भूकम्पमा छानो पाए, लकडाउनमा राहत

समाधान संवाददाता २०७७ जेठ १३ गते २०:५३

ईश्वर देवकोटा

दीपक रोकामगरको परिवारले रुकुमबाट पोखरा आएको डेढ दशकमा २ संकटको सामना गर्नुपर्यो । एउटा ०७२ को महाभूकम्प अर्को अहिलेको कोरोना महामारी । दुःखजिलो गरेर चलेको परिवारमा भूकम्पले छानो खोस्यो । कोरोनाले श्रम । बहालमा बसिरहेको घर ढुंगा माटोले बनेको थियो । भूकम्पले ढलाएपछि मासिक १ हजार तिरेर बस्दै आएको घरले बिदा दियो ।

२ विवाह गरेका दीपकको परिवार जम्बो छ । उनका दुईवटै श्रीमतीबाट जन्मेका १० छोराछोरीका बाबु हुन् । उमेर ५ दशक कटाएका उनको दुःख यस्तै विपद्मा मात्र सतहमा आउँछ । अरुबेलामा आफ्नै श्रमले भरथेग भइरहेकै छ । मजदुरी गर्ने परिवारको मुख्य आयस्रोत नै दैनिक खर्चिने श्रम नै थियो । लकडाउनले धेरैतिर काम चलेनन् । आयस्रोत रोकियो । खाने पेट धेरै भएको घरमा गर्जो टार्न गह्रुंगो भयो ।

दुबै संकटमा परिवारले सहारा नपाएको भए समाज र राज्यप्रति निकै गुनासो सुनाउने थियो सायद । तर उनीहरुसँग गुनासो नै सुनाउने त्यस्ता भोगाइ छैनन् । विपत्ति सबैका लागि बराबरी भन्ने बुझेका दीपकका दुबै श्रीमती इन्द्रकुमारी र गंगाकुमारीको ओठमा मुस्कान छ । भूकम्पले छानो खोसेका बेला पोखरा १९ लामाचौरकै केशव आचार्यले ६ आनाको निजी जग्गा भोगचलनमा दिएर मानवता दर्शाए । उनीहरु त्यहीँ छेवैमा बस्दै आएका थिए । आचार्यले जग्गा उपलब्ध गराए । अन्य सहयोगी जुटेर जस्ता पाता र बाँसको हालेर अस्थायी टहरो ठड्याइदिए । भूकम्पमा जस्तै कारोनाको महामारीमा पनि उनीहरुले सहारा पाएका छन्, त्यसैकारण इन्द्रकुमार र गंगाकुमारी निराश देखिएनन् ।

लकडाउनले श्रम खोसेर आयस्रोत बन्द भएपनि चुलो निभ्न पाएको छैन । पोखरा महानगरले वितरण गरेको राहत उनीहरुले २ पटक बुझे । १९ का वडा सदस्य कोमलप्रसाद बास्तोलाका अनुसार पहिलो चरणमा आधा र दोस्रो चरणमा पूरा राहत उपलब्ध गराइएको थियो । अहिले महानगरले राहत वितरण बन्द गर्यो । लकडाउन भएकै २ महिना बेसी भयो । आम्दानी आउने बाटो खुल्न पाएकै छैनन् । लकडाउनमा त्यस्ता परिवारको घरमा अन्नको कमी नहोस् भनेरै वडाको समन्वयमा तेस्रोपटक राहत उपलब्ध गराइएको छ । पोखराकै लेबल नेक्स्ट संस्था मंगलबार राहत बोकेर उनीहरुकै घरमा पुग्यो । सरकारले उपलब्ध गराएको राहत सकिन लागेको थाहा पाएपछि राहत बोकेर आएको लेबल नेक्स्टका विश्वास गुरुङले सुनाए ।

खाद्यान्न लगायत सामग्री लिएपछि इन्द्रकुमारी र गंगाकुमारीको अनुहार उज्यालियो । ‘उहीँ आफ्नो हो भनेर टेक्ने ठाउँमात्र नभएको त यहाँ समाजले हामीलाई हेरेकै छ,’ दीपककी जेठी श्रीमती इन्द्रकुमारीले भनिन्, ‘वडाले दिएको राहत सकिँदै छ । अहिले बाबुहरुले ल्याइदिनु भो समस्या नहोला नि ।’ खेतीपातीकै निमेकले छाक टर्दै आएको कान्छी श्रीमती गंगाकुमारीले सुनाइन् । ‘मकै गोड्ने सिजन भयो । कहिलेकाहीँ मात्र जान पाएका छौं । १ दिन काम पाइहाले त ५ सय आउँथ्यो,’ उनले थपिन् ।
जेठीतर्फका ३ छोरी र २ छोरा छन् । कान्छीतर्फ ३ छोरा र २ छोरी छन् । २ छोरीको विहेपछि भने परिवार ११ जना संगोलमा रहेको इन्द्रकुमारीले सुनाइन् । को कतिमा पढ्छन् भन्ने पनि उनलाई ठ्याक्कै सम्झना छैन । ९ कक्षामा भर्खरै उक्लेकी गंगाकुमारीतर्फकी छोरी सबिना पनि बोल्न लजाइन् । घरमा राहत ल्याइदिनेप्रति भने उनी लजाएरै भएपनि कृतज्ञ सुनिइन् ।

विपद्मा सहयोग गर्नेहरुको साथले परिवारलाई ढाडस मिलेको छ । वर्षौदेखि बस्दै आएको समाजले आफ्नै परिवार ठानेको छ । रुकुमबाट आएको डेढ दशकमा उनीहरुले आफ्नो ठेगाना पनि पूरा सम्झिएनन् । ‘पहिले बुढा र म पोखरा आयौं । त्यसपछि दिदी पनि आउनु भयो । मिलेरै बसेका छौं । काम गरेरै परिवार चलेको छ,’ गंगाकुमारीले भनिन्, ‘हाम्रा केटकेटी यही हुर्किए, यतै पढे । अब त यही समाजको पनि भइयो । हाम्रालाई सबैले राम्रै मानेका छन् ।’ सहयोगीकै साथका कारण पोखरा आफ्नो लाग्ने उनले बताइन् ।

लेबल नेक्स्टले त्यस्तै सहयोगको खाँचो परको अर्को १ घरमा पनि मंगलबार राहत पुर्यायो । पोखरा १६ तल्लो गोस्थेस्थित नर्वदा घाटनजिकैको बस्तीमा सन्तेराम विकको घरमा खाद्यान्न लगायत सामग्री हस्तान्तरण गरे । सन्तेरामको ४ जनाको परिवार छ । सन्तेराम बोल्न सक्दैनन् । उनकी श्रीमती अपांग छिन् । ज्याला मजदुरीमै भरथेग हुँदै आएको परिवारलाई त्यसैमाथि लकडाउन कहर बन्यो । सहयोगको खाँचै परेको जानकारी पाएपछि सहयोग उपलब्ध गराइएको लेबल नेक्स्टका विश्वास गुरुङले बताए । ‘अति समस्यामा परेकालाई सहयोग गर्न पाउँदा सन्तुष्टि मिलेको छ,’ गुरुङले भने । साथीभाइकै हातेमालोमा थोरै रकमको जोहो गरेर राहत उपलब्ध गराएको उनले सुनाए ।

तपाईको प्रतिक्रिया