तरकारी लिन कृषकको बारीमै पुग्छन् उपभोक्ता
समाधान संवाददाता
बजारका तरकारी पसलमा विभिन्न जिल्लाबाट तरकारी आयात हुन थालेपछि दमौली आसपासका उपभोक्ता तरकारी खोज्दै स्थानीय कृषकको बारीमा पुग्न थालेका छन्।
व्यास नगरपालिका ५ पाटनमा सुरु गरिएको बगरखेतीमा यतिबेला उपभोक्ताको भीड लाग्ने गरेको छ । पाटनका स्थानीयबासीले उत्पादन गरेका तरकारी लिन दमौली आसपासका उपभोक्ता बारीमै पुग्ने गरेको तरकारी उत्पादक कृषक चिजामाया जोशीले जानकारी दिइन् ।
‘बन्दाबन्दी अगाडि बारीमै आएर तरकारी खरिद गर्ने उपभोक्ता निकै कम हुन्थे, तर अहिले दैनिक ४०/५० जनाभन्दा बढी उपभोक्ता बारीमै आउन थाल्नुभएको छ,’ उनले भनिन् । उनका अनुसार बजारमा बाहिरी जिल्लाबाट तरकारी आयात हुन थालेकाले उपभोक्ता स्वच्छ एवं ताजा तरकारी खरिद गर्न बारीमै आउन थालेका हुन् ।
बन्दाबन्दी अगाडि बजारमा लगेर बिक्री गर्नुपर्ने समस्या भए पनि अहिले बारीमै सहजरुपमा तरकारी बिक्री भइरहेको छ । ‘बन्दाबन्दीको समयमा पनि बारीमा उत्पादित तरकारीले सहजरुपमा बजार पाइरहेको छ’, जोशीले भनिन् । उनले करेला, भिन्डी, खुर्सानी, घिरौलालगायत तरकारीखेती गरेकी छन् ।
सोही ठाउँका क्यामबहादुर बोटेले बगरमा लगाइएको तर्बुजाले पनि यतिबेला सहजरुपमा बजार पाइरहेको जानकारी दिए । एक रोपनी क्षेत्रफलमा लगाइएको तर्बुजा उपभोक्ताले बारीमै आएर खरिद गर्ने गरेको उनले जानकारी दिए । प्रतिकिलो ५० रुपैयाँमा तर्बुजा बिक्री भइरहेको छ ।
व्यास नगरपालिका–१० रानीगाउँका विष्णु गिरीले स्वच्छ एवं ताजा तरकारी पाइने भएकाले बारीमै पुगेर तरकारी खरिद गरेर ल्याएको जानकारी दिए ।
‘बजारमा अन्य जिल्लाबाट तरकारी ल्याएको सुनिन्छ, अहिलेको अवस्थामा बाहिरी जिल्लाबाट ल्याएको तरकारी उपभोग गर्न पनि डर छ,’ उनले भने, ‘आफ्नै ठाउँमा उत्पादित तरकारी उपभोग गर्दा ढुक्क पनि भयो, कृषकको उत्पादनले बजार पनि पाउने भयो ।’
तपाईको प्रतिक्रिया