मुस्ताङका पालिकाले लिएनन् चीनले पठाएको राहत सामग्री

समाधान संवाददाता २०७७ जेठ ५ गते ६:४१

एसके थकाली
जोमसोम

Advertisement

विश्वव्यापी माहामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइइरस ( कोभिड–१९ )ले सिर्जित लकडाउनका कारण समस्यामा परेका उपल्लो मुस्ताङको २ स्थानीय तहलाई उपलब्ध गराइएको चीनको तिब्बती राहत एकसाता अघिदेखि उत्तरी कोरलानाकामै अलपत्र परेको छ ।


उत्तरी छिमेकी देश चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउपालिकालाई राहत समग्री उपलब्ध गराएको हो । चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले गत वैशाख २६ गते उपल्लो मुस्ताङका लागि ६ वटा ट्रकमा खाद्यान्न, तरकारी तथा कोरोना रोकथाम तथा नियन्त्रण लगायतका स्वास्थ्य सामग्री पठाएको थियो ।

Advertisement

तिब्बतबाट आएको ठूलो परिणामको राहत अहिले कोरोलामै थन्किन पुगेको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउपालिकाले जिल्ला र स्थानीय निकायसँग समन्वय नगरी सीमित व्यक्तिको समन्वयमा राहत पठाएको भन्दै राहत सामाग्री नबुझ्ने बताएका छन् ।

चीनले पठाएको राहत सामग्रीमा माक्स, पिपिई, थर्मल गन, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री छन् भने त्यससँगै ठूलो परिणाममा खाद्यान्न लगायत लत्ताकपडा रहेको जनाइएको छ ।

Advertisement

तिब्बती सरकारले दिएको राहत लोमान्थाङ–५ का वडाध्यक्ष नवाङकुङ्गा लामा, टसी फेञ्चोक लोहा र पासाङ गुरुङका नाममा पठाइएको लोमान्थाङ गाउपालिकाका अध्यक्ष सुवर्णकुमार बिष्टले जानकारी दिए । तिब्बतले उपलब्ध गराएको राहत आफूहरुले नलिने र चीनियाँ सुरक्षाकर्मीको समन्वयमा उतै फिर्ता पठाउने तयारी भइरहेको बताए । उनले कोरोना कहरका बेला चीनको तिब्बती सरकारले दिएको राहत कोरोना सम्भावित संक्रमण फैलिनसक्ने अवस्था रहेकाले राहत नबुझ्ने निश्कर्षमा पुगेको जानकारी दिए । अधयक्ष बिष्टले हाल देखिएको माहामारी रोग कोरोनाका कारण स्थानीय व्यापारीलाई तिब्बत जान रोक लगाइएको उल्लेख गरे ।

यता लोघेकर दामोदरकुण्ड गाउपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले स्थानीय सरकारको मन्जुरी बिना पठाएको राहत सामग्री नलिने र उतै फर्काउने बताए । यता राहत समन्वयकर्ता वडाध्यक्ष नवाङकुंगा लामाले राहत बुझ्ने नबुझ्ने विषयमा स्थानीयसँग छलफल गरी निर्णय लिने बताए ।

तिब्बतबाट पठाइएको राहत तथा स्वास्थ्य सामग्रीका बारेमा जिल्लालाई कुनै जानकारी नभएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश अर्यालले जानकारी दिए । चीनको तिब्बती सरकारले हुम्ला, जुम्ला, रसुवा, डोल्पा र मुस्ताङ लगायतका जिल्लालाई राहत सामग्री पठाउने तयारी गरेको थियो ।

उपल्लो मुस्ताङको २ स्थानीय तहले राहत तथा सामग्री स्वीकार नगरेपछि कोरलानाकामा थन्काइएको राहत तिब्बततर्फनै फकाइने निश्चित भएको छ । तिब्बतले पठाएको ६ ट्रक राहत सामग्री कोरलानाकामा थन्किन पुगेको हो ।

तपाईको प्रतिक्रिया