दुलेगौंडामा फलफूल र तरकारी नष्ट – स्थानीय सरकारको राज्य आतंक !
भरत काेइराला
पोखरा, ७ जेठ
तनहुँको शुक्लागण्डकी नगरपालिकाले स्थानीय व्यवसायीबाट तरकारी र फलफूल नियन्त्रणमा लिएर सोमबार कार्यालय परिसरमै खाल्डो खनेर गाड्यो । ‘नगरपालिकाको निणर्यको बर्खिलाप’ गरेको भन्दै फलफूल नष्ट गरिएको पालिकाको दाबी छ ।
नगरपालिकाको यो कदम आफैमा विवादित मात्रै भएन, अधिकारकर्मीले त यो कदमलाई राज्य आतंकको संज्ञा दिएका छन् । १ पटक सच्चिने अवसर पनि नदिई पालिकाले सामान नियन्त्रणमा लिएर नष्ट गर्न पाउँछ कि पाउँदैन ? नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमाल भन्छन्,‘हामीले सूचना जारी गरेकै हो, निर्णय नमान्नेलाई कारवाही त गर्न पाउनुप¥यो नि ।’
तरकारी र फलफूल नष्ट नगरी पहिलोपटक चेतावनीपूर्ण कारवाही गर्ने पक्षमा आफूहरु रहे पनि स्थानीयको दबाब खेप्न नसकेर नष्ट गर्नु परेको उनको भनाइ छ । नगर प्रवक्ताकै भनाइबाट प्रष्ट हुन्छ कि नगरपालिकाको विवेकबाट भन्दा पनि स्थानीयको दबाबमा फलफूल र तरकारी नष्ट गरेको प्रष्ट भएको छ ।
तरकारी जफत गर्दा व्यवसायीको रोहबरमा मुचुल्का पनि गराइएको छैन । अनुगमन टोलीले कुनै व्यावसायिक संस्थामा अनुगमन गरी कारवाही प्रक्रिया अगाडि बढाउँदा उपभोक्ता ऐन अनुसार मुचुल्का बनाउनुपर्छ । तर नगरपालिकाले यो प्रक्रिया अपनाएकै छैन ।
उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइराला नगरपालिकाले असल नियतले कारबाही गरेको भए पनि कानुनी प्रक्रियाबारे ख्याल पु¥याउनुपर्ने बताउँछन् । नगरपालिकाको निर्णयका भरमा सामान नियन्त्रणमा लिएर नष्ट गर्ने अधिकार कुनै स्थानीय तहमा नहुने उनले जनाए ।
अनुगमनका क्रममा कारबाही गर्दा सामान जफत गर्न पर्नाको कारण र गरिएको कारबाहीको विवरणको २ प्रति कागज बनाएर १ प्रति व्यवसायीलाई दिनुपर्ने उनले बताए । विदेशी सामान नेपाल भित्र्याउने बेलामा भन्सार बिन्दुमै परीक्षण गरिनुपर्नेमा बजारमा आइसकेपछि व्यवसायीलाई मार पार्ने गरी नष्ट गर्नु नियमसंगत नभएको कोइरालाले बताए ।
उनले भने, ‘जिल्ला प्रशासन कार्यालयको प्रतिनिधिको उपस्थितिबिना यो काम भएको छ, यो त सिधै राज्य आतंक हो, स्थानीय तहले जनता तर्साउने काम गर्नु हुँदैन ।
तरकारी नष्ट गरिएका तारादेवी स्टोर्सका सञ्चालक गणेश साह नगरपालिकाले अरु कारबाही गर्नुको साटो पसलबाट सामान उठाएर नष्ट गर्दा आफू मर्कामा परेको बताउँछन् । ‘राज्यको कानुन मैले पनि मान्नुपर्छ, नेपाली सेनाका कार्यालयहरुमा सामान ढुवानीको जिम्मा मैले पाएको छु, कहाँबाट सामान ल्याएको हेर्दै नहेरी तरकारी पुरियो,’ उनले भने ।
उनले प्रश्न गरे, ‘तरकारी र फलफूलमा संक्रमण भएर नष्ट गरिन्छ भने बोक्ने गाडी र बिक्री गर्ने मलाई पनि खाल्डोमा गाड्ने त ?
तरकारी तनहुँको याम्पा, कास्कीको पुम्दीबाट र फलफूल पोखराको मण्डीबाट ल्याएको उनको दाबी छ । पोखराको मण्डीमा सामान आउँदा केही नहुने, त्यहिँबाट ल्याएको फलफूल दुलेगौंडामा आएर नियन्त्राण्मा लिँदा बिलबिजक समेत नहेरिएको साहले गुनासो गरे । उनले प्रश्न गरे, ‘तरकारी र फलफूलमा संक्रमण भएर नष्ट गरिन्छ भने बोक्ने गाडी र बिक्री गर्ने मलाई पनि खाल्डोमा गाड्ने त ?
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले नगरपालिकालाई अटेरी गरेकै कारण टोल विकास संस्था, उद्योग वाणिज्य संघका प्रतिनिधि, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक लगायतको रोहबरमा तरकारी र फलफूल नष्ट गरिएको बताए । स्थानीय तहले आफूले गरेका निर्णय कार्यान्वयन गर्ने क्रममा कारवाही गर्न पाउने जिकीर उनको छ ।
गण्डकी प्रदेशको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक गोकुल शर्मा पौडेलले शुक्लागण्डकीको तरकारी नष्ट प्रकरण सुनेर आफू अचम्ममा परेको प्रतिक्रिया दिए । उनले भने, ‘विषादी र अन्य संक्रमण परीक्षण नै नगरी नष्ट गर्ने अधिकार कसैलाई छैन ।’
तनहुँका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारी स्थानीय तह आफू एक्लै गर्न नक्ने काम गरेको बताउँछन् । यसबारे नगरपालिकाका मेयरसँग आफूले जानकारी माग्ने प्रतिक्रिया दिए ।
शुक्लागण्डकी नगरपालिकाको शुक्रबारको बसेको आकस्मिक बैठकले नगरभित्र तरकारी र फलफूल पसल बन्द गर्ने निर्णय गरेको थियो । आइतबारदेखि लागु हुने गरी गरिएको निर्णय पहिलो दिन सोमबार अनुगमनमा निस्किएको टोलीले दुलेगौंडास्थित तारादेवी स्टोर्सको सामान जफल गरेर नष्ट गरेको हो ।
करिब डेढ गाडी आँप, खरबुजा, केरा, भेंडे खुर्सानी, बोडी, भिन्डी, आलु प्याज, गोलभेडा लगायत तरकारी र फलफूल जफत गरी नष्ट गरिएको हो । यसबाट आफूलाई डेढ लाख रुपैयाँ घाटा भएको व्यवसायी गणेश साह बताउँछन् ।
नगरक्षेत्रमा सञ्चालित खाद्यान्न सामग्री किनबेच गर्ने पसल आइतबार र बिहीबार बिहान ६ बजेदेखि १० बजेसम्म मात्र खोल्ने दिने निर्णय नगरपालिकाले गरेको छ ।
मेडिकल, डेरी, बिजभण्डार र पशुपंक्षीको दाना तथा औषधी बिक्री गर्ने भेटेरीनरी पसल बाहेक अन्य पसल बन्द गरी सहयोग गर्न नगरले अपील गरेको छ । यस्तै, बैंक तथा सहकारी संस्थाहरु हप्तामा २ दिन मात्र सञ्चालन गर्न निर्देशन दिइएको छ ।
बैंक तथा सहकारी आइतबार र बिहीबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मात्र स्थानीय कर्मचारीको उपस्थितिमा सुरक्षा प्रबन्ध मिलाइ सामाजिक दुरी कायम राख्दै सञ्चालन गर्ने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
तपाईको प्रतिक्रिया