स्वास्थ्य विभागले पठायो मुस्ताङलाई कोरोना उपचार सामग्री

समाधान संवाददाता २०७७ जेठ १० गते १३:३४

एसके थकाली, जोमसोम

संघीय सांसद प्रेमप्रसाद तुलाचनको पहलमा मुस्ताङमा कोरोना विरुद्धको उपचार सामग्री आइपुगेको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागले शुक्रबार स्वाब संकलन गर्ने भाँडो (भिटिएम) तथा आरडिटी किट लगायत कोरोना उपचार सम्बन्धी सामग्री जिल्लामा आएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ ।

विभागले पहिलो पल्ट मुस्ताङलाई कोरोना रोकथाम तथा उपचार लगायतका सामग्री पठाएको हो । सांसद तुलाचनको पहलमा विभागले जिल्लामा कोरोना भाइरस संक्रमित शंका गरिएकाका व्यक्तिको संकलन गरिने स्वाब राख्ने डिब्बा २ सय थान, आरडिटी किट ५ सय थान मुस्ताङ जिल्लालाई उपलब्ध गराएको कार्यालयका प्रमुख टीकाराम भण्डारीले जानकारी दिए ।

Advertisement

यस्तै, विभागले स्वाब संकलन गर्ने तथा आरडिटी किटसहित व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) २५ थान, ज्वरो नाप्ने थर्मल गर्न ५ थान, ग्लोब्स १ सय ५० थान, सेनिटाइजर २० लिटर, एन ९५ माक्स ५० थान र सर्जिकल माक्स १ हजार थान पठाएको हो ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश अर्यालको उपस्थितिमा मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनले स्वास्थ्य प्रमुख टीकाराम भण्डारी समक्ष विभागबाट प्राप्त कोरोना उपचार सामग्री हस्तान्तरण गरिएको छ । सामग्री हस्तान्तर गर्दै मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष तुलाचनले संघीय सांसदको पहलमा जिल्लालाई स्वास्थ्य सेवा विभागले कोरोना लगायतका उपचार सामग्री पठाएको जानकारी दिए ।

Advertisement

यसअघि जिल्लाका विभिन्न संघसंस्था तथा व्यक्तिले जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न स्वास्थ्य उपचार सामग्री उपलब्ध गराएका थिए । प्रादेशिक जनस्वास्थ्य कार्यालयले यसअघि १ सय २० थान आरडिटी र २ थान भिटिएम किट उपलब्ध गराएको जिल्ला अस्पताल जोमसोमका मेडिकल सुपरिटेन्डेन्ट शिव भण्डारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया