जब उठ्ने छन् निदाएका डम्मरुहरु अनि भाग्नेछन् स्यालहरु

समाधान संवाददाता २०७७ जेठ ९ गते ६:२२

विष्णु गौतम

‘म बाघको बच्चा डमरु हुँ, सिनो खाने कुकुर हैन’ यो भनाइ तत्कालीन बडाकाजी जर्नेल अमरसिंह थापाको हो । सन् १८१४ देखि १८१६ सम्म चलेको नेपाल–अंग्रेज युद्ध, एङ्लो–नेपाल युद्धका बेला आफ्नो हार स्वीकार्न नसकि अमरसिंह थापालाई अंग्र्रेजतर्फका जनरल अक्टरलोनीले ठूलो प्रलोभन देखाउदा ज्यूँदो बाघ अमरसिंहले भनेको भनाइ हो ।

हो आज पनि हामी उनैको उत्तराधिकारीका रुपमा रहेका छौं अनि नेपाली हुनुमा गर्व गरेका छौं । तर हामीले बिर्सदै गएका छौं कि हामी साच्चिकै बाघ हौं । तर विडम्बना अहिले हामी सानो हड्डीका लागि कुकुर झैं आपसमा लडेका छौं ।


हार्नै नजानेका वीर नेपाली हामी आज हाम्रै आँखा अगाडि नेपालीको छातीमा भारतीय रेल कुद्दा टुलुटुलु हेर्नु पर्ने अवस्था आउनु कुनै नेपालीले सोच्नै नसक्ने कुरा हो ।

नेपालको पश्चिमतिरको सीमामा तत्कालीन इस्टइन्डिया कम्पनी र अहिलेको भारतले पनि निकै आँखा गाडेको स्थान हो । भारतीय राजधानी दिल्लीबाट चाइना जोड्ने सबैभन्दा छोटो दुरीको बाटो भएकाले पनि होला इतिहासबाटै नेपालको पश्चिमी भूूभागमा नांगो हस्तक्षेप हुने गरेको । त्यति बेला त हाम्रो जिउँदा बाघहरु थिए अनि देश बचाए, बचाए मात्रै होइन बैरीको जमिनमा पनि नेपाली रंक्तरंजित झन्डा फहराए ।

स्कुले जीवनमा बिहान १० बजेको प्रार्थनाका बेला हामीले वीरताका गीत गायौं । सायद त्यति बेलादेखि नै होला हामीमा भरिएको राष्ट्रवाद । म सम्झन्छु त्यतिबेला नाकमा भरिएको सिँगान माथि तान्दै, एक हातले कट्टु समाउदै ‘पश्चिम किल्ला काँगडा पूर्वमा तिष्टा पुुगेथ्यौं…….’ भन्दै वीरताको गीत गायौं । हार्नै नजानेका वीर नेपाली हामी आज हाम्रै आँखा अगाडि नेपालीको छातीमा भारतीय रेल कुद्दा टुलुटुलु हेर्नु पर्ने अवस्था आउनु कुनै नेपालीले सोच्नै नसक्ने कुरा हो ।

नालापानीको युद्ध पश्चात् नेपालीहरूको पराक्रम र बहादुरीको प्रशंसा गर्दै अंग्रेजहरूले एक युद्ध स्मारकको स्थापना गरे । उक्त स्मारकको शिलालेखमा लेखिएको छ, ‘हाम्रा वीर शत्रु ।’ तत्कालीन युद्ध कमान्डर बलभद्र र उनका वीर गोर्खालीहरूको स्मृतिमा भारतको देहरादुनस्थित सहस्त्रधार रोडमा पर्ने स्मारक भारतीय पुरात्व विभागको संरक्षणमा छ । यो विश्वभरिको एक मात्र त्यस्तो उदाहरणीय स्मारक मानिएको छ जहाँ कुनै सेनाद्वारा आफ्नो शत्रु सेनाको अद्भूत वीरतालाई उल्लेख गरिएको छ ।


सुुगौली सन्धिबाटै नेपाल र भारतको बीचमा सिमाना विवाद हुँदै आएको छ । सुुगौली सन्धि भएको ४४ वर्षपछि यस्तो मोड आयो कि इस्टइन्डिया कम्पनीले पहिले हस्तक्षेप गरेर आफूतिर गाभेको केही भूमि उपहारस्वरुप फिर्ता गर्न बाध्य हुनुप¥यो । जंगबहादुर राणाले अंग्रेजलाई खुसी पारेर बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता लिने क्रममा खम्बा नगाडी लिन्न भने । त्यसबेला जंगबहादुरको अड्डीबाट गाडिएका खम्बाहरूलाई पछि जंगे खम्बा भनियो । जसलाई हामी आज पनि जंगे पिल्लरका नामले नेपाल र भारतको सीमाका रुपमा लिने गरेका छौं ।


जब प्रजातन्त्र आयो त्यसपछि त विभिन्न चरणमा भारत हामी बीचमा खेलिरह्यो । हामीले पनि उसलाई असल छिमेकीको चस्माले मात्रै हेर्‍यौं ।

भारतले नेपाललाई गर्ने हेपाहा प्रवृत्ति र नेपालको आन्तरिक राजनीतिक द्वन्द्वले गर्दा राणकालदेखि नै नेपाली जमिन जोखिममा पर्दै आएको हो ।
१८६० मा भारतले नेपालको भूभाग मिच्न सुरु गरेपछि मात्रै सन् १८८० देखि सीमा पिल्लर गाड्ने काम सुरु भएको हो । सुगौली सन्धिलगत्तै सीमामा लठ्ठा गाड्ने काम र नक्सा बनाउने काम गरेका हुन् । अंग्रेजको पालामा जंगेपिल्लर ५ माइलको दूरीमा गाडिएका थिए । ५ माइलको बीचको भागमा बांगोटिंगो हुन गई नेपालको भूमि भारततिर पर्ने र भारतको भूमि नेपालतिर पर्ने भएकाले सन् १८८० मा जंगे पिल्लरको बीचमा सहायक पिल्लर गाड्ने र सीमा व्यवस्थापन गर्ने काम गरिएको थियो ।

पूर्व मेचीको पशुुपति नगरदेखि पश्चिमको कालापानी, लिम्पियाधुरा, सुस्ता लगायतका ५४ वटा क्षेत्रहरू छन् जसमा अहिले पनि दैनिक रुपमा सीमा विवाद हुने गरेको छ । तत्कालीन समयमा पिल्लर गाड्ने काम गरिँदा नेपालको सही नक्सा नबनाउनु नै हाम्रो नेतृत्वको अक्षम्य कमजोरी हो ।

जब प्रजातन्त्र आयो त्यसपछि त विभिन्न चरणमा भारत हामी बीचमा खेलिरह्यो । हामीले पनि उसलाई असल छिमेकीको चस्माले मात्रै हेर्‍यौं । कहिल्यै हेरेनौं कि भारतले नेपालको हित चाहँदैन । यो हाम्रो नेतृत्वले गरेको अर्को गल्ती हो ।

यो कुरालाई विक्रम संवत् २०२६ मा पहिलोपल्ट प्रधानमन्त्री भएका बेला कीर्तिनिधि विष्टले केशी मात्रामा बुुझेका थिए त्यसैले त्यतिबेला नेपालको उत्तरी सीमाबाट भारतीय सुरक्षा चेक पोस्ट हटाए ।


भारतीय सुरक्षा चेक पोस्ट हटाइ नेपाललाई भारतीय सैनिक नियन्त्रणबाट मुक्त पारेको इतिहास यतिबेला स्मरण गर्दै गर्दा कालापानीे, लिम्पियाधुुरा लिपुलेकले मन दुखाउनु स्वाभाविकै होला । किनभने आज पनि ती स्थानमा भारतीय सेना तैनाथ छन् । नेपालीहरुलाई आफ्नै भूमिमा जान प्रतिवन्ध छ । त्यहाँ बनेका भारतीय सुरक्षाकर्मीका ब्यारेकहरु अहिलेको राष्ट्रवादले हटाउन सक्ला त ?


तत्कालीन प्रधानमन्त्री विष्टपछि कुनै पनि सरकारले भारतसँग सिमानाको कुरा चुनावी नाराबाहेक अरू बेला उठाएको देखिएन । संविधान जारी गर्दा भारतले लगाएको नाकाबन्दीको विरोध गर्दा प्रधानमन्त्री ओली राष्ट्रवादी कहलिए र हाल सरकार प्रमुख भएर रहेका छन् । पछिल्लो समयमा नेपाली भूमीमा भारतीय रेल कुद्ने गरी चीनसँगको छोटो बाटो तय गर्दै लिपुलेकमा सडक वनाएको छ त्यो कुनै पनि राष्ट्रवादी नेपालीको लागि सह्य हुनै सक्दैन ।


कुरा मनिषा कोइरालाको होइन । सबै नेपालीको हो अनि स्वाभिमान र अखण्ड राष्ट्रवादको हो । त्यसैले उनको ट्वीटलाई भारतीय केही मिडियाहरुले नकारात्मक रुपले उठाउनुको कुनै तुक नै हुँदैन । ती मिडिया र सञ्चालकहरु पटक पटक सामाजिक वहिस्कारमा पनि पर्ने गरेका छन् । खासमा ती मिडियाहरु जनताका लागि सञ्चालित नै होइनन् उनीहरु त भारतमै पनि गोदी मिडियाको नामले प्रचलित छन् उनीहरुको काम नरेन्द्र मोदीको भजन गाउनु मात्रै हो ।

त्यसैले उनीहरुको भारतमै पनि कुनै हैसियत नभएको अवस्थामा मनिषा कोइरालाका बारेमा गरिएको टीका टिप्पणीले नेपालको सीमामा भारतीय हस्तक्षेपको कुरा बलिउडमा समेत प्रवेश गरेको छ । जसको माध्यमवाट बलिउडका हस्तीहरुले पनि यो भारतीय अपराधको खुलेर विरोध गर्लान् किन भने उनीहरु संसारकै आइडल पर्सन हुन् । त्यसैले त हामी पनि उनीहरुको फिल्म हर्ने गरेका छौं । सुरुआत मनिषाले गरिन् अब अमिताभ र गोविन्दा अनि सलमान र साहरुखको पनि आउला ।


हामी बीचको खिचातानीले गर्दा हामी हाम्रो बाघको गुण नै बिर्सेका छौं र कुकुर झैं कुर्चीका लागि एका आपसमा लड्दा स्यालहरुले धावा बोलेका हुन् । अब बाघको छालामा स्यालको रजाइँ हुन दिनु हुँदैन ।

जनदबाबमा होला वा राष्ट्रवाद उम्लिएको होला जे होस् सरकारले अतिक्रमित भूमि समेटर नेपालको नया नक्सा सार्वजनिक गरेको छ । यो अति नै राम्रो कुरा हो तर पनि सरकारका लागि यहि विषय भालुको कम्पट जस्तो नहोस् । अतिक्रमित भूमि फिर्ता गर्ने दिशामा सरकार अगाडि वढोस् यो विषयमा प्रतिपक्ष र सत्ता पक्ष पनि हुँदैन होला । नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले पनि गोेदी मिडियालाई प्रस्ट भनेका छन्– ‘हामी प्रतिपक्ष जरुर हौं तर राष्ट्रियताको कुरामा हामी सबै प्रधानमन्त्रीको पक्षमा छौं ।’ सायद गोदी मिडियाको यो अन्तर्वार्ता भारतीय प्रधानमन्त्री मोदीले पनि हेरेका होलान् । त्यसैले यो राष्ट्रवादको आन्दोलन कुनै पनि हालतमा नेपाली राजनीतिक दलहरुको चुनावी एजेन्डा नबनोस् । देश रहे पो हामी रहन्छौं । त्यसैले अब हामी गर्जने बेला आएका छ ।

हामी बीचको खिचातानीले गर्दा हामी हाम्रो बाघको गुण नै बिर्सेका छौं र कुकुर झैं कुर्चीका लागि एका आपसमा लड्दा स्यालहरुले धावा बोलेका हुन् । अब बाघको छालामा स्यालको रजाइँ हुन दिनु हुँदैन । त्यसैले अब निदाएका हामी सबै बाघका डम्मरुहरु उठ्नुपर्ने भएको छ । अनि प्रमाणित गर्नु पर्ने छ । हामी निदाएका मात्रै हौं तर निदाएको बाघलाई मरेको सम्झेर धावा बोल्ने अस्तिका पुच्चेहरुको गर्धनमा झाप्पु हान्नु पर्ने छ ।

तपाईको प्रतिक्रिया