दृष्टिविहीन परियारलाई ५० हजार सहयोग

समाधान संवाददाता २०७७ जेठ ४ गते ६:२२

जमुनावर्षा शर्मा
पोखरा, ४ जेठ

पोखराको सडकमा गीत गाएर जीविकोपार्जन गर्दै आएकी तीन महिनाकी गर्भवती लक्ष्मी परियारलाई माइला कान्छा अभियानका अभियन्ता माया गुरुङ र पार्वती गुरुङले ५० हजार सहयोग हस्तान्तरण गरेका छन् ।

Advertisement


बन्दाबन्दीका कारण सडकमा गीत गाउन नपाएपछि समस्यामा पर्नुभएकी परियारका बारेमा थाहा पाएर माया र पार्वती सहयोगमा जुटेका हुन् । उनीहरुले परियारको समस्याको बारेमा फेसबुक लाइभमार्फत वास्तविकता उजागर गरेपछि बेलायतमा रहेका सहयोगी मनले सहयोग पठाएका थिए । सोही रकम लिएर शनिबार माया, पार्वती (माइला, कान्छा) परियारले आश्रय लिइरहेको लेकसाइड–६ तिलबारीमा (दिदीको घर) पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन् ।


४० वर्षीया परियारको जन्मेको एक वर्षमा दादुरा बिग्रेर आँखाको ज्योति गुमेको थियो । विसं २०५७ मा आमाको मृत्युपछि उनी काठमाडौं गइन् । धुलिखेलको सञ्जीवनी र प्रेरणा महिला स्कूलमा बसेर १२ कक्षासम्मको अध्ययन गरेकी छन् । अध्ययनकै क्रममा दृष्टिविहीन दीर्घबहादुर खड्कासँग प्रेम भयो र बिहे गरिन् । पेटमा बच्चा बसेपछि श्रीमान्ले बच्चा गर्भपतन गर्न दबाब दिन थालेपछि उनको सम्बन्ध सुमधुर हुन सकेन । उनले १ छोरीलाई जन्म दिएसँगै श्रीमान्सँगको सम्बन्ध पनि टुट्यो ।

Advertisement

जीवनका हरेक आरोह अवरोहसँग जुध्दै २५ दिनकी छोरी च्यापेर सडकमा गीत गाउन पुगेको विगतको यथार्थ सम्झँदा उनी निकै भावुक भइन् । भक्कानिरहेको उनको आवाजले भोग्नुपरेको दुख पोखिरहेको थियो । आमाछेउ छोरी आइन् । लक्ष्मीले भनिन्, ‘मेरो जीवनको सहारा यही छोरी हो । यसैको सल्लाहमा मैले गत साउनमा बिहे गरेँ, सधैं गीत गाएर घर पुग्दा रात पथ्र्यो, एकजना ढकाल सरले लमजुङका कालीबहादुर परियारसँग भेट गराएर बिहेको लागि आग्रह गर्नुभयो । छोरी सानै भए पनि सोधें, २ कक्षामा अध्ययनरत छोरी मेरिसाले दुईजना छौं अब तीनजना हुन्छौं भनेपछि बिहे गरें ।’ ‘अहिले मेरो पेटमा ३ महिनाको गर्भ छ । श्रीमान् भत्ता बुझ्न लमजुङ गिलुङ जानुभएको छ ।’


अघिपछि पोखरा–१६, बाटुलेचौर बस्दै आए पनि अहिले श्रीमान् नभएको र बन्दाबन्दीले समस्या भएपछि दिदीको घरमा आश्रय लिएको उनले बताइन् ।


परियारले घर खोज्दै आफू बसेको ठाउँसम्म सहयोग लिएर आउने सहयोगी मनप्रति नतमस्तक भएर धन्यवाद दिइन् । ‘दुखमा साथ दिने मान्छे भगवान्ले कता कताबाट पठाइदिँदा रहेछन्, हामीलाई सहयोग गर्ने सम्पूर्णको सधैँ भलो होस्’ उनले आफूहरूका लागि ५० हजार नगदले निकै राहत मिल्ने भन्दै सहयोगी सबैलाई आशीर्वाद दिइन् ।
माइला कान्छा अभियानका कान्छा अर्थात् माया गुरुङले बेलायतबाट ३ हप्ताको छुट्टीमा नेपाल आएको तर बन्दाबन्दीका कारण फर्कन नपाएपछि नेपाल बसाइँमा समाजसेवामा लागेको बताइन् ।

‘मैले उसलाई माइला (पार्वती गुरुङ) भन्छु उसले कान्छा भन्छ, हाम्रो कामलाई धेरैले माइला कान्छा अभियान नाम दिएका छन्,’ गुरुङले भनिन्, ‘अहिलेको यो समयमा हामीले गरिब असहाय, अपंगता भएकाहरूको आँसु पुछ्ने अभियानमा जुटेका छौ ।’ ‘सम्भव भएसम्म उनीहाँहरूको घरमा नै पुग्छौँ, वास्तविकता सामाजिक सञ्जालबाट देखाइदिन्छौँ, अनि जसले जसलाई सहयोग गर्न चाहानुभएको छ उहाँहरूसमक्ष नै पुगेर दिने गरेका छौं । सबै पारदर्शीरूपमा फेसबुक लाइभबाट कसले कति रकम दिएको हो सबै भन्छौं,’ उनले भनिन् ।

भूकम्पको बेला पनि देशका विभिन्न बस्तीमा पुगेर सहयोग गरेको उनले बताइन् ।
अर्का अभियन्ता पार्वती गुरुङले (माइला) स्वच्छ मनले समाज सेवा गरें सहयोगी हातहरू जुटिरहने बताइन् । ‘हामी बेलायत बसे पनि हाम्रो मन नेपाली हो, कोरोनाको त्रास भए पनि सुरक्षा अपनाएर सेवामा जुटेका छौं, यस अभियानलाई सहयोग गर्ने सम्पूर्णप्रति हामी आभारी छौं,’ गुरुङले भनिन्, ‘अहिले धेरैजनाबाट सहयोगको आवश्यता रहेको भन्दै फोन आउँछ तर हामी प्रत्यक्ष त्यहाँ पुग्छौं, हेर्छौं र आवश्कयता देखिएमात्र सहयोगको अपील गर्छौं ।’ उनले हालसम्म विभिन्न कठिनाइको सामना गरिरहेकाहरूलाई १० लाख सहयोग गरिसकेको जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया