पोखराका सबै वडामा क्वारेन्टाइन बनाइने, फलफूल र तरकारी ल्याउन रोक लगाउने तयारी

समाधान संवाददाता २०७७ जेठ १२ गते १०:३३
sdr

समाधान संवाददाता

कोरोना भाइरसको संक्रमण फैलिँदै गएको अवस्थामा पोखरा महानगरपालिकाले ३३ वटै वडामा क्वारेन्टाइन निर्माण गर्ने भएको छ । पोखरा महागनर कोरोना संक्रमण नियन्त्रण मुल समितिका संयोजक मञ्जुदेवी गुरुङको अध्यक्षतामा सम्पन्न बैठकले सबै वडामा ५० जना राख्न सकिने स्थानको छनोट गर्न वडाहरुलाई पत्राचार गर्ने निर्णय गरेको छ । महानगरले हाल २ वटा क्वारेन्टाइन सञ्चालन गरेको छ ।

पोखराको मालेपाटनस्थित कृषिको होस्टेल र जाल्पारोडस्थित लेकसिटी रिसर्च एन्ड हस्पिटलमा महानगरले क्वारेन्टाइन सञ्चालन गरेको छ । अगामी दिनमा थप व्यक्तिहरु राख्नपर्ने अवस्थालाई मध्यनगर गदै सबै वडाका वडाअध्यक्षहरुलाई बढीमा ५० जना राख्न सकिने स्थानको छनोट गर्न तत्काल पत्राचार गर्ने निर्णय गरेका छौं उपप्रमुख गुरुङले भनिन्, ‘क्वारेन्टाइन सञ्चालन र रेखदेख गर्ने जिम्मेवारी समेत वडाले गर्ने छ । त्यसका लागि आवश्यक स्वास्थ्य सेवाको ब्यवस्थापन महानगर स्वास्थ्य महाशाखाले गर्ने छ ।’

Advertisement

त्यस्तै महानगरले महिलाहरुका लागि छुट्टै क्वारेन्टाइन बनाउने निर्णय समेत गरेको छ । महिलाका लागि एउटा छुटटै क्वारेन्टाइन स्थानको छनोट र व्यवस्थापन गर्न महानगरको क्वारेन्टाइन व्यवस्थापन समितिलाई निर्देशन दिने निर्णय गरेको उपप्रमुख गुरुङले जानकारी दिइन् ।

बैठकले पोखरा महानगरले उपलब्ध गराउदै आएको सुत्केरी पोषण सामग्रीलाई जेठ २० गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ । महागनरले लकडाउन सुरु भएयता सुत्केरी भएकाहरुलाई एक केजी घिउ, एक केजी हर्लिक्स, एक लिटर तेल र नगद पाँच सय रुपैयाँ उपलब्ध गराउदै आएको छ । त्यस्तै लकडाउनका बेला महानगरले सुरु गरेको प्रसूति सेवा र मृगौला बिरामीहरुलाई प्रदान गरेको निशुल्क एम्बुलेन्स सेवालाई पनि जेठ २० गतेसम्म निरन्तरता दिने निर्णय गरेको समितिका सदस्य सचिव किरण कोइरालाले बताए ।

Advertisement

महानगरले नगरबासीको स्वास्थ्य सेवालाई र भविष्यमा आइपर्ने समस्यालाई मध्यनगर गदै एम्बुलेन्स खरिद गर्ने भएको छ । कोरोना संक्रमण नियन्त्रण मुल समितिको बैठकले महानगरले सञ्चालन गर्ने गरी एउटा एम्वुलेन्स खरिद गर्न पोखरा महानगर कार्यपालिकालाई सिफारिस गर्ने निर्णय भएको उपप्रमुख गुरुङले बताइन् ।

त्यस्तै हाल सञ्चालनमा रहेका एम्बुलेन्स मध्य २ वटा कोरोना संक्रमितको लागि मात्रै सञ्चालन गर्ने र अरु एम्बुलेन्स अन्य रोगका विरामीलाई ओसारपोसारमा प्रयोग गर्ने निर्णय गरेको छ । पोखरा महागनरले कोरोना संक्रमणको उच्च जोखिम र आगामी दिनहरुमा संक्रमण फैलिन नदिन कास्की जिल्लाबाहेक अन्य स्थानबाट पोखरामा तरकारी तथा फलफुल भित्रन नदिन आवश्यक कार्य गर्न महानगरलाई सिफारिस गर्ने निर्णय गरेको महानगरका अनुगमन अधिकृत किरण कोइरालाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया