गण्डकी विश्वविद्यालयको न्यासिक परिषद्मा १० नियुक्ति

समाधान संवाददाता २०७७ जेठ १२ गते ५:००

समाधान संवाददाता

गण्डकी विश्वविद्यालयको न्यासिक परिषद्को सदस्य पदमा विभिन्न जिल्लाका १० जनाले नियुक्ति पाएका छन् । यही जेष्ठ ९ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले ६ जिल्लाका १० जनालाई विशेषज्ञताका आधारमा नियुक्ति दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी विकास थापा मगरले जानकारी दिए ।

विश्वविद्यालय सञ्चालनका लागि ‘गण्डकी विश्वविद्यालयको स्थापना, व्यवस्थापन सञ्चालन गर्न बनेको ऐन’ गत वर्ष असोज ८ गते संसदबाट पारित भएको थियो । सोही ऐनको दफा ७ को उपदफा (२) को खण्ड (ग) ले गरेको व्यवस्थाअनुसार मुख्यमन्त्रीले १० जना नियुक्त गरेका हुन् ।

Advertisement

सदस्य पदमा नियुक्त हुनेमा तनहुँबाट शिक्षाविद् प्राडा जीत जोशी रपूर्वाधार विज्ञ डा. जगदीशचन्द्र पोखरेल, कास्कीबाट डा. सुमित्रा मानन्धर गुरुङ भूगोलतर्फ, व्यवसायबाट क्रमशः कृष्ण आचार्य र निर्मल गुरुङ छन् ।

यीबाहेक बागलुङका प्राडा राम मनोहर श्रेष्ठ ऊर्जातर्फ र चन्द्र ढकाल बैंकिङतर्फ, गोरखाका डा. दीनेशचन्द्र देवकोटा इन्जिनियरिङतर्फ, लमजुङका डा. तीर्थ थापा व्यवस्थापनतर्फ र ललितपुरकी डा. प्रतिभा पाण्डे रसाउनशास्त्रतर्फ सदस्य नियुक्त भएका छन्।

Advertisement

अब यी १० जनामध्ये १ जना न्यासिक समितिको अध्यक्ष बन्नेछन् ।ऐनको दफा ७ को उपदफा (९) ले गरेको व्यवस्थाअनुसार न्यासिक समितिका सदस्यले पारिश्रमिक पाउने छैनन् ।

उनीहरुले पाउने बैठक भत्ता भने प्रदेश सरकारले तय गर्नेछ । विश्वविद्यालयका कुलपतिमा भने प्राडा गणेशमान गुरुङ गत फागुनको पहिलो हप्तामा नै नियुक्त भइसकेका छन् । प्रदेशमा कला, विज्ञान, प्रविधि, व्यवस्थापन, कानुन लगायतका अनुसन्धानमूलक तथा व्यावसायिक उच्च शिक्षा प्रदान गर्ने विश्वविद्यालयको उद्देश्यमा राखिएको छ ।

हालै गण्डकी सरकारले विश्वविद्यालय मातहत शिक्षण अस्पताल चलाउने निर्णय गरेको छ । विश्वविद्यालय सञ्चालनका लागि कानुन बनाएर कुलपतिसमेत नियुक्ति गरिसक्दासम्म प्रदेश सरकारले जग्गा पाएको छैन ।अहिले कोरोना भाइरसले महामारीको रुप लिन थालेपछि मेडिकल साइन्सेज कलेज सञ्चालनका लागि गृहकार्य थालिएको हो ।

तपाईको प्रतिक्रिया