मुस्ताङको थासाङमा कडा लकडाउन

समाधान संवाददाता २०७७ जेठ ९ गते १३:१५

एसके थकाली, जोमसोम

Advertisement

हिमाली जिल्ला मुस्ताङको तल्लोक्षेत्रमा अवस्थित थासाङ गाउँपालिकाले बुधबारदेखि अनिश्चितकालीन डबल लकडाउनको घोषणा गरेको छ ।
पालिका अध्यक्ष बुद्धिप्रसाद शेरचनद्वारा हस्ताक्षरित बुधबार जारी प्रेस विज्ञप्तिमा गाउँपालिकाभित्र सञ्चालन हुने स्वास्थ्य सेवाबाहेक सबै कामकाज बन्द गर्ने निर्णय गरेको जनाइएको छ ।

पालिकाले घोषणा गरेको डबल लकडाउनसँगै गाउँपालिका कार्यालय, पालिका अन्र्तगतका कार्यालय र पालिकाभित्र सञ्चालित अन्य कार्यालय अर्को सूचना जारी नभएसम्म पूर्णरुपमा बन्द गर्ने निर्देशन जारी भएको प्रमुख प्रशासकीय अधिकृत सन्तोषकुमार खत्रीले जानकारी दिए ।

Advertisement

उनका अनुसार बैंक तथा वित्तीय संस्था बन्द हुने तर आपत्कालीन सेवाका लागि काम गर्न सक्ने स्पष्ट पारेको छ । पालिकाले गरेको डबल लकडाउनमा पालिकामा रहेका स्वास्थ्य संस्थाले सञ्चालन गर्ने स्वास्थ्य सेवा यथावत रुपमा हुने प्रशासकीय अधिकृत खत्रीले उल्लेख गरे ।

विश्वव्यापी महामारीको रुपमा सिर्जित नोबेल कोरोना भाइरसका (कोभिड–१९) कारण पछिल्लो समय संक्रमितको संख्या दिनहुँ बृद्धि हुँदै गएको र २ जनाको ज्यान समेत गएकाले कोरोनाको सम्भावित जोखम न्यूनीकरण गर्न पालिका सचेत रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Advertisement

विज्ञप्तिमा मुस्ताङमा हालसम्म कोरोना संक्रमित व्यक्ति नभेटिएको तर तर जिल्लामा कोरोनाको पूर्ण सुरक्षित रहने अवस्था ग्यारेन्टी नभएकाले सर्वसाधरण आउजाउ गर्ने, व्यापार व्यवसाय गर्ने र अन्य क्रियाकलाप गर्नसक्ने अवस्था नदेखिएको जनाइएको छ ।

पालिकाले कोरोना कहरका कारण उब्जिएको लकडाउनलाई पालना गर्न पालिका भित्रका स्थानीयबासी घरभित्र बसीदिन समेत अनुरोध गरेको छ । यदि पालिकाले गरेको लकडाउन निर्देशनको अवज्ञा गर्नेलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने जनाइएको छ । पालिकाले कोरोना भाइरसको कुनै त्यस्तो लक्षण आदि देखिएमा नजिकैको स्वास्थ्य संस्थालाई खबर गर्न अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया