वित्तीय पहुँच विस्तारका लागि सहकारी पद्धतिको लघुवित्त

समाधान संवाददाता २०७७ जेठ १२ गते १६:२७

दानराज पन्त

विपन्न समुदायले आफ्नो आवश्यकता बमोजिम तोकिएको समय र न्यून लागतमा सजिलै वित्तीय सेवा प्राप्त गर्न सकेमा मात्र देशमा रहेको बेरोजगारी गरिबी र विपन्नताको न्यूनीकरण गर्न सकिन्छ ।

वित्तीय पहुँचबाट टाढा रहेका २१ प्रतिशत गरिबीको रेखामुनि बाँचिरहेका जनतामा वित्तीय सेवा उपलब्ध गराउनु आजको आवश्यकता हो । दिगो विकास लक्ष्यको मुख्य चुनौती भनेकै गरिबी निवारण हो ।

हाम्रो देशको गरिबी घटाउने लक्ष्य पनि दिगो विकासको लक्ष्यसँग जोडिएको छ । लघुवित्त सेवालाई गरिबी निवारणको अचुक अस्त्रको रुपमा लिइसकिएको छ र संघीय नेपालको वर्तमान संविधान, २०७२ ले अर्थतन्त्रको विकासमा सहकारीलाई अर्थनीतिको एउटा खम्बाको रुपमा अंगीकार गरेको छ ।

नेपालको ७७ वटै जिल्लामा सहकारी संस्थाको सेवा पुगेको छ । सहकारीको संख्यात्मक बृद्घि तीब्र छ । झण्डै ३५ हजार सहकारी संस्था दर्ता भई अस्तित्वमा छन् । देशको कूल गार्हस्थ्य उत्पादन र वित्तीय क्षेत्रमा सहकारी संस्थाको योगदान क्रमशः ४ प्रतिशत र २० प्रतिशत छ ।

६० हजारभन्दा बढी श्रमिकलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ । सहकारीको सिद्धान्त, मूल्य र मान्यता बमोजिम सञ्चालित सहकारी संस्थामा लघुवित्तको नविनतम सेवा प्रवेश गराइ अगाडि बढ्ने हो भने मात्र सबै ग्रामीण जनताको घरदैलोमा न्यूनतम लागतमा उनीहरुले ग्रहण गर्न सक्ने गरी लघुवित्तीय सेवा पु¥याउन सकिन्छ ।

यी ८ देशको अमेरिकामा बसेको बैठकले लघुवित्तको उद्देश्य भनेको स्थानीयस्तरको वित्तीय संस्थाको स्थापना गराउने जसले गर्दा बचतकर्ता बचत गर्न आकर्षित हुने र त्यसबाट कर्जा लगायत अन्य वित्तीय तथा गैर वित्तीय सेवाहरु प्रदान गर्न सकिन्छ भन्ने विषय उल्लेख भएको छ । संसारमा प्रचलित सबै वित्तीय परिवेशको अध्ययन गर्ने हो भने सहकारी पद्घतिको लघुवित्तको आवश्यकता रहेको सहजै पुष्टि हुन्छ ।

के हो त सहकारी पद्धतिको लघुवित्त ?

समुदायमा आधारित संस्थागत सुशासन पालन गरेका नीति, विधि र प्रविधिका साथै अन्तराष्ट्रिय सहकारी सिद्धान्त बमोजिम सञ्चालित सहकारी संस्था मार्फ्त विपन्न तथा न्यून आय भएका र वित्तीय पहुँचबाट टाढा रहेका व्यक्तिलाई सहकारीको सदस्यमा आवद्ध गराई क्रमशः सेयर वृद्धि गर्ने गरी आर्थिक तथा सामाजिक विकास गराउने उद्देश्यले उपलब्ध गराइने वित्तीय सेवा र वित्तीय मध्यस्थताको सेवालाई सहकारी पद्घतिको लघुवित्तको रुपमा परिभाषित गर्न सकिन्छ ।

सहकारी पद्धतिको लघुवित्तको विशेषता :

क) आफ्नै घरदैलोमानै बचत तथा ऋण लगायतका वित्तीय कारोबार गर्न पाउँने र वित्तीय स्रोतको उपलब्धता बढ्न गई ग्रामीण अर्थतन्त्रलाई मजबुत बनाउँदछ ।

ख) नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त ‘घ’ लघुवित्त संस्थाको तुलनामा न्यून लागतमा कर्जा प्राप्त गरी स्वरोजगार बन्न मद्दत पुग्दछ ।

ग) सेयर सदस्यको हैसियतले संस्थाको नीति नियम तथा कार्यक्रम निर्माणमा उनीहरुको समान प्रतिनिधित्व हुन्छ ।

घ) संस्थाले गरेको मुनाफामा उनीहरुको सेयर लगानी तथा कारोवारको योगदानका आधारमा समान हिस्सेदार बन्दछन् ।

ङ) न्यून आय भएका लक्षित वर्ग पहिचान गर्न कुनै विधि अपनाउन नपर्ने र सजिलै पहिचान गर्न सकिन्छ ।

च) विपन्नलाई आवश्यकता अनुसारको कर्जा प्रवाह हुने र कर्जाको सदुपयोगिता पूर्ण रुपमा गराउन सकिने ।

छ) लक्षित बर्गमा कर्जा सेवा पुग्ने, दोहोरोपना लगायत वहुलगानी कम हुने ।
ज) नेपाल भरीकै दुरदराजमा छोटो अबधिमानै न्यूनतम लागतमा विपन्नमा वित्तीय पहुँच पु¥याउन सकिने ।

सहकारी पद्धतिको लघुवित्तको आधारभूत तत्वहरु :

क) लक्षित वर्गको पहिचान र वित्तीय साक्षरता ।

ख) न्यूनतम मूल्यको सेयर लिएको आधारमा सहकारीको सदस्य बन्न पाउने, क्रमशः सेयर वृद्धिको व्यवस्था ।

ग) सानो कर्जाको आकार र नियमित बचत ।

घ ) विपन्न सदस्यलाई अनुकुल प्रक्रिया ।

ङ) कर्जाको किस्तामा असुली ।

च) व्यक्तिगत जमानत तथा समूह जमानतको आधारमा कर्जा ।

छ) घरदैलोमा वित्तीय सेवा ।

ज) धितोलाई भन्दा इमान्दारिता र प्रतिबद्घतालाई महत्व दिने ।

झ) कर्जाको असुली सामान्यतय शतप्रतिशतको नजिक ।

ञ) छोटो अबधिका र छिटो प्रतिफल आउने क्षेत्रमा लगानी ।

ट) ग्राहक हैन सदस्यको रुपमा आत्मसम्मान र प्रतिष्ठा बढ्ने किसिमको ब्यवहार ।

ठ) आर्यआर्जनका क्रियाकलापबाट लघुउद्यमतिर कर्जा प्रवाह ।

ड) स्थानीय व्यक्तिबाट सञ्चालन र समाजप्रतिको उत्तरदायित्व ।

ढ) लागतको आधारमा ब्याजदर निर्धारण ।

सहकारी पद्धतिको लघुवित्त सेवाको सञ्चालन विधि :

क) सहकारीको कार्यक्षेत्रमा रहेका वित्तीय पँहुच नपुगेका न्यूनआय भएका घरपरिवारको पहिचान गर्ने र त्यसको कारण पत्ता लगाई सूची तयार पार्ने ।

ख) लक्षित वर्गलाई सहकारीको सदस्यमा आवद्घ हँुदाको, बचत तथा वित्तीय कारोबार गर्दाको फाइदाका बारेमा बारम्बार छलफल तथा जानकारी गराउने ।

ग) व्यक्तिगत तथा आर्थिक सर्बेक्षण फारम भराई न्यूनतम १० सेयर उपलब्ध गराई सदस्यता दिने र नियमित बचतको लागि खाता सञ्चालन गराउने ।

घ) तोकिएको अवधि पश्चात ऋणको आवश्यकता भएमा ऋणको लागि मागफारम भराउन लगाउने र तत्पश्चात् कार्यालयबाट कर्जा विश्लेषण गरी आवश्यकता र क्षमतको आधारमा कर्जा उपलब्ध गराउने ।

ङ) कर्जाको भाखा अवधि निर्धारण गरी नियमित बचत तथा कर्जाको असुली गर्दै जाने ।

च) कर्जाको नियमित रुपमा सदुपयोगिताको बारेमा जानकारी लिने ।

छ) सहकारी शिक्षा सामाजिक चेतनाका विषय तथा सूचना आदान प्रदान गर्ने ।

ज) सहकारीको विविध कार्यक्रममा कुनै न कुनै तरिकाले समान सहभागी गराउने ।

निष्कर्ष :

विद्यमान सापेक्षित गरिबी न्यूनीकरणको लागि विपन्न वर्गको हातमा वित्तीय साधनको उपलब्ध हुनु नितान्त जरुरी छ । देशको आर्थिक क्रियाकलाप र वित्तीय साधनको सोझो सम्बन्ध रहेको हुन्छ ।

सहकारी पद्धतिको लघुवित्त सेवालाई प्राथमिकतामा राखेर देश भरनै सञ्चालन गर्न सकिएमा मात्र नेपालको दुरदराजमा रहेका न्यूनआय भएका वर्गमा वित्तीय पहँुचको लक्ष्य सजिलै हासिल गर्न सकिन्छ ।

सहकारी विभाग लगायतका स्थानीय निकायका सहकारी इकाईले पनि सहकारीको सिद्घान्त, मुल्य र मान्यता अनुसार कार्य गरे नगरेका विषयमा अनुगमन तथा नियमनलाई प्रभावकारी बनाई सहकारी सुशासनलाई कायम गर्नु जरुरी छ ।

सहकारी पद्धतिको लघुवित्त, न्यून आय भएका वर्गको सम्पूर्ण वित्तीय आवश्यकता पूरा गर्न सक्ने दिगो वित्तीय प्रणालीमा आधारित लघुवित्त सेवाको दृष्टिकोणको लक्ष्य भेट्न सक्ने उत्तम गन्तव्य बन्नु पर्दछ ।

पन्त फस्र्ट माइक्रोफाइनान्सका नायव प्रमुख कार्यकारी अधिकृत हुन् ।

तपाईको प्रतिक्रिया