीयवासीमा त्रास छाएको थियो । यद्यपि उनीहरुको संक्रमणको स्रोतबारे केही थाहा हुनसकेको छैन । गत चैतमा भेटिएका २ संक्रमित उपचारपछि निको भइ घर फर्केयता जिल्लामा थप सङ्क्रमित भेटिएका छैनन् । संक्रमण रोक्न उच्च सतर्कता अपनाइएको छ । बन्दाबन्दीलाई झन् कडा तुल्याइएको छ । रासस

Advertisement

तपाईको प्रतिक्रिया