कोरोनाले केही मान्छे खाला, लकडाउनले देशै खाने भो !

समाधान संवाददाता २०७७ जेठ ४ गते ७:५८

रामकृष्ण ज्ञवाली÷समाचार टिप्पणी

गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सामाजिक सञ्जालमा पोस्ट गरे, ‘कोरोनाले जसलाई भेट्यो, त्यसलाई खान्छ, देशको अर्थतन्त्र टाट पल्ट्यो भने बाँचेका सबैलाई खान्छ ।’ उनले भनेजस्तो होइन, कोरोनाले भेट्ना साथ मान्छे मरिहाल्दैन । अहिलेको विश्वकै तथ्यांक हेर्ने हो भने संक्रमितमध्ये करिब ७ प्रतिशतको मृत्यु भएको छ निको हुनेको संख्या उच्च छ । मृतकमध्येमा अधिकांश कुनै न कुनै दीर्घरोगी वा बयोवृद्ध र असक्त छन् । त्यसैले कोरोना लाग्नासाथ मरिँदैन । मन्त्रीले पहिलो लाइनलाई देखाएर जोेड दिन खोजेको दोस्रो लाइन हो । यदि कोरोना कोरोना भन्दै लकडाउन जारी राख्ने हो भने अब देशमा आर्थिक संकटको महामारी आउँछ । सामाजिक झगडाको आगो सल्कन्छ । उनले भनेका छन्, ‘अब हामी कोरोनाले मर्ने कि भोकले मर्ने ?’

भावनात्मक कुरा गर्दा ‘सबै भन्दा ठूलो कुरो मान्छेको ज्यान हो, ज्यान रहे पो जगत’ भन्न सकिन्छ । तर त्यो ज्यानलाई ज्यानजस्तै बनाउनका लागि आवश्यक सबै कुरा तहस नहस पारेपछि त्यो ज्यान घर भित्रै गुम्सिएर कति दिन धानिन सक्छ भन्ने हो । आर्थिक वर्षको अन्तिम चौमासिक सकिन २ महिना पनि बाँकी छैन । सरकारी ढुकुटी सबैभन्दा बढी खर्च हुने समय यही हो । गण्डकी प्रदेशको कुरा गर्दा अहिललेसम्म सरकारी विकास बजेट मुस्किलले ३२ प्रतिशत खर्च भएको छ ।

Advertisement

निजी क्षेत्रको गतिविधि प्राय ठप्प छ । बैंक तथा वित्तीय संस्थाहरु किस्ता उठाउन सक्ने अवस्थामा छैनन् । चैतको किस्ता असारमा सारिएको छ । अब चैत मै किस्ता तिर्न नसक्नेहरुले असारमा कसरी तिर्छन ? लगानीकर्ताहरुले सरकारलाई चाबी बुझाउँछौं भनेर धम्क्याउन थालिसके । बेरोजगारीका कारण हरेक दिन हजारौंको संख्यामा राहत माग्नेहरु थपिँदैछन् भने राहत दिने निकाय वा सस्थाहरु आर्थिक रुपमा टाट पल्टिदैछन । राजश्व असुली शून्य प्राय अवस्थामा पुगेकाले अधिकांश स्थानीय निकायहरु आफ्नै कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा छन् ।

एकातिर यस्तो डरलाग्दो अवस्था छ भने अर्कातिर लकडाउन झनै कडा पारिँदैछ । हुँदाहुँदा विकास निर्माणका सामग्री ढुवानी गर्ने साधनहरुले समेत सास्ती खेप्नु परेको छ । अचम्म लाग्छ, राजनीतिक नेतृत्व र सरकारका उच्च अधिकारीहरुको दूरदर्शिताको क्षमता हेर्दा । अमेरिकामा त्यत्रो मान्छे मर्दा किन पूर्ण लकडाउन गरिएन ? रुसले लक डाउनको निर्णय किन फिर्ता लियो ? कुनै अध्ययन र विश्लेषण गरिँदैन । भ्याक्सिन पत्ता लाग्ने छाँटकाट छैन । विश्व स्वास्थ्य संगठनले भनिसक्यो, ‘यो महामारी वर्षौसम्म लम्बिन सक्छ । यसको मतलव अब लकडाउन कोरोना विरुद्ध लड्ने हतियार हुनै सक्दैन ।’

Advertisement

अब हरेक मान्छे आफ्नो सुरक्षाका लागि आफै सजग हुनुपर्छ । आफ्नो शरीरमा भाइरस सर्न नदिन आफैले होसियारी अपनाउँदै काममा जानुपर्छ । व्यापार व्यवसाय सुचारु गर्नुपर्छ । संक्रमित भइहाले पनि यसको सामना गर्न मानसिक रुपमा तयार हुनु पर्छ । देश जडिबुटीमा धनी छ । मान्छेको प्रतिरोधात्मक शक्ति बढाउने खालका जडिबुटी सेवन गर्ने र मनोवैज्ञानिक रुपमा कोरोना भाइरसको संक्रमण जित्ने आत्म विश्वास विकास गर्नुपर्छ । र देशलाई बढो सजगताका साथ आर्थिक गतिविधिमा फर्काउनु पर्छ । यसो गरिएन भने गण्डकी प्रदेश सरकारका मन्त्रीले भने जस्तै महाविपत्ती आउन सक्छ ।

आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले जसरी लकडाउनको विरोध गर्न आँट गर्नु भयो, अब त्यसै गरी सरकारी सरकारी ढुकुटी खर्च गर्ने आँट गर्न सक्नु पर्छ । विभिन्न आयोजनाका नाममा अर्बौ रकम सरकारी ढुकुटीमा बन्द छ । त्यो रकम बाहिर निस्केन र यो आर्थिक वर्ष यत्तिकै गयो भने देशमा चरम आर्थिक संकट पैदा हुन्छ । तपाईंलाई थाहा छ, १ हजार रुपैयाँ खल्तीमा थन्कियो भने त्यो एउटा फगत कागज मात्र हुन्छ । त्यही हजारलाई एकै दिन सय पटक कारोबार गराइयो भने १ लाखको काम गर्छ ।

भन्नेहरुले अन्धाधुन्ध खर्च ग¥यो भन्लान् । असारे चटारो भन्लान । विपक्षीले भ्रष्टाचारको आरोप लगाउलान । जे जे भने पनि देशको अर्थतन्त्र चलायमान बनाउन यो समय सरकारी ढुकुटी बाहिर निकाल्नै पर्ने समय हो । जम्मा ३२ प्रतिशत खर्च भएको गण्डकी प्रदेशको विकास बजेट अबको २ महिनामा जति सक्यो धेरै खर्च गराउनुस् । प्रदेश अन्तर्गतका सबै विकास निर्माणका आयोजनाहरु तत्काल सुचारु गर्नुस् । अबको क्याबिनेटको मुख्य विषय यही बनोस । हरेक मन्त्रालयलाई आफ्नो मातहतको बजेट खर्च गर्न दबाब दिनुस् । यसो हुँदा थला परेको निजी क्षेत्रले बामे सर्न पाउँछ । बेरोजगार बनेका हजारौं मानिस पुन रोजगार बन्छन् । जसरी कोरोनालाई आत्मसात गर्नुको विकल्प छैन, त्यसैगरी सरकारी ढुकुटी बाहिर निकाल्नुको पनि विकल्प छैन ।

तपाईको प्रतिक्रिया