चलचित्र पत्रकार संघ कास्कीको वेबसाइट, जीतप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार घोषणा

समाधान संवाददाता २०७७ जेठ ७ गते १४:४०


पोखरा
 
चलचित्र पत्रकार संघ कास्कीले जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कारको घोषणा गरेको छ । चलचित्र पत्रकारिता दिवस तथा २१ औं वार्षिकोत्सवको अवसर पारेर संघले बुधबार पुरस्कारको घोषणा गरेको हो । पुरस्कारको राशि  २५ हजार रुपैयाँ रहने चलचित्र पत्रकार संघ कास्कीले जनाएको छ ।

‘जेठ ७ गते बुधबार नै एक कार्यक्रम गरी पत्रकारिता दिवस मनाउने र पुरस्कार वितरण कार्यक्रम गर्ने हाम्रो योजना थियो । तर कोरोनाका कारण मुलुकमा भैरहेको लकडाउनका कारण कार्यक्रम गर्न असमर्थ भयौ । चलचित्र पत्रकारिता दिवसकै अवसर पारेर हामीले सो पुरस्कार प्रदान गर्ने घोषणा गरेका हौं।’, चलचित्र पत्रकार संघ नेपाल, कास्कीका अध्यक्ष अरुण गिरीले भने ।

उनका अनुसार सो पुरस्कार गण्डकी प्रदेश भित्र कार्यरत पत्रकारितालाई मूल पेशा बनाई चलचित्र पत्रकारितामा कम्तीमा ५ वर्ष काम गरेका सक्रिय पत्रकार एक जनालाई प्रदान गरिनेछ ।

पोखराको चलचित्र उद्योगलाई गति दिन जीतप्रसाद द्वाको उल्लेखिय योगदान छ । द्वा पोखरामा चलचित्र हल र चलचित्र छायाँकनका लागि आवश्यक पूर्वाधारयुक्त स्टुडियो निर्माणसँगै नेपालभर चलचित्र वितरण गर्ने अग्रणी संस्था एफडीका संचालक हुन् । द्वाको योगदानलाई पत्रकारिताको माध्यमबाट चिरकाल सम्म स्मरण गर्न र चलचित्र र चलचित्रसँग सम्बन्धित पत्रकारिताप्रति पु¥याएको योगदानलाई कदर गर्न उनको परिवार र चलचित्र पत्रकार संघ नेपाल कास्कीको अग्रसरतामा पुरस्कारको घोषणा भएको हो ।

यस्तै, दिवसकै अवसरमा चलचित्र पत्रकार संघ कास्कीले ‘अफिसियल वेबसाइट’ सार्वजनिक गरेको छ । नेपाल पत्रकार संघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले वेबसाइटको सार्वजनिक गर्दै चलचित्र पत्रकार संघ कास्कीको पछिल्लो गतिविधि प्रशंसा गर्न लायक भएको बताए ।

कोभिड १९ ले विश्व आक्रन्त भएकाबेला चलचित्र क्षेत्र समेत अछुतो नरहेको र यस्तोबेलामा पनि सामाजिक दुरी कायम गरी पत्रकारिता दिवस मनाउनु आफैमा सराहनीय काम भएको उनले बताए ।

‘पोखरामा चलचित्र क्षेत्रको विकासमा योगदान पुर्‍याएका जितप्रसाद द्वा बुवाको नाममा चलचित्र पत्रकारिता पुरस्कार घोषणा हुनु गौरवको कुरा हो । उहाँको परिवारनै चलचित्रकर्ममा आबद्ध छ । तेस्रापट्टीबाट सुरु भएको चलचित्र हलको विकास हाल मिडटाउन ग्यालरीसम्म पुर्याउनको पछाडी द्वाको नाम अग्रपंक्तीमा आउँछ ’, उनले भने ।

चलचित्र पत्रकार संघ कास्कीले रंगकर्मको विकासक्रमसँगै ईतिहासलाई कोट्याउनुपर्ने आवश्यकता रहेको उनले बताए । वेबसाइट सार्वजनिक मात्र नभई यसको निरन्तरता र नियमित अपडेटको शुभकामना दिदै श्रेष्ठले नेपाल पत्रकार महासंघ कास्कीले जस्तोसुकै परिस्थितिमा पनि चलचित्र पत्रकार संघ कास्कीलाई सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा निर्वतमान अध्यक्ष रेम बिक, सचिव प्रभु अधिकारी, कोषाध्यक्ष अर्पण तिवारी, सह—सचिव सन्तोष बस्याल, सदस्यहरु विनिता सुनार, आशिष पुरी, मिलन थापा लगायतको उपस्थिति थियो ।

Advertisement

तपाईको प्रतिक्रिया