कांग्रेसबाट निर्वाचित वडाध्यक्षले भने : महानगरकाे ३ वर्षे कार्यकाल असफल भयाे

समाधान संवाददाता २०७७ जेठ १३ गते १४:४३
sdr

पोखरा, १३ जेठ

Advertisement

पोखरा महानगरपालिकामा प्रतिनिधित्व गर्ने कांग्रेस निकट वडाध्यक्षहरुले महानगरपालिकाको ३ वर्षे कार्यकाल पूर्णरुपमा असफल बनेको बताएका छन् ।

पोखरा महानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भै पदस्थापन भएको जेठ १४ गते तीन वर्ष पूरा भएको अवसरमा पोखरा महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष नेपाली कांग्रेस दलको नेता तथा सचेतक रामराज लामिछानेले एक विज्ञप्ति जारी गरी महानगर असफल बनेको आराेप लगाएका हुन् ।

यस अवधिमा निर्वाचन लक्षित बजेट आउनु, केही सिनियर कर्मचारी हाबी हुनु, महानगरको आफ्नो कार्यालय बन्न नसक्नु, राहत संकलन तथा वितरणमा पारदर्शिता नहुनु, बनेका आइल्याण्डको सही सदुपयोग नहुनुलगायतका कार्यले महानगर कसरी चलिरहेको छ भन्ने प्रष्ट पारेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण महानगरवासीको जनजीवन तहसनहस बनेका अवस्थामा यसको रोकथाम र नियन्त्रणका लागि राजनीतिक आग्रहपूर्वाग्रह बाट माथि उठ्न आग्रह गर्दै जनअपेक्षा अनुरुप अघि बढ्न नेतृत्वलाई विज्ञप्ति मार्फत ध्यानकर्षण गराइएको छ ।

Advertisement

२० औं वर्षको अन्तरालमा सम्पन्न निर्वाचन पश्चात आएका महानगरपालिकाको कारणले शालिक काण्ड, डोजर काण्ड, मापदण्ड काण्ड, छात्रबृत्ति वितरण, इन्जिनियर, सब–इन्जिनियर भर्ना विभिन्न काण्डै काण्डमा मुछिन पुग्नु दुर्भाग्य भएको विज्ञप्तिमा जनाईएको छ ।

स्मार्ट सिटी नाममा पृथ्वीचोकमा भएको शालिक भत्काइनु र पुनः उल्टै पैसा दिएर बनाउन लगाउनु, फिर्के खोला मिचेर बनाउन लागेका संरचनाका लागि पैसा दिने र विभिन्न संघ संस्थाको विरोध पछि फिर्ता लिनु, हरेक वर्ष गौरबका योजना प्रस्तुत भए पनि अहिलेसम्म एउटा पनि बन्न नसक्नु, पोखरालाई सुन्दर बनाउने भन्दै मापदण्डको विषय उठाइए पनि मापदण्ड मिच्ने व्यक्तिलाई नै संयोजकको रुपमा प्रस्तुत गरिनु, ठूला व्यक्तिको लागि मापदण्ड आए पनि गरिब, निमुखा वर्गका व्यक्तिलाई घरको न घाटको हुने गरि मापदण्ड बनाइनुले महानगरवासीलाई चिन्तित बनाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा पोखरा बसपार्क निर्माणका लागि २०७५ चैत मसान्त भित्रमा प्रतिवेदन दिने गरी २०७५ फागुन १० गते कार्यपालिकाको वैठकमा दलका नेता तथा सचेतक(काँग्रेस) एवम् वडा नं ९ का वडा अध्यक्ष रामराज लामिछानेको संयोजकत्वमा छानविन समिति बनेको र २०७६ वैशाख ६ गतेको वैठकमा प्रतिवेदन बुझाए पनि त्यसको हालसम्म कार्यान्वयन नहुन दुःखद भएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा पोखरा अन्तराष्ट्रिय सम्मेलन केन्द्र बनाउनको लागि अन्तराष्ट्रिय सम्मेलन केन्द्रका निर्देशक सहितको टोली आउँदा पोखरा महानगरपालिका वडा नं ९ ले वैठक बसी शान्तिबनस्थित प्रर्दशनी केन्द्रको जग्गा उपलब्ध गराउने सिफरिस गरे पनि महानगरपालिकाले नदिदा बन्न नसकेको जनाईएको छ ।

वडाको सरसफाईको जिम्मा सम्बन्धित वडालाई नदिनु, करको दायरा बढाउँ तर करको दर कम गरौं भन्दा भन्दै पनि जनताको ढाड सेक्ने गरी चौगुना कर लागाउनु, ट्राफिक व्यवस्थापन, पार्किङ, छाडा चौपायाको व्यवस्थापनजस्ता समस्याको समाधान हुन नसक्नु, हरेक वर्ष नगरसभाले पारित गरेको बजेट एकलौटी ढंगले व्यापक फेरवदल गरी दुई महिना पछि रातो किताव आउनु जस्ता कार्यले महानगरकाे कार्यशैली प्रष्ट भएकाे विज्ञप्तिमा उल्लेख छ ।

महानगरपालिकाले शिक्षा नियमावली २०७४ र संस्थागत विद्यालय छनौट निर्देशिका विपरित छात्रबृत्ति वितरण गर्नु, वडा शिक्षा समिति मार्फत गरिब, विपन्न, सिमान्तकृत तथा पिछडिएको वर्गका विद्यार्थीलाई छात्रबृत्ति दिनुपर्नेमा मनोमानी नातावाद कृपावाद गरिनु, चुनाव जित्नका लागि शहरी योजना तथा भवन निर्माणको मापदण्ड विपरित फिर्के खोलाको मापदण्ड १० मिटरबाट एक मिटर बनाइनु अनियमितताको पराकाष्टा भएको विज्ञप्तिमा जनाइएकाे छ ।

कांग्रेसबाट २, ३, ४, ६, ९, १०, ११, १२, २३, २७ र ३२ का वडा अध्यक्षहरू महानगरमा प्रतिनिधित्व गरेका छन् ।

तपाईको प्रतिक्रिया