कोरोना पछिको नेपाली पर्यटन

समाधान संवाददाता २०७७ जेठ ५ गते ७:४०

दिवस गुरुङ

कोरोना भाइरस (कोभिड –१९) कहिलेसम्म रहन्छ भनेर भन्न सक्ने अवस्था छैन । विश्व अर्थतन्त्रमा प्रभाव पर्ने पक्का भएपनि अनुमानबाहेक अरु केही गर्नसक्ने स्थिति देखिँदैन ।

यस भाइरसको रोकथामका लागि विश्वभर १०० भन्दा बढी सम्भावित खोपहरु निमार्णको चरणमा छन् । तर खोप पत्ता लागि हाले पनि यसलाई सम्पूर्ण रुपमा उन्मुलन गर्न नसकिने स्वास्थ्य विज्ञहरुले बताउँदै आएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले त कोरोना भाइरस कहिल्यै पनि अन्त्य नहुने सम्भावना रहेको भन्दै चेतावनी नै दिएको छ ।

समय धेरै लाग्ला तर पक्कै यो महामारी १ दिन नियन्त्रणमा आउने नै छ । अहिलेको सन्दर्भमा यसलाई फैलिन नदिनु नै सबैभन्दा भरपर्दो उपाय हो । सयुंक्त राष्ट्र संघको विभिन्न अनुसन्धान अनुसार सन् २०२० को विश्व अर्थतन्त्रमा ३.२ प्रतिशतले गिरावाट आउने र ८.५ ट्रिलियन डलरको घाटा हुने पूर्वानुमान छ ।

विगतको विश्व पर्यटन

पर्यटन क्षेत्रलाई विश्वकै एक संवेदनशील व्यवसाय मानिन्छ । प्रदूषणरहित मानिने यस क्षेत्रलाई पनि कोरोनाले ठूलो प्रभाव पारिसकेको छ र पार्ने छ आगामी दिनहरुमा पनि । केही दशक पहिला फर्केर हेर्दा विभिन्न कालखण्डमा विभिन्न प्रकोप र विषम परिस्थितिले विश्व पर्यटनमा ठूलो धक्का पुगेको देखिन्छ । सन् २००३ को सार्ससँग होस् वा त्यसपछि महामारी रुपमा फैलिएको बर्डफ्लु,

स्वाइनफ्लु र इबोला जस्ता महामारीसँग जुध्दै विश्व पर्यटन अघि बढेको थियो । सबैभन्दा ठूलो असर सार्स भाइरसको कारणले देखिएको थियो । करिब चार महिना विश्वको घेरै देशमा पर्यटकहरुको आवतजावत नै रोकिएको थियो । यसले पु¥याएको क्षतिलाई पूर्ति गर्न विश्वलाई करिब दुई वर्ष नै लाग्यो । तर यी सबै प्रकोपभन्दा कोरोना भाइरसको प्रकोपले पर्यटन क्षेत्रमा पु¥याउने असर कैयौं गुणा धेरै हुने विज्ञहरु बताउँछन् ।

विश्व पर्यटन संगठनले भर्खरै निकालेको रिपोर्टअनुसार कोरोनाले सन् २०२० को अन्त्यसम्म पर्यटनको क्षेत्रमा मात्रै करिब ९ सय १० बिलियन डलरदेखि १.२ ट्रिलियन डलरको घाटा हुने देखिन्छ । करिब ८५० मिलियन देखि १.१ बिलियन अन्तराष्ट्रिय पर्यटकहरुको आवतजावत नै रोकिने छ र यस व्यवसायमा प्रत्यक्ष रुपमा लागेका १०० देखि १२० मिलियन मानिसहरुको रोजगार जोखिममा रहेको देखिन्छ ।

नेपालको पर्यटन :

नेपालको परिपेक्क्षमा विगतलाई फर्केर हेर्दा सन् १९९८ र सन् २०११ को नेपाल पर्यटन वर्षमा क्रमशः झण्डै पाँच लाख र साढे सात लाख अन्तर्राष्ट्रिय पर्यटकहरु नेपाल भित्रिएका थिए । त्यसपछि वि.स. २०७४ साउन महिनामा नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी योजना र सन् २०२० लाई पर्यटन वर्ष घोषण गर्यो ।

वल्ड ट्राभल एण्ड टुरिजम काउन्सिलका अनुसार सन् २०१८ मा पर्यटनले नेपालको कुल गार्हस्थ उत्पादनमा ७.९ प्रतिशतयोगदान गरेको थियो । त्यस वर्ष करिब १० लाख पर्यटक नेपाल आएका थिए ।यसको तुलनामा दोब्बर पर्यटक सन् २०२० मा भित्र्याउने लक्ष्य सहित जनवरी १ मा दशरथ रंगशालामा तामझाम सहित पर्यटन वर्ष १ समारोहसहित उद्घाटन गरियो ।

यो वर्षको अन्त्यसम्म विदेशी पर्यटकहरु नेपालमा नआउने निश्चित छ । यस हिसाबले पर्यटन व्यवसायमा लागेकाहरुले सम्भवतः यस वर्ष पर्यटनबाट कुनै आम्दानी नहुने पक्का छ ।

सरकारले पर्यटन वर्ष सफल बनाउन ६१ करोड ७४ लाख रुपैयाँ बजेट घोषणा गरेसँगै विभिन्न कार्यक्रमहरु पनि सुरु भइसकेका थिए । सन् २०१९ को अन्त्यतिर चीनमा देखिएको कोरोना भाइरसले नेपालमा आउने चिनियाँ पर्यटकहरुको संख्यामा गिरावाट आउने आँकलन गरिए तापनि नेपालमा पर्यटन वर्षको योजनाहरु अघि बढिरहेका थिए ।

नेपालमा कोरोना संक्रमित भेटिइसक्दासमेत पर्यटनमन्त्री कोरोनामुक्त रहेको भन्दै प्रचारप्रसारमा व्यस्त थिए । कोरोनाको विश्वव्यापी प्रभाव र चौतर्फी दबाब आएसँगै आखिर सरकारले फागुन १७ गते पर्यटन वर्ष रद्द नै गर्‍यो । यो वर्षको अन्त्यसम्म विदेशी पर्यटकहरु नेपालमा नआउने निश्चित छ । यस हिसाबले पर्यटन व्यवसायमा लागेकाहरुले सम्भवतः यस वर्ष पर्यटनबाट कुनै आम्दानी नहुने पक्का छ ।

त्यसैले प्रत्यक्ष रुपमा करिब ११ लाख हाराहारीसँगै अप्रत्यक्ष रुपमा आबद्ध अझ धेरै संख्याका मानिसहरु रोजगारविहीन हुनेछन् । तथ्यांक अनुसार हरेक पर्यटकबाट हरेक आम्दानी स्वरुप सरकारले पाउने ४४ डलरसमेत अब प्रत्यक्ष रुपमा प्रभाव पर्नेछ ।

नेपाल पर्यटन बोर्डले यस क्षेत्रमा प्रत्यक्ष रुपमा आबद्ध संख्याको प्रारम्भिक रुपमा तथ्यांक संकलन गरी बेरोजगारी तथ्यांक तयार पारेर अर्थ मन्त्रालयलाई प्रतिवेदन बुझाउने योजना अघि सारेको छ । सम्भव भएसम्म प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत समेटिने र बाँकीलाई योजना बनाएर रोजगारको व्यवस्था मिलाउने तयार गरिएको छ ।

अबको आकस्मिक कदमहरु :

पहिलो : आकस्मिक कदम भनेकै पर्यटन उद्योग र कामदार बचाउनु हो । व्यवसायीहरु कर्मचारीलाई तलब दिन सक्ने अवस्थामा छैनन् । ठूलादेखि साना कति होटल जग्गा वा घर भाडामा लिएर चलेका थिए । उनीहरुलाई भाडा तिर्न समस्या आइसकेको छ ।

बैंकको ऋण, सरकारी कर, बिमालगायत अन्य खर्चहरु अनगिन्ती छन् । सरकारले आगामी असार महिनासम्म ऋणको ब्याज र कर तिर्दा जरिवाना नलाग्ने भनिएको छ । कोरोना साम्य नभएसम्म यसलाई लागु गर्नु नितान्त आवश्यक छ । साथै सरकारले ती व्यवसायीहरुलाई कम ब्याजमा सहुलियत ऋण दिलाउने प्रावधान ल्याउनु पर्छ ।

ठूल्ठूला होटल तथा रेस्टुराँहरुले उठाउँदै आएको सर्भिस चार्जलगायत अन्य रकमको कोषलाई उपयोग गर्ने बेला आएको छ । सरकारले तोकेको न्यूनतम १४ हजार रुपैयाँ मासिक तलब करिब ४÷५ महिनासम्म कर्मचारीलाई दिलाउने कदम अघि सार्नुपर्छ । सँगै सरकारले सामाजिक कोषको रकमलाई उपयोग गर्नु आवश्यक देखिन्छ ।

दोस्रो : यो समय हिमाल तथा पदयात्रा मार्गको सरसफाइको कार्यलाई अगाडि बढाउन सकिन्छ । सगरमाथा क्षेत्रमा रहेको टनका टन फोहोर र शव होस् वा अन्नपूर्णलगायत अन्य क्षेत्रको फोहोरअहिले संकलन गर्दा राम्रो हुन्छ ।

एक त पर्यटकको चाप शून्य छ, र अर्कोतिर बेरोजगार गाइड, पोर्टरलगायत टिमलाई यसमा खटाएर उचित तलबको व्यवस्था गर्दा उनीहरुलाई केही राहत मिल्छ । यसले अन्तर्राष्ट्रिय स्तरमा पनि राम्रो सन्देश जानेमा कुनै दुई मत छैन ।

तेस्रो : अर्को उपाय भनेको आकस्मिक रोजगारका योजनाहरु अघि बढाउनु हो । नेपालमा चलेका ट्रेकिङ रुटहरु सडक विस्तारलगायत जलविद्युत योजनाहरुले ध्वस्त भइसकेका छन् ।

त्यस क्षेत्रमा वैकल्पिक पदमार्गको निर्माणसँगै नयाँ पर्यटकीय गन्तव्यहरुको खोज र अनुसन्धान गर्न सकिन्छ ।विभिन्न पर्यटकीय ठाउँका स्थानीयहरुलाई त्यहाँको गोरेटो बाटो, पुल पुलेसो बनाउने कामहरुको व्यवस्था गराएर उनीहरुलाई आकस्मिक रोजगारी प्रदान गर्न पनि सकिन्छ ।

पर्यटनको अबको बाटो :

निस्संदेह कोरोना पछिको पर्यटनमा धेरै आमूल परिवर्तन हुन्छन् । केही वर्षसम्म त नेपालमा विदेशी पर्यटकहरुको आगमन कमै हुन सक्छ । अब पर्यटकको घुम्ने शैली, उनीहरुको सोचाइ र व्यवहारमा परिवर्तन अवश्य आउनेछ ।

हामी त्यही अनुसार अघि बढ्नु पर्नेछ । ‘मास टुरिजम’ अर्थात् भीडभाडमा अब पर्यटकहरु जान रुचाउँदैनन् । त्यसैले नेपालका विभिन्न पदमार्गहरु उनीहरुकोपहिलो रोजाइमा पर्न सक्छन् ।

यतिका महिना घरभित्रै लकडाउनमा बस्न बाध्य मानिसहरु पक्कै पनि कोरोना भाइरस साम्य भएपछि प्रकृतिको छहारीमा स्वच्छ हावामा सास फेर्न आतुर हुन्छन् । नेपाल उनीहरुको रोजाइमा पर्ने सम्भावना बढी रहनेछ ।

आगामी दिनहरुमा पर्यटन क्षेत्रमा स्वास्थ्य र सरसफाइलाई मुख्य प्राथमिकता दिनु पर्नेछ । स्वास्थ्यको विषयमा पर्यटकहरु अझ सजक रहने छन् । यस व्यवसायमा लागेका सबैले अब मास्क, पन्जा, स्यानिटाइजरको प्रयोगसँगै पर्यटकलाई स्वास्थ्य सुरक्षाको अनुभूति दिलाउन सक्नुपर्छ । उनीहरुले प्रयोग गर्ने होटल, यातयातका साधनलगायत सम्पूर्ण क्षेत्र सुरक्षित छ भन्ने सन्देश हामीलेदिनसक्नुपर्छ ।

यतिका महिना घरभित्रै लकडाउनमा बस्न बाध्य मानिसहरु पक्कै पनि कोरोना भाइरस साम्य भएपछि प्रकृतिको छहारीमा स्वच्छ हावामा सास फेर्न आतुर हुन्छन् । नेपाल उनीहरुको रोजाइमा पर्ने सम्भावना बढी रहनेछ ।

कति त दोस्रो जीवन पाइयो भनेर लुम्बिनी, पशुपति वा मुक्तिनाथ दर्शन कै लागि नेपाल आउन पनि सक्छन् । विश्व व्यापार संगठनको तथ्यांक अनुसार विश्वभर ४२ प्रतिशत पर्यटकहरु साहसिक पर्यटन गर्न रुचाउँछन् ।

त्यसैले प्याराग्लाइडिङ, हट एयर बलुन, बन्जी, कायकिङ, स्किइङ, माउन्टेन बाइकिङ, रक क्लाइम्बिङ, ट्रायथोलन जस्ता प्रोडक्टहरुलाई बढी प्राथमिकता दिएर नेपाललाई साहसिक पर्यटनको हब बनाउनु पर्छ । यसका लागि मल्टिनेसनल कम्पनी, बेभरेजलगायत विभिन्न उद्योगपतिहरुले प्रायोजना गर्न सक्छन् ।

पर्यटन वर्षका लागि विनियोजित ६१ करोडको धेरै रकम खर्च भएको छैन । एक त यसको केही अंश आकश्मिक राहत कोषको रुपमा खडा गरेर तत्काल पर्यटन क्षेत्रमा लागेकालाई सीपमूलक कार्यका लागि अनुदान दिन सकिन्छ । जुन रकम अर्गानिक खेतीपाती, फलफूल, माछा पालनमा प्रयोग गराएर पछि यसैलाई कृषि पर्यटन र इको टुरिजमसँग जोडेर पर्यटक आकर्षण गर्न सकिनेमा २ मत छैन । बाँकी बजेट सरकारले आन्तरिक पर्यटन प्रवद्र्धनमा खर्च गर्नु सान्दर्भिक छ ।

अबको विकल्प आन्तरिक पर्यटन

केही वर्ष विदेशी पर्यटकहरु नेपाल आउने सम्भावना कम छ । यता नेपालीहरुले हरेक वर्ष विदेश भ्रमणमा खर्च गर्ने रकम विदेशीले नेपालमा गर्ने भन्दा बढी रहेको बताइन्छ । ती नेपालीहरुलाई अब विदेश नभइ स्वदेश नै घुम्न प्रोत्साहन गर्नुपर्छ । यता अहिलेको समयमा नेपालीहरु नै नेपाल घुम्ने क्रेज केही वर्ष यता ह्वातै बढेको पनि छ ।

त्यसैले आन्तरिक पर्यटन प्रवद्धन गराउन सरकार, पर्यटन व्यवसायी, विभिन्न संघसंस्थाहरु सबै एकजुट भएर अगाडि बढ्नु पर्छ । यसका लागि पर्यटन वर्षको लागि छुट्याइएको बाँकी बजेट पर्यटन पूर्वाधार विकास, सहुलियत प्याकेजको व्यवस्था, नयाँ पदयात्राको खोज र अनुसन्धानसाथै आन्तरिक पर्यटन प्रचारप्रसार तथा प्रवद्र्धनमा खर्च गर्न सकिन्छ ।

केही दिन अघि मात्र बुद्ध एयरलाइन्सले कोरोनाको नियन्त्रणपछि काठमाडौंबाट पोखरा र चितवनको सहुलियत ट्राभल प्याकेज ल्याउने घोषण गरेको थियो । यसरी नै सबै एयरलाइन्स कम्पनीहरु, होटल व्यवसायी तथा टुर एण्ड ट्राभल कम्पनीहरुले सहुलियत ट्राभल प्याकेजको व्यवस्था गरेमा घुम्ने संख्या पक्कै बढ्नेछ र केही राहत पक्कै मिल्नेछ ।

घरमै लकडाउनको फुर्सदिलो समयमा हामीले अबको पर्यटन बारेमा घरमै बसेर खोज अनुसन्धानसँगै सामाजिक मिडियामार्फत एक अर्कासँग छलफलमा जुट्न सक्छौं । जुन निष्कर्षहरु सम्बन्धित निकायले अबको योजनामा समावेश गर्न सक्छन् । नेपालको पर्यटन पहिलेकै स्थितिमा फर्कन अझै कति समय लाग्छ भन्न सकिँदैन । तर, समयमै सही कदम चाल्न सकिएमा पक्कै पनि केही हदसम्म नेपालको पर्यटन माथि उकास्न सकिन्छ ।

तपाईको प्रतिक्रिया