सामुदायिक स्कुललाई किताबको बजेट दिने तयारीमा महानगर

समाधान संवाददाता २०७७ जेठ ५ गते ६:३६
sdr

अनुप पौडेल, पोखरा

पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयलाई पुस्तक खरिदको प्रक्रिया सुरु गरेको छ । महानगरले विद्यार्थीको संख्या यकीन गर्नसबै सामुदायिक विद्यालयलाई कक्षा १ देखि ९ सम्मका विद्यार्थीको संख्या पठाउन सूचित गराएको छ ।

विद्यालयलाई पुस्तक खरिद गर्नबजेट पठाउनुपर्ने भएकाले जेठ १५ गतेभित्र विद्यार्थीको तथ्यांक पठाउन भनिएको महानगरको शिक्षा महाशाखा प्रमुख गंगाबहादुर गुरुङले जानकारी दिए ।

Advertisement

कक्षा १ देखि ९ सम्म ४५ हजार विद्यार्थी अध्ययनरत रहेको महानगरको तथ्यांक छ । महानगरले सामुदायिक विद्यालयलाई पुस्तक खरिदका लागि वार्षिक डेढ करोड रुपैयाँभन्दा बढी रकम खर्च गर्दै आएको छ ।

‘विद्यालय खुलेपछि हामीले पैसा पठाउनुपर्छ । विद्यार्थी आए पनि नआए पनि पहिलेको संख्याअनुसार पैसा पठाइदियो भने पैसा थुप्रिन्छ,’ उनले भने, ‘त्यसैले विद्यार्थीहरुकहाँ कुन अवस्थामा छन् ट्र्याकिङ गरेर त्यहीअनुसार किताबको पैसा माग्दा राम्रो हुन्छ नि ।’

Advertisement

गएका वर्षमा चैतमै विद्यालयको खातामा महानगरले पैसा पठाउने गरेको भएपनि यस वर्ष महानगरले विद्यालयलाई पैसा पठाउन भ्याएको थिएन ।महानगरले सबै विद्यालयलाई असार मसान्तभित्र किताबको पैसा पठाउनुपर्ने भएकाले तथ्यांक माग गरिएको महाशाखा प्रमुख गुरुङले बताए ।

पोखरामा २ सय ७ वटा सामुदायिक विद्यालय छन् । ती विद्यालयकाे कक्षा १ देखि ९ सम्म ४५ हजार विद्यार्थी अध्ययनरत रहेको महानगरको तथ्यांक छ । महानगरले सामुदायिक विद्यालयलाई पुस्तक खरिदका लागि वार्षिक डेढ करोड रुपैयाँभन्दा बढी रकम खर्च गर्दै आएको छ ।

गत वर्ष महानगरले सामुदायिक विद्यालयका विद्यार्थीलाई पुस्तक खरिदका लागि १ करोड ६६ लाख रुपैयाँ खर्च गरेको थियो । यस वर्ष पुस्तक खरिद खर्च बढ्ने महानगरको अनुमान छ । ‘यो वर्ष केही कक्षाका पुस्तक नयाँ आएका छन् । मूल्य पनि बढी भएकाले यो वर्ष २ करोड रुपैयाँ जति खर्च हुन्छ,’ उनले भने । उनकाअनुसार विद्यालयले जेठ १५ गतेभित्र ६ जना निरीक्षकलाई इमेलमार्फत तथ्यांक पठाउन सक्नेछन् ।

सरकारको निर्णय पर्खंदै निजी विद्यालय

सामुदायिक विद्यालयल पुस्तक खरिदका लागि बजेट पर्खिरहँदा निजी विद्यालय भने पुस्तक किन्न तम्तयार देखिन्छन् । सबैजसो निजी विद्यालय सरकारको निर्णय पर्खेर बसेका छन् ।

पोखराका केही निजी विद्यालयले पुस्तक खरिद गरिसकेको र अन्य विद्यालयको हकमा पब्लिकेसनले अनुमति पर्खिरहेको संस्थागत विद्यालयको छाता संगठन प्याब्सन कास्कीका अध्यक्ष प्रेमप्रसाद शर्माले बताए ।

‘पब्लिकेसनलाई सम्पर्क गरेका छौं । उनीहरुले २÷३ दिन बाँडेको र वितरणका लागि समस्या भएकाले रोकिएको जानकारी दिएका छन्,’ अध्यक्ष शर्माले भने, ‘सरकारकोनिर्णय कसरी आउँछ त्यहीअनुसार खुला गर्ने भन्ने छ ।’ कास्कीमा प्याब्सनअन्तर्गत रहेका १ सय २ वटा विद्यालयमा ७५ हजार विद्यार्थी रहेको अध्यक्ष शर्माले जानकारी दिए ।

कोरोनाले शैक्षिक वर्ष प्रभावित हुने अनुमान भइरहँदा प्याब्सन अध्यक्ष शर्मा साउनसम्म स्थिति सामान्य भए जेनतेन पाठ्यक्रम सकिने बताउँछन् । त्यसपछि कोरोनाले प्रभाव परिरहे विकल्प खोज्नुपर्ने उनको भनाइ छ ।

आवश्यक पुस्तक बजारमा आइसकेको तर लकडाउनले गर्दा स्टेसनरी नखुल्दा किताब किन्न समस्या भएको एनप्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी बताउँछन् ।

‘पुस्तक बजारमा आइसक्यो भन्ने कुरा आएको छ । स्टेसनरी नखुलेको र त्यहाँसम्म जाने अवस्था नभएकाले विद्यार्थीसम्म पुस्तक पुग्न सकेको छैन,’ उनी भन्छन्, ‘पुस्तक किन्नजान खोज्ने अभिभावकको हकमा प्रशासन लचिलो बन्नुपर्छ ।’एनप्याब्सन अन्तर्गत कास्कीका ४५ विद्यालयमा ३० हजार विद्यार्थी रहेको उनले बताए ।

कोरोनाले शैक्षिक वर्ष प्रभावित हुने अनुमान भइरहँदा प्याब्सन अध्यक्ष शर्मा साउनसम्म स्थिति सामान्य भए जेनतेन पाठ्यक्रम सकिने बताउँछन् । त्यसपछि कोरोनाले प्रभाव परिरहे विकल्प खोज्नुपर्ने उनको भनाइ छ ।

‘भर्खर जेठ सुरु भएको छ । पहिलो २ महिना छोडेर असारमा कक्षा सुरु गर्न पाए अलि दुख गरेर कोर्स सक्छौं,’ उनले भने, ‘साउनबाट सुरु गर्न पाए बिदा कटौती गरेर व्यवस्थापन गर्न सकिन्छ । त्यसपछि भने विकल्प खोज्नुपर्छ ।’

छैन तथ्यांक

कास्कीका डेढ लाख बढी विद्यार्थीलाई पुस्तक किन्न वार्षिक कति खर्च हुन्छ भन्ने तथ्यांक कतै पनि छैन ।विद्यालयअनुसार छुट्टाछुट्टै प्रकाशनका पुस्तक प्रयोग हुने गर्छ । ती पुस्तकको मूल्य पनि घटबढ हुन्छ ।

विद्यालयअनुसार छुट्टाछुट्टै पुस्तक प्रयोग हुने भएकाले कति कारोबार हुन्छ भन्न सक्ने अवस्था नरहेको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कास्कीका अध्यक्ष मोहनप्रसाद सापकोटा बताउँछन् ।

‘कति कारोबार हुन्छ ठ्याक्कै भन्न सकिँदैन । सामुदायिक विद्यालयको किताब ५ सय हारहारीमा आउँछ । निजी विद्यालयको किताबको मूल्य बढी हुन्छ,’ उनी भन्छन्, ‘१० कक्षामा पढ्ने विद्यार्थीको कसैको २५ सय, कसैको ३ हजार, कसैको ३५ सयसम्मको आउँछ । त्यसैले यकीन तथ्यांक हामीसँग छैन ।’

प्याबसन र एनप्याबसनले पनि कुन प्रकाशनको पुस्तक प्रयोग गर्ने भन्ने निर्णय गरेर त्यही प्रकाशनको किताब किन्न अभिभावक र विद्यार्थीलाई सुझाउने गरेका छन् । विषय विज्ञले छनोट गरेको प्रकाशनको पुस्तकलाई प्रयोग गर्ने गरेको प्याब्सन कास्कीका अध्यक्ष प्रेमप्रसाद शर्माले जानकारी दिए ।

‘सबै विद्यालयको पुस्तक एउटै हुँदैन । विषय विज्ञले उत्कृष्ट ४/५ वटा पब्लिकेसन छनोट गर्नुहुन्छ । विद्यालयले तीमध्ये जुनसुकै प्रकाशनको पुस्तक प्रयोग गर्न सक्छन्,’ उनले भने ।

तपाईको प्रतिक्रिया