संरक्षणको पर्खाइमा १३ सय वर्ष पुरानो नुनखानी, स्वदेशमै होला नुन उत्पादन ?

समाधान संवाददाता २०७७ जेठ ५ गते ६:५३

एसके थकाली, जोमसोम

Advertisement

कोरोना भाइरस डिजिज कोभिड १९ ले सिकाएको पाठ हो, मुलुकलाई आत्मनिर्भर बनाउने । नुनदेखि सुनसम्म आयातमात्रै हुने नेपालमा लकडाउनकै बेला पनि तरकारी र खाद्यपदार्थ भारतबाट आइरहेको छ । भाइरसले दिएको पाठ ग्रहण गर्दै के स्वदेशमा सम्भव उद्योग सञ्चालन होलान् ? सामान्य जिज्ञासा पैदा हुँदा मुस्ताङको नुनखानीको प्रसंग पनि आउँछ ।

वारागुङ मुक्तिक्षेत्र–३ तेताङमा अवस्थित ऐतिहासिक तथा प्राकृतिक नुन खानी संरक्षणको पर्खाइमा छ । पछिल्लो समय बजारिया प्रशोधित नुनको उपयोग हुन थालेपछि तेताङको ऐतिहासिक नुन खानी प्रयोगमा आएको छैन ।

३० वर्षअघि मुस्ताङको टुकुचेका स्थानीय समाजसेवी सुब्बा शंकरमान शेरचनले उक्त नुन खानी जिल्लाभित्र प्रयोगमा ल्याएका थिए । त्योबेला शेरचनले नुन खानीको संरक्षण गर्दै जिल्लाभित्र प्रयोगमा ल्याएको वारागुङ मुक्तिक्षेत्र–३ का वडाध्यक्ष नविनकुमार गुरुङ बताउँछन् ।

‘तत्कालीन समयमा सुब्बा शेरचनले प्रति पाथी नुन १९ रुपैयाँमा बिक्री गरेको मलाई याद छ,’ उनले स्मरण गरे । साल्ट ट्रेडिङ कर्पोरेशनका अनुसार नेपालमा मासिक १६ हजार टन नुन खपत हुन्छ । सबै नुन विदेशबाट आयात हुन्छ ।

Advertisement

बजारिया नुन नहुँदा र मुस्ताङ सडक संजालले नजोडिँदा तेताङको नुन उपयोग हुने गरेको थियो । स्थानीयले आफू पनि त्यही नुन उपभोग गर्थे र पशु चौपायालाई खुवाउँथे ।

सुब्बा शेरचनले नुन खानी उपयोगमा ल्याउन छोडेपछि स्थानीय गाउँ समाजले नुन खानी सञ्चालन तथा संरक्षण गरे । तर त्यो नुन खानी उत्खननको काम दीर्घकालिन बन्न सकेन । नुन खानी संरक्षण तथा उत्खनन हुन नसक्दा बर्सेनि लाखौ मुल्यको नुन त्यसै खेर गईरहेको वडाध्यक्ष गुरुङले सुनाए ।

वारागुङ–३ तेताङको नरसिंह खोलाको कलात्मक पहाडमा नुन खानी छ । त्यहाँ पहाडबाट रसाएको नुनिलो पानीलाई पाइपमार्फत तानेर कुण्डमा जम्मा गरी ढिक्के बनाइने गरिन्थ्यो । तल्लो मुस्ताङदेखि उपल्लो मुस्ताङका ९६ वटै गाउँमा तेताङको नुन पुग्थ्यो ।

तेताङ नुन खानी ऐतिहासिक तथा धार्मिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिएको छ । ८ औं सताब्दी अर्थात १३ सय वर्षअघि बौद्ध धर्म गुरु पद्मसम्भवले तेताङको नरसिंह खोला पहाडमा नुन रोपेको धार्मिक किंवदन्ती छ । छिमेकी देश भारतमा जन्मिएका गुरु पद्मसम्भव राक्षसको बध गर्न तिब्बत जाने क्रममा तेताङको नरसिंह खोला पहाडको ओढारमा ध्यान बसेका बताइन्छ ।

पद्य सम्भवकै दैवि शक्तिको बलले तेताङको नरसिंह खोला पहाडमा नुन खानी उत्पत्ती भएको कागछोदे गुम्बाका खेम्बो तेन्जिङ साङ्वोले सुनाए । उनले पद्य सम्भवसँग जोडिएका मुस्ताङका कतिपय तिर्थस्थलमध्ये तेताङको नुन खानी पनि एक भएको बताए ।

मुस्ताङको जोमसोम–कोरला सडकको पूर्वतर्फ नरसिंह खोला तिरैतिर करिब १ घण्टाको पैदलयात्रापछि नुन खानी स्थल पुग्न सकिन्छ । बर्खायाममा खोलाको बहाव उच्च हुँदा ३ महिना नुन खानी स्थल पुग्न कठिन हुन्छ ।

मुस्ताङ जिल्ला खानी तथा जैविक विविधताले महत्वपूर्ण भएकाले ३ वर्षअघि खानी तथा भुगर्व विभागको एक टोलीले समेत नुन खानीको सम्भाव्य अध्ययन गरेको थियो । नुन खानीको निरीक्षण गर्न तत्कालीन उद्योग मन्त्री सोमप्रसाद पाण्डेसहित खानी विभागका ३ सदस्यीय भूगर्वविद् टोली मुस्ताङ आएका थिए ।

मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचनको पहलमा ४ वर्षअघि मुस्ताङमा नुन खानी र युरोनियम खानीको सम्भाव्यता अध्ययन भएको थियो । अध्ययन टोलीले ऐतिहासिक तथा प्राकृतिक नुन खानीलाई व्यावसायिक रुपमा सञ्चालन गर्ने सम्भावना कम भएको तर यसलाई स्थानीय स्तरको उद्योगको रुपमा विकास गर्न सकिने निष्कर्ष निकालेको थियो ।

मुस्ताङका संघीय सांसद तुलाचनले नुन खानीलाई पर्यटकीय गन्तव्यमा विकास गर्न र स्थानीय स्तरको उद्योगमा सञ्चालन गर्न सके रोजगारी तथा पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने बताएका छन् ।

प्रयोगविहीन अवस्थाको ओझेलमा परेको नुन खानीलाई स्तरोन्नती गर्न वारागुङ मुक्तिक्षेत्रले चालु वर्ष १० लाख बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङले जानकारी दिए । नुन खानी स्थलमा कुण्ड निर्माण गर्न, पाइपलाइन जोड्न र आवश्यक तटबन्ध निर्माण गर्न बजेट विनियोजन भएको उनले बताए ।

‘पाइपबाट खोलाको दाहिनेतर्फ ५ वटा नुन भण्डारण गर्ने कुण्ड भएपनि संरक्षणको अभावमा जिर्ण बनेको छ,’ उनले भने, ‘लकडाउन हटे चालु आर्थिक वर्षमा पूर्वाधार स्तरोन्नति गर्ने लथ्य छ ।’

तपाईको प्रतिक्रिया