घाचोक र लाहाचोकका विपन्नलाई नमस्ते किड्सको सहयोग

समाधान संवाददाता २०७७ जेठ ४ गते १०:४७

पोखरा, ३ जेठ

बालबालिकाको क्षेत्रमा काम गर्दै आएको नमस्ते किड्सले कास्की लाहाचोक र घाचोकमा विपन्न परिवारलाई राहत प्रदान गरेको छ । कोरोना भाइरसको मारमा परेका आर्थिक विपन्न परिवारलाई किड्सले राहत वितरण गरेको हो ।

माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ३ र ४ का १ सय १५ घरधुरीलाई वडाको समन्वयमा २ लाख ५० हजार बराबरको खाद्यान्न वितरण गरेको किड्सका अध्यक्ष सगुन गुरुङले जानकारी दिए ।

Advertisement

‘आर्थिक रुपमा विपन्न र बिहान बेलुकाको चुलो बाल्न धौ–धौ भएका विपन्न परिवारलाई वडाको समन्वयमा चामल, नुन, तेल राहतमा वितरण गरेका हौं,’ अध्यक्ष गुरुङले भने, ‘हाम्रो सानो सहयोगले उहाँहरुको चुलो बाल्न प्रयत्न गरेका हौं ।’

गड प्यारेन्ट परियोजनाअन्तर्गत अनाथ गरिब जेहेन्दार बालबालिकालाई सहयोग गर्दै आएको संस्थाले कोरोना भाइरसको मारमा परेका विपन्नलाई सहयोग गरेको हो । माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष सूर्यप्रसाद लम्साल र ४ का अध्यक्ष पूर्णबहादुर शाहीको रोहबरमा राहत वितरण भएको हो ।

Advertisement

‘पोखरादेखि नजिकै रहेर पनि चुलो बाल्न मुश्किल भएका परिवारलाई किट्सले सहयोग गरेर संकटमा हातेमालो गरेको छ,’ ४ का अध्यक्ष शाहीले भने, ‘मनकारीहरुको सहयोगले केही राहत महसुस भएको छ ।’ वडाका प्रतिनिधिका अनुरोधमै किड्सले सहयोग गरेको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया