पोखरामा ९ शय्याकाे आइसियू तयारी हुँदै

समाधान संवाददाता २०७७ जेठ ९ गते १३:३६

कृष्ण दवाडी, पोखरा

कोभिड–१९ का बिरामीको उपचार गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ९ शय्याको सघन उपचार कक्ष (आइसियू) तयार गरिने भएको छ । उक्त अस्पताललाई ‘डेडिकेटेड अस्पताल’ तोकिएको छ ।

पछिल्ला दिन कोरोनाको जोखिम बढेसँगै अस्पतालमा सम्भावित गम्भीर अवस्थाका बिरामीको उपचारलाई लक्ष्यित गरी विशेष सुविधासहितको कोभिड उपचारमैत्री शय्या निर्माण भइरहेको हो ।

Advertisement

अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले गम्भीर अवस्थाका बिरामीको उपचारका लागि ३/४ दिनभित्रमा आइसियू तयार हुने जानकारी दिए ।

आइसियुको हाल रहेको ११ शय्या क्षमताबाट घटाएर सहज उपचारका लागि नौ शड्ढयामा सीमित गर्न लागिएको छ । अस्पतालले २० लाख लागतमा विशेषखालको उपचार कक्ष निर्माण गरिरहेको जनाएको छ ।

Advertisement

सरकारले सो अस्पताललाई कोभिड–१९ को उपचारका लागि ‘डेडिकेटेड अस्पताल’ तोकेको छ । ‘लेबल १’ र ‘लेबल २’ दुवैको उपचारका लागि अस्पताललाई तोकिएको हो ।

त्यसैगरी हालको मेडिकल वार्डमा समेत २५ शय्या कोरोनाका बिरामीको उपचारका लागि तयार गर्न लागिएको अस्पतालले जनाएको छ । आवश्यकतानुसार उक्त कक्षमा शय्या विस्तार गर्न सकिने उनले बताए ।

‘तत्काल कोरोनाका बिरामीलाई आइसोलेसनमा राखेर उपचार गर्ने व्यवस्था मिलाइएको छ । गम्भीर अवस्थाका बिरामीका लागि केही दिनमा नै आइसियु र मेडिकल वार्डमा उपचारको प्रबन्ध गरिने छ, अहिले त्यसको काम भइरहेको छ,’ उनले भने ।

कोभिड–१९ पुष्टि भएका गम्भीर अवस्थाका बिरामी २ जनासम्मलाई आइसोलेसनमा उपचारका लागि अहिले २ शय्या तयारी अवस्थामा छन् । डेडिकेटेड अस्पताल तोकिएको गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल अस्पतालमा १० शड्ढयाको आइसोलेसन यसअघि नै तयारी अवस्थामा छ ।

सरकारले आवश्यक स्वास्थ्य सामग्री, उपकरण तथा आइसियु व्यवस्थापनका लागि अस्पताललाई ६ करोड बजेट पठाएको थियो । लेबल १ कोभिड अस्पतालले सामान्य केस व्यवस्थापन आफैं गर्नुपर्छ भने बाहिरबाट आएका र अस्पतालमा पहिचान भएका बिरामीलाई प्रोटोकलअनुसार आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने उल्लेख छ ।

लेबल २ कोभिड अस्पतालले मध्यम, जटिल र अति जटिल केस व्यवस्थापन गर्नुपर्ने हुन्छ । बाहिरबाट आएका र अस्पतालमै पहिचान भएका मध्यम, जटिल साथै अति जटिल बिरामीलाई आइसियु केयरमा उपचार गर्नुपर्ने सरकारले जारी गरेको उपचार निर्देशिकामा उल्लेख छ ।

कोरोनाका बिरामीको उपचारका लागि प्रदेशअन्तर्गतका ११ वटै जिल्लामा गरी २ सय ८३ आइसोलेसन शड्ढया तयारी अवस्थामा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

जिल्लामा पुष्टि भएका बिरामीको उपचार सम्बन्धित जिल्लामा गर्ने गरी चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तालिम, अस्पतालमा उपकरण तथा स्वास्थ्य सामग्री व्यवस्थापनको काम गरिएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया