इटलीबाट ल्याइयो १ वर्षपछि फल दिने स्याउका बिरुवा

एसके थकाली
जोमसोम, ८ जेठ
स्याउ उत्पादनले महत्वपूर्ण मानिएको हिमाली जिल्ला मुस्ताङमा बुधबार ४ वटा ट्रकमा उच्च घनत्वको स्याउका १० हजार बेर्ना ल्याइएको छ । २ महिनाअघि मुस्ताङका किसानलाई वितरण गर्नुपर्ने बताइए पनि विश्वव्यापी माहामारी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले सिर्जित लामो समयको डाउनका कारण ढिलो गरी जिल्ला भित्रिएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई (स्याउ जोन मुस्ताङ) ले जिल्लाका किसानको मागलाई सम्बोधन गर्दै ४ जातका कलमी स्याउका बेर्ना उपलब्ध गराएको हो । स्याउ जोन मुस्ताङले इटालेली स्याउका बेर्ना ल्याउन मनाङको एग्रो मनाङ प्राइभेट कम्पनीसँग सम्झौता गरेको थियो । छिटो हुर्कने र छिटै फल दिने भएकाले यो स्याउलाई अंग्रेजीमा हाइडेन्सिटी अर्थात उच्च घनत्वको स्याउ भनिन्छ ।
स्थानीय बेर्नालाई ७० रुपैयाँ पर्थ्याे, इटालेलीको भने ११ सय ५० रुपैयाँ पर्छ
स्याउ जोन र एग्रो मनाङको समन्वयमा इटलीदेखि भारतको कोलकत्तार हुँदै स्याउका बेर्ना मुस्ताङ ल्याई पुर्याइएको परियोजना कार्यान्वयन इकाई स्याउ जोन मुस्ताङले जनाएको छ । जोनका अनुसार मुस्ताङ ल्याइएका स्याउ बेर्नाहरुमा गोल्डेन डेलिसियस, रेड डेलिसियस, फुजी र गावा जातका छन् ।
स्याउ किसानले बगैंचा व्यवस्थापन गर्न स्याउ जोनको ५० प्रतिशत अनुदान र किसानको ५० प्रतिनिधि लगानी रहने गरी बेर्ना झिकाइएको स्याउ जोन मुस्ताङका प्रमुख माधव लम्सालले जानकारी दिए । स्थानीय जातका स्याउ बेर्नाभन्दा यी बेर्नालाई १०औं गुणा महँगो पर्छ ।
ढुवानीका कारण महँगो पर्ने देखिए पनि यसको उत्पादनले किसानलाई बर्सेनि राहतको महसुस गराउने जोन प्रमुख लम्सालले बताए । मुस्ताङमा स्थानीय स्याउको एउटा बेर्नाको मूल्य ७० रुपैयाँ पर्छ । इटालीबाट ल्याइएको स्याउ बेर्नाको मूल्य १ हजार १ सय ५० रुपैयाँ पर्छ ।
स्याउ जोनले झिकाएको स्याउ बेर्ना बुधबार नै किसान समूहलाई वितरण भएको छ । स्याउ जोन कार्यालयमा सूचीकृत भएका ४ वटा स्थानीय तहका किसान समूहलाई बेर्ना वितरण गरेको हो । जसअनुसार लोघेकर दामोदरकुण्डमा ३ हजार बेर्ना, बारागुङ मुक्तिक्षेत्रमा १ हजार २ सय ६० बेर्ना, घरपझोङमा १ हजार ६ सय ३० बेर्ना र थासाङ गाउँपालिकामा १ हजार ८ सय ६० बेर्ना वितरण गरिएको स्याउ जोन मुस्ताङले जनाएको छ ।
स्थानीय जातका स्याउ बेर्नाको बगैंचा व्यवस्थापन गरेको दसौं वर्षपछि फल दिने र त्यसको तुलनामा इटालीबाट झिकाइएको स्याउ बेर्नाको बगैंचा व्यवस्थापन गरेको दोस्रो वर्षमै फल दिने भएकाले जिल्लाका किसानमा यसको माग बढेको स्याउ जोन मुस्ताङका प्रमुख लम्सालले उल्लेख गरे ।
परम्परागत स्याउ खेतीभन्दा निकै छिटो र छरितो रुपमा फल दिनसक्ने उच्च घनत्वको स्याउ उत्पादनले किसानलाई व्यावसायिक लाभ दिने उनले बताए । बेर्ना खरिददेखि स्याउ बगैंचा व्यवस्थापनमा सुरुआती खर्च देखिए पनि यसको उत्पादनले कृषि लाभान्वित हुने जोन प्रमुख लम्सालको भनाइ छ ।
स्याउ जोनका अनुसार १ उच्च घनत्वको स्याउ बेर्नाले औसत २० केजीदेखि २५ केजीसम्म उत्पादन दिन्छ । उच्च घनत्वको बेर्ना लगाइएकोे २५ वर्षसम्म बर्सेनि उत्पादन दिने सामथ्र्य राख्छ । १ हेक्टरमा लगाइएको बेर्नाले बर्सेनि ४० टनसम्म स्याउ फलाउँछ ।
१ हेक्टरमा ३ हजार बेर्ना रोप्न सकिने उच्च घनत्वको स्याउको यसपटक झिकाइएको बेर्नाले ४ हेक्टर जमिन ओगट्ने जोनले बतायो । यस प्रकार बेर्नालाई अड्याउन र पछि फल धान्न सक्ने गरी थाँक्रा राखिन्छ । उच्च घनत्वको स्याउ खेती मनाङको एग्रो कम्पनीले ५ वर्षअघि सुरु गरेको थियो । मुस्ताङमा केही व्यक्तिले सुरु गरेका थिए । मनाङ र जिल्लामा यसको परीक्षण राम्रो देखिएपछि माग बढेको हो ।
यसपटक जिल्लाका किसानलाई उच्च घनत्वको स्याउ खेतीतर्फ आकर्षित गराउन सरकारी तवरबाट पहल भएको जोन प्रमुख लम्सालले बताए । मुस्ताङमा करिब १४ सय हेक्टरमा स्याउ खेती गरिएको छ । ५ सय हेक्टरमा लगाइएको स्याउ बोटले उत्पादन दिने गरेको छ । चालु वर्ष मुस्ताङमा ६५ सय टन स्याउ उत्पादन भएको थियो ।
तपाईको प्रतिक्रिया