लकडाउन सिर्जनाः सन्जोक र बिनोदको ‘जित्छौ हामी’ सार्वजनिक

समाधान संवाददाता २०७७ जेठ ९ गते १७:१५

समाधान संवाददाता

कोरोना भाइरसले तमासा नदेखाएको भए सायद अहिले हामीले गरिरहेको काममा कुनै व्यवधान हुने थिएन । भाइरसकै कारण नेपाल मात्र होइन सारा विश्वको रुटिन परिवर्तन भएको छ । मजदुरी गर्ने हातहरुले गिट्टी कुट्न पाएका छैनन । शब्द कोर्ने कमलहरुले सिर्जना फुराउन सकेका छैनन् । विश्वको बाहिरी दृश्य शान्त नभएसम्म मानिसको सिर्जनशील चेत पनि फुरुङ्ग नहुने रहेछ । फुर्सदनै भएपनि सर्जकहरु गीतसंगीत सिर्जनामा समय खर्चिन सकेका छैनन् ।

गीतसंगीत त्यस्तो सञ्चार हो, जसले निरुत्साहित तमाम् मनहरुलाई उत्साह जगाउने काम गर्छ । यहीँ लकडाउनकै क्रममा गीतसंगीतकै माध्यमबाट भएपनि उत्साहको सञ्चार जगाउने काम गरेका छन् सञ्चारकर्मी सुरज बस्याल ‘सन्जोक’ र गायक विनोद बानियाँले ।

Advertisement

मेन मिडियाको प्रस्तुतिमा युट्युब च्यानल मार्फत सन्देशमूलक गीत ‘जित्छौ हामी’ शुक्रबार सार्वजनिक भएको छ ।

सञ्चारकर्मी सन्जोकको शब्दमा गायक विनोद बानियाँले स्वर भरेका छन् । गीतले मानव जीवनमा आइपर्ने चुनौतीलाई पाखा लगाउन नेपालीहरु सक्षम रहेको सन्देश दिन खोजिएको सञ्चारकर्मी सन्जोकले बताए ।
‘विश्व नै त्रासमा छ । हामी पनि लकडाउन पालना गरेर घरमै छौं,’ उनी भन्छन्, ‘कोरोनाको कहरसँगै धेरै चुनौतीहरु हामीसामू देखिइरहेका छन् । अर्थतन्त्र, सामाजिक व्यवस्था र दैनिकीमा यसको असर परिरहेको छ । यि तमाम् चुनौतीलाई पार गर्न नेपालीको दृढता र एकताले पक्कै काम गर्छ भन्ने विश्वास छ ।’ गीतको रचना चुनौतीको धरातल टेकेर गरिएको उनले बताए ।

Advertisement

गीतमा आवाज दिएका गायक बिनोद बानियाँले आफू निकै उत्साही भएको सुनाए । ‘यसअघिका गीतबाट जस्तो किसिमको प्रतिक्रिया पाएको थिएँ । यसले पनि उत्तिकै उत्साहजनक प्रतिक्रिया मलाई मिल्ने छ,’ उनले भने, ‘गीतले दिन खोजेको सन्देशले नेपालीले अनेकौं चुनौतीलाई समाधान गर्नेछन् भन्ने खालको विश्वास दिलाउने छ ।’

भिडिओमा पूर्व प्रधामन्त्री बाबुराम भट्टराई, गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, गायिका तथा सांसद कोमल ओली, नेपाली फुटबल टिमका पूर्व कप्तान अनिल गुरुङ लगायत चर्चित व्यक्तिलाई फिचर गरिएको छ ।

विजय बस्याल र सन्जोकको निर्देशनले दृश्यलाई हेर्न लायक बनाएको छ । श्यामसुङ तामाङले एरेन्ज गरेको गीतमा गायक बानियाँकै संगीत छ । विनोद पोखरेल, श्रीधर पौडेल, मिलन शंकर, सविन गायक, कमल प्रसाईं र विवेक बस्यालले दृश्य कैद गरेका हुन् । ड्रोन छायांकन कमल प्रसाई र सुरज श्रेष्ठको छ । भिडिओ सम्पादन शाहिल खान र विज्ञान राईले गरेका हुन्।

भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस् ।

तपाईको प्रतिक्रिया