भीडको आडमा पालिकाको आतंक – सम्पादकीय

कोरोना संक्रमणले विश्वलाई आक्रान्त बनाएका बेला नेपालका स्थानीय तहहरुले उदाहरणीय काम गरेका छन् । गाउँपालिकामा क्वारेन्टाइन गर्नेदेखि लिएर अन्य व्यवस्थापनामा कतिपय गाउँपालिकाले गरेका निर्णय अनुकरणीय पनि छन् । संघ र प्रदेश सरकारले गरेका निर्णय कार्यान्वयन गर्ने भनेकै पालिकाहरुले हो । पालिकाहरु नै नागरिकसँग प्रत्यक्ष जोडिएका हुन्छन् । पालिका आफै कानुन, कार्यविधि बनाएर कार्यान्वयन गर्न सक्छन् । तर त्यसका पनि सिमित दायरा छन् ।
तनहुँको शुक्लागण्डकी नगरपालिकाले स्थानीय व्यवसायीबाट तरकारी र फलफूल नियन्त्रणमा लिएर कार्यालय परिसरमै खाल्डो खनेर गाडेपछि यसको चौतर्फी विरोध भएको छ । बहस सुुरु भएको छ कि के नगरपालिकासँग यो अधिकार छ ? अनि कुन कानुनलाई टेकेर यो कारवाही गरियो ? कसैले गल्ती गर्छ भने उसलाई सबैभन्दा पहिला सचेत गराउनुपर्छ, सच्चिने अवसर प्रदान गर्नुपर्छ । एकैपटक ठूलै कारवाही गरेर बहादुरी देखाउनुपर्छ भन्ने छैन ।
शुक्लागण्डकी नगरपालिकाले गरेको यो कारवाही प्रक्रिया पक्कै पनि पाको छैन । अधिकारसम्पन्न भन्दैमा स्थानीय तहले जेसुकै पनि गर्न पाउँदैन । उसका पनि सिमित दायरा हुन्छन् ।
स्थानीय तहलाई अनुगमन र कारवाही गर्ने जिम्मा पक्कै छ । पालिकाका उपाध्यक्ष तथा उपमेयरले अनुगमनको जिम्मा पाएका हुन्छन्। अनुगमनका लागि संघीय र प्रादेशिक कानुनसँग नबाझिने गरी पालिकाले कानुन बनाउन पाउँछ । शुक्लागण्डकीमा कानुनका आधारमा भन्दा पनि भीडबाट निर्देशित भएर कारवाही गरेको देखिएको छ । जुन कुरा पालिकाका प्रवक्ता खीमबहादुर कुमालले प्रष्टै पारेका छन् ।
तरकारी र फलफूल नियन्त्रणमा लिएपछि नगद कारवाही गरेर छाड्नुपर्ने सोच बनाइरहँदा भीडले नष्ट गर्नै पर्छ भन्ने दबाब दियो । त्यही अनुसार खाल्डो खनेर फलफूल गाडियो । आखिर फलफूल र तरकारीकै दोष थियो त ? पहिलो त नगरपालिकाले जारी गरेको सूचनामा तरकारी पसललाई अत्यावश्यक सूचीमा राखिएकै छैन ।
यसभन्दा अगाडि व्यास नगरपालिकाले पनि जिल्ला बाहिरको तरकारी नल्याउने निर्णयबाट पछि हटेको थियो । पछि आएर फेरि शुक्लागण्डकीले बाहिरको तरकारी र फलफूलमाथि प्रतिबन्धमात्र लगाएन पसल नै खोल्न निषेध गर्यो । के शुक्लागण्डकी तरकारीमा आत्मनिर्भर हो त ? अथवा तनहुँको मात्रै तरकारीले उसलाई पुग्छ त ? कि जोडिएका लमजुङ, स्याङ्जा, गोरखा वा कास्कीबाट ल्याएको तरकारी संक्रमित हुँदा तनहुँको मात्रै स्वच्छ हुन्छ त ?
व्यवसाय र व्यवसायीको संरक्षण गर्नु पालिकाको पनि दायित्व हो । तर यहाँ संरक्षणको त कुरै छाडौं, भीडको दबाबमा व्यवसायीलाई आतंकित बनाउने बनाउने काम भएको छ । यस्तो अवस्था तत्काल बन्द गरिनुपर्छ ।
भारतीय बजारबाटै ल्याएको सही, भन्सारबाट भित्रिने बेलामा प्रक्रिया पु¥याएरै आएको हुन्छ । अनि नेपाल विश्व व्यापार संगठनको सदस्य राष्ट्र पनि हो । त्यसैले आयात नै गर्दिन भन्ने कुरा पनि हुँदैन । सामान नेपाल भित्र्याउने बेलामा भन्सार बिन्दुमै परीक्षण गरिनुपर्नेमा बजारमा आइसकेपछि व्यवसायीलाई मार पार्ने गरी नष्ट गर्नु नियमसंगत नै होइन ।
अझ जिल्ला प्रशासन कार्यालयको प्रतिनिधिको उपस्थितिबिना यो काम भएको छ । तरकारी जफत गर्दा व्यवसायीको रोहबरमा मुचुल्का पनि गराइएको छैन । अनुगमन टोलीले कुनै व्यावसायिक संस्थामा अनुगमन गरी कारवाही प्रक्रिया अगाडि बढाउँदा उपभोक्ता ऐन अनुसार मुचुल्का बनाउनुपर्छ । तर नगरपालिकाले यो प्रक्रिया अपनाएकै छैन ।
नगरवासीको स्वास्थ्यका बारेमा पालिकाले चासो देखाउनु पक्कै सकारात्मक पक्ष हो । तर अधिकारका नाममा व्यवसायीलाई आतंकित पार्नु पनि त भएन नि ।
व्यवसाय र व्यवसायीको संरक्षण गर्नु पालिकाको पनि दायित्व हो । तर यहाँ संरक्षणको त कुरै छाडौं, भीडको दबाबमा व्यवसायीलाई आतंकित बनाउने बनाउने काम भएको छ । यस्तो अवस्था तत्काल बन्द गरिनुपर्छ ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया