वर्तमान परिवेश र जीवन अनुभूति

समाधान संवाददाता २०७७ जेठ ९ गते १२:२८

डिलकुमारी पौडेल

समय बितिरहेको छ सदाबहार नदीसरी । तर थाहा छैन जीवनको यात्रा कहाँसम्म पुगेर टुंगिन्छ । सफल र विफल अनुभवका यात्रासरी जीवनका पलहरु अगाडि बढिरहेका छन् अनन्तकाल ।कति सम्झन लायक छन त कति सम्झँदा पनि मन दुख्ने गरी चसक्क पार्ने खालका छन् ।

जीवनका उकाली ओराली गर्दागर्दै जति बाटो पार गरियो त्यसलाई सफल मान्नु पर्छ ताकि अकालमा मृत्युले झुक्याउन सकेको छैन । जीवनका पलहरु ओझेल पर्दै जाँदा स्वाभाविक रुपमा अप्ठ्यारा घडीहरु नै बढी यादगार हुँदा रहेछन् र तिनै सम्झनाले बेला बेलामा चस्काइरहन्छ । यस्ता पलहरु केही नितान्त व्यक्तिगत, केही सामाजिक र केही विश्वव्यापी हुने गर्दछन् ।

Advertisement

वर्तमान परिवेशेमा भएको यो भाइरस महामारी जुन यस्तो लाग्दै छ कि यो कुनै भगवानको शत्रुले छल गरेर पृथ्वीमा आएर मानवलाई तहसनहस बनाउन खोजिरहेको छ लाग्छ कुनै टेलिसिरियल तथा सिनेमामा केही समय खल पात्रले उदण्ड मच्चाए झैं गरी उथलपुथल पारिरहेका छ र अन्तिममा असल पात्र वा नायक नायिकाको नै विजय हासिल हुनेछ । तर यो महामारी एकैनास यसै गरी मानव विनाश गर्दै जीवितलाई भयभित बनाउँदै बाँच्न बाध्य बनाउने हो कि ?

हिजो भन्ने गरेको सुनिन्थ्यो पनि भोलि कुुनै दिन कलियुग समाप्ति हुनेछ र फेरि पृथ्वी पहिलाको स्थितिमा आउनेछ भनेर ।के यी सुनेका कुराले यथार्थता पाउने हो त ? भाौतिकता र सांसरिक मोहमा रमाइरहेको मानिस आज मनोरोगीजस्तो हुनपर्ने अवस्था देखिन्छ ।

Advertisement

भनिन्छ नि रोग,व्याध अनि विपत्ति बाजा बजाएर आउँदैन भनेर । के यो कोरोना भाइरस सांसरिक मोह तोड्न आएकै हो त ? कतिलाई परिवार विहीन बनाइसक्यो, कतिलाई एम्बुस थापिरहेको छ र कतिलाई आफ्नो फाइलमा नाम टिपेर राखिसकेको छ ।

के यो सारा मानिसका सपना अनि फक्रँदो जीवन अनि संगालिएका आशा भरोषाको भविष्य चकनाचर हुने नै हो त ? प्रश्नै प्रश्नले मनभित्र उत्तर खोजिरहेको छ । लाग्छ यी दिनहरु केही समयका लागि पाहुनासरी बन्नेछन् ।

कसैलाई उडुस उपियाँ बनेर चुसिसकेको छ, कसैलाई सताएको छ त कसैलाई तर्साइरहेको छ ।जे होस यो महामारीले सबैको मनोबल घटाएको छ र मानसपटलको ऊर्जालाई क्षय गरेको छ ।संसार रच्ने र दिवा सपना देख्ने यी प्यासी मन र आँखालाई रित्तो बनाएको आभाष हुन्छ ।

भविष्यका दक्ष जनशक्ति तथा कर्णधार हुन लायक फक्रँदै गरेका कोपिलाहरुलाई डम्म वादलले ढाकेर दिउँसै रुमलिरहेको छ । एउटा अबोध बालकले पनि आफ्नो बाल्यकालका तोते बोली फुटाउन नपाउँदै मानसको जन्म र मृत्युको बारेमा सोधिरहेको छ अनि जीवनको सुरुआतको घडीमा जीवनको अन्त्यको कारण खोजिरहेको छ ।

आज अलौकिक शक्तिको परीक्षण फेल भएको छ । पूर्ण विकसित विज्ञान प्रविधि भर्खर वामे सर्दै हो किजस्तो भ्रम भइराखेको छ ताकि यो विपत्ति र महामारीको बेगलाई थाम्न नसक्दा ।अस्वस्थ रुपमा हँुदै आएको प्रतिस्पर्धा आज केबल जीवन रक्षाका लागि मात्र लडिरहेको भान हुन्छ ।

तेरो मेरो भन्नेले आज हामी शब्द बोलिरहेको छ । यस्तै एकल परिवारमा रमाइरहेको मानिस पुख्र्यौली घर परिवार सम्झन थालेको छ ।आधुनिकतालाई पछ्याउने मानिसहरु आज आफ्ना विगतलाई फर्केर सोच्न बाध्य बनेको छ । लाग्छ अब नयाँ दिनभन्दा पराना दिन नै प्यारा छन् ।

त्यस्तै आधुनिकतामा रमाइरहेको एक्काइसौ‌ं शताब्दीका नवपुस्ताका युवायुवती उही पुराना साथीहरु फूलमाया,कान्छी,भुन्टी,काले,नन्देलाई सम्झन थालेका छन् ।यी सम्झनाको कारण नै त्यही थियो विपत्ति ।आखिर यो प्रमाणित हन्छ कि मानिसले मानवरुपी व्यवहार र सम्झना मात्र दुःख र विपत्तिमा गर्दछ कि भनेर ?

यसैगरि धेरै धनराशि जम्मा गरेर विश्व रेर्कड तोड्न चाहने परोपकारी बनेर उदाहरणीय बनेका छन् । हिजो अजम्मरीजस्तै व्यवहार गर्ने मानिस आज आफूलाई पृथ्वीमा केही दिनको पाहुना सम्झिरहेका छन् । आखिर विपत्ति र आपत्तिका लागि युद्धमात्र काफी रहेनछ भन्नेकुरा सबैलाई अुनभूति भएको छ ।

आफ्नै संसारमा रमाइरहेका मानिस अब इष्टमित्र, साथीभाइ, छरछिमेक अनि आफ्नै पाखा पखेरो सम्झन थालेका छन् । मृत्यु शथ्यामा रहेका बेला पनि आफन्तसँग चुमेर रुनसम्म नपाउँदा लाग्छ मात्र अब सिँगो शरीर जोगाउन पर्ने स्वार्थी वाध्यता अनि विवशता ।

मृत्य संस्कार नपाउँदा ती मृत लासहरु छाडा छाडिएका पशुका लासहरु सरह बनेका छन् । यी दृश्यले मानसपटलमा नमेटिने गहिरो छाप बसेको छ कहिले नमेटिने गरी । सांसरिक करुणा सुनेर नि नसुने झैं गरेर बुझ पचाएर हिँडन परेको छ ।

नदेखिने मनको घाउलाई टाल्न परेको छ । थाहा छैन मानवको कति दिनको आयु भनेर प्रकृतिले नै लुकाइराखेको छ भगवानले परीक्षा लिए झैं गरी । मानव भित्रभित्रै पीडा सल्केको छ । कतै ज्वारभाटा दन्किरहेको छ त सल्किन लागिरहेको र कतै निभाउने प्रयास प्रयास भइरहेको छ ।

प्रकृतिले विज्ञानलाई गिज्याइरहेको छ कि ‘ओइ विज्ञान निकै ताजुब देखाउथिस् त ? के नापिस्?’ यसरी नै आज चकमन्न परिवेश देखिएको छ ।सधैं तरवार र हतियारले जित्न खोज्ने यो वैज्ञानिक युगको मानव निर्जिव वस्तुसरी फोस्रो आडम्मर लुकाइ झुकिरहेको छ ।

मृत्युका अगाडि घुँडा टेकिरहेको छ अवाक हुँदै ।आफ्ना इष्ट देवता अनि पितृहरुको आर्शीवाद मागिरहेको छ ।पूरा आय देऊ भगवान भनेर भगवानसँग भिख मागिरहेको छ ।कीरा,फट्याँग्रादेखि ज‌ंगली जनावर नभनिकन सबै प्राणीको रगत चुसेर रमाइ आफूलाई सर्वश्रेष्ठ ठान्ने मानिस फेरि सोच्न बाध्य बनेको छ ।

यो महामारीसँगै नियन्त्रणको उपायका लागि लगभग विश्वभरि गरिएको यो घरबाहिर निस्कन बन्देज गरिएको अभियान पालना गर्न हम्मेहम्मे परेको छ । एकातिर महामारीको डर अर्कातिर भोकमरीको हाहाकार । अनि कैदी जीवनसरी जीवनयापन त्यहींमाथि त्रसित जीवनशैली कहालीलाग्दो बनिरहेको छ ।

आफन्त भएर पनि नभएको आभाष फेरि कोही आफन्त आउँदा खुसीले प्रफुल्ल हुने मन अहिले भेट्दा मलिन देखिन थालेको छ ताकि त्यही काल भाइरस बोकेर ल्याएका त छैनन् भनेर । चार कोशबाट चिच्याएर बोलाउन मन लाग्ने साथीभाइलाई ठोक्किँदा पनि भाग्न पर्ने अवस्था आएको छ ।

पूरै शरीर र मुख छोपेर हिँडेका मानिस देख्दा कतै भूत पिचाश त हैनन ?भनिन्छ नि बाँच्दै गर्नुपर्छ के के सुन्नदेख्न र अनुभव गर्न पाइन्छ भनेर ।यस्तै लागिरहेछ आजको परिवेश ।पल्ला घरको परिवारले वल्ला घर र वल्ला घरको परिवारले पल्ला घरको परिवार देख्दा डर भएर मुन्टो बटारेर हिँड्न पर्ने वाध्यता बनेको छ ।

आपत् परेका बेलामा सहयोग त परै जाओस् छुनसम्म नहुने परिस्थिति सिर्जना भएको छ ।असह्य पीडा हुँदा अस्पताल जान डर,गए उल्टै अर्काे रोग ल्याउने डर ।उफ,कस्तो समय आयो मान्छे देख्दै बाघ भालु देखे जस्तो हुने ।

जन्मन नपाउँदै मेरो छोरा छोरीलाई डाक्टर बनाउँछु भनेर सपना देख्ने बाबाआमा तथा डाक्टर बनेर ठूलो मान्छे भएर देशको सेवा गर्ने सपना पनि बीचमा रोकिन पर्ने र आफनो लक्ष्यलाई फेरि मोड्न परेको छ ।जहाँ आफ्नै जीवनको निश्चित छैन त त्याहा कसरी भविश्य देख्नु र जीवनका सपना बुन्न ?

विकसित मुलकमा रहर या बाध्यताले दिवा सपना बोकेर वैदेशिक रोजगारमा गएका नेपालीहरुलाई स्वदेशको मोह बढ्न थालेका छ । विदेशमा पैसा,ऐश र आरामदायी जीवन भएता पनि माया र सुरक्षाको अभाव खड्किरहेको छ ।त्यसैले खोले पिठो खाएर भए पनि आफ्नै देशमा बस्ने मन छ ।

अब लाग्छ नेपाल आमाले पनि यसरी बोलाइरहेकी छन् कि स्वस्थ जीवन जीउन, स्वस्थ हावा खान,स्वाभिमानी भएर बाँच्न स्वदेश फर्क भनेर अनि फेरि पनि भनिरहन बाध्य छन् कि तिमीलाई तिम्रा बुढाबाबा आमाले बाटो कुरेर पर्खिरहेका छन् ।

रित्ता कोठाले तिमी आउने ढोकामाकुरिहेका छन् र बाँझा गराहरुले बोलाएका छन् भनेर । यसैगरि बाँझा जमिनमा चुहाएको पसिनाले तिमीलाई तिमीलाई स्वस्थ र दीर्घजीवी बनाउनेछ अनि तिमी असली नेपाली सन्तान हुनेछौं ।

तपाईको प्रतिक्रिया