जब विपद, तब रेडियो

समाधान संवाददाता २०७७ जेठ ८ गते १०:४६

जीवन सुवेदी

रेडियोबाट सार्वजनिक गरिएको नम्बरमा फोन आउँछ । ‘हेलो सर नमस्कार, हेर्नु न लामो समय भयो ज्यामी काम गर्दै आएको थिएँ, २ महिना भइसक्यो साहुले काममा पनि बोलाएको छैन, वडाबाट दिएको १२ किलो चामलसहितको राहत पनि सकियो । घरमा सुत्केरी श्रीमती छन् । खानलाई केही नभएर हजुरलाई फोन गरेको, काम पाए पनि गर्न हुन्थ्यो, तर मेरो खुट्टा फ्याक्चर भएको छ ढलानबाट खसेर । हजुरहरुमार्फत केही राहत पाइन्थ्यो कि भनेर ।’

पोखरा महानगरपालिका वडा नम्बर १४ स्थित मनकामना टोलबाट कृष्ण श्रेष्ठले गरेको टेलिफोन संवादको केही अंश हो यो । कृष्णजस्ता यस्तै सयौं पीडितहरुको पीडा अहिले रेडियो मार्फत प्रत्यक्ष प्रशारित हुँदै आएका छन् ।

गत चैत ११ गतेदेखि नेपालमा बन्दाबन्दी सुरु भएपछि दैनिक ज्याला मजदुरी गरेर जीवनयापन गर्दै आएका लाखौं व्यक्तिहरुको पीडा सुन्दै उनीहरुलाई सकेसम्म राहतको व्यवस्थापन गर्न पोखराको थ्री एन्जल्स सामुदायिक रेडियोले सुरु गरेको पहल कार्यक्रममा दैनिक ४० भन्दा बढी फोनहरु आउने गरेका छन् ।

उनीहरुको पीडा सुनेर केही मनकारी सहयोगी व्यक्तिहरुले राहत दिने वचनवद्धता समेत जनाउने गर्नुभएको छ । लकडाउनको २५ औं दिनदेखि रेडियोले सुरुआत गरेको उक्त कार्यक्रम अहिले भोकाहरुको गास जुटाउने एउटा माध्यम बनेको छ ।

हुन त अहिले विभिन्न स्थानीय तहहरुले राहत वितरण नगरेका होइनन् । यद्यपि सबैले समानरुपले प्राप्त गर्न नसकेको भनेर जनप्रतिनिधिहरुले समेत स्वीकार गरिसकेका छन् । कतिपय स्थानमा हुनेखाने वर्गले पनि राहत लिएको भनेर कुराहरु आइरहेका छन् ।

आफूमाथि परेका हरेक समस्या र त्यसको समाधानका लागि यस किसिमको रेडियो कार्यक्रमले केही राहत मिलेको स्वयं स्रोताहरुकै प्रतिक्रिया मिलेको छ ।

विपदमा रेडियोको महत्व

विक्रम संवत २००७ चैत २० गतेबाट नेपाल प्रजातन्त्र रेडियो हुँदै सुरु भएको रेडियोको नियमित प्रशारण २०५४ जेठ ५ गतेदेखि सुरु भएको हो । त्यसयता नेपालमा रेडियो खुल्ने क्रम जारी नै छ ।

हाल नेपालमा सरकारी, सामुदयिक, र निजी गरी ३ प्रकारका रेडियोहरु सञ्चालनमा छन् । र यी रेडियोहरु आवाज विहीनहरुको आवाज, आर्थिक र सामाजिक रुपान्तरणका लागि परिवर्तन र विकासका लागि योजनावद्ध प्रयास, सामाजिक जनचेतना जगाउने सामाजिक अभियान, समाज परिवर्तन र विकासको संवाहकको रुपमा नेतृत्दायी र उत्तरदायी ढंगले अघि बढीरहेका छन ।

विश्वमा सबैभन्दा धेरै मानिसको पहुँचमा पुग्न सफल सरल र भरपर्दो माध्यम रेडियोले स्रोता र समाजबीच प्रत्यक्ष जनसहभागिता, सामाजिक द्वन्द्व न्यूनीकरणका लागि योगदान पु¥याइरहेको रेडियोको महत्व अहिले कोरोनाको महामारीमा पनि उत्तिकै देखिएको छ ।

सहरदेखि गाउँसम्म सूचनाको सहज पहुँच, सामाजिक र परिवर्तनका लागि महत्वपूर्ण अभियानहरु चलाएर विभेदको अन्त्य, सीमान्तकृत समुदायमा आधारित कार्यक्रममा उत्पादन गरी समाजको सन्तुलन र मूल्यमान्यतालाई सशक्तीकरण र विविधीकरण बनाउन सामुदायिक रेडियो नै मुख्य सञ्चार साधन बनेको छ ।

इन्टरनेट, टेलिभिजन, र पत्रपत्रिकाको पहुँच नपुगेका ठाउँहरुमा पनि यसको सहज पहुँच हुने भएकाले रेडियो प्रभावकारी बनेको हो । नेपालका महामारी र विपदहरुलाई हेर्ने हो भने ती कालखण्डहरुमा रेडियोले प्रभावकारी भूमिका निभाउँदै आएको छन् ।

नेपालमा चलेको १० वर्षे द्वन्द्व, २०६२/६३ को आन्दोलन, २०७२ सालको भूकम्प र अहिले कोरोना विपदको बेला पनि रेडियोले स्रोतालाई सूचना, समाचार र मनोरन्ञजन प्रदान गरिरहेका छन् त्यो पनि बिना शुल्क ।

किनकि रेडियोबाहेक आमसञ्चारका अन्य माध्यम प्रयोग गरेवापत स्रोता, दर्शक वा पाठकले कहिँ न कहिँबाट भुक्तानी गर्नै पर्ने हुन्छ । रेडियोमात्र त्यस्तो साधन हो जसलाई खरिदवाहेक प्रयोग गरेवापत कुनै पनि शुल्क तिर्नु पर्दैन ।

विश्व्यापी महामारीको रुपमा फैलिएको कोरोना अर्थात् कोभिड १९ का कारण अहिले गरिबीको रेखामुनि रहेका धेरै नागरिकको चुलोे बल्न कठीन भइरहेको छ ।

उनीहरुले महँगो शुल्क तिरेर इन्टरनेट, सामाजिक सञ्जाल, टेलिभिजन हेर्ने क्षमता राख्दैनन् । तर सामान्य ४/५ सयको साधारण रेडियो सेटले उनीहरुको मनोरञ्जन र सूचनाको भोक मेटाइरहेको छ ।

यो कुरा यसकारण पनि यहाँ उल्लेख गरेको हुँ कि अहिले विपदको समयमा रेडियो कार्यक्रम कोरोना विपदमा गरिएको पहलमा ९५ प्रतिशत फोन कल विपन्न वर्गबाट नै प्राप्त हुने गरेको छ ।

यसरी विपद् एवं संकटको घडीमा अत्यावश्यक जानकारीदेखि राहत र उद्दारको जानकारीका लागि रेडियोमै निर्भर हुनुपर्ने अवस्था अहिलेपनि हामी सामु छ । साथै विपन्न वर्ग र दृष्टिविहीनका लागि लक्षित गरिने कुनैपनि कार्यक्रम यदि राज्यले गर्न चाहन्छ भने त्यस्ता कार्यक्रमहरुका लागि रेडियो जस्तो प्रभावकारी अरु विकल्प हुन सक्छ जस्तो लाग्दैन ।

विसं २०६२ साउन ७ गते फेवातालको स्थलगत रिपोर्ट हिमचुली एफएममा प्रशारण भएपछि रेडियोको औपचारिक यात्रा सुरु गरेयता मैले मूलकर्म नै रेडियोमा बनाएको छु । यो १४ वर्षको दौरान सामुदायिक र निजी क्षेत्रबाट सञ्चालित दुवै किसिमका रेडियोमा काम गर्न अवसर मिल्यो ।

अहिलेसम्म आइपुग्दा रेडियोमा कार्यरत जनशक्तिको सीप, क्षमता र सिर्जनशीलताले यसको प्रभावकारिता मापन गर्छ भन्नेमा म दृढ छु । पहिले ४ वटा मात्रै रेडियो रहेको पोखरामा अहिले सबै गरी ३७ वटा रेडियो पुगिसकेका छन् ।

यसरी रेडियो संख्यात्मक रुपमा बढ्दै जाने तर गुणात्मक रुपमा यसको विकास हुन नसक्दा अहिले पनि केही रेडियोहरु नामका लागि मात्र रेडियो बनिरहेका छन् । एकातिर रहरमा मात्र रेडियोमा काम गर्नेहरु समेत पछिल्लो समय घट्दै गएका छन् भने अर्कातिर रेडियोमा काम गर्न चाहनेहरुले आधारभूत सीप एवं तालिमसमेत पाउन कठिन हुने अवस्था हामीसामु विद्यमान छ ।

कुनै समय पोखराकै कतिपय सामुदायिक रेडियोमा ठूलो संख्यामा स्वयंसेवी कार्यरत थिए । तर अहिले स्वयंसेवाले मात्र चुलो बल्ने स्थिति छैन । रेडियो सञ्चालकहरुले रेडियोमा कार्यरत जनशक्तिको कठिनाइ एवं समस्या बुझ्ने र समाधान गर्ने दायित्व लिन सक्नुपर्दछ भने राज्यले पनि सञ्चालकहरुका पीर मर्का बुझ्नुपर्ने समय आएको छ ।

कतिपय रेडियोकर्मीहरु पेसाबाटै स्थापित हुने अवस्थामा पुगेका छन् । निमुख, पहुँच नभएका र विपन्न वर्गको साथमा रहने र उनीहरुको आवाज बोल्ने रेडियोहरु आफै विपन्न हुने अवस्था आउन नदिन बेलैमा राज्यले ध्यान दिनु अहिलेको आवश्यकता हो ।

तपाईको प्रतिक्रिया