कोरोना कोषमा कांग्रेसको २ लाख

समाधान संवाददाता २०७७ जेठ १४ गते ११:३९

दमाैली

तनहुँको भानु नगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि खडा गरेको कोरोना रोकथाम तथा उपचार कोषमा नेपाली कांग्रेस भानु नगर समितिले २ लाख सहयोग गरेको छ ।

Advertisement

जिल्लाका सबै स्थानीय तहमा आर्थिक सहयोग गर्ने नीतिबमोजिम कांग्रेस भानु नगर समितिले मंगलबार भानु नगरपालिकालाई २ लाख १ हजार १३ सहयोग गरेको हो । भानु नगर समितिका सभापति श्रीभक्त आचार्यले नगरप्रमुख उदयराज गौलीलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

उक्त रकममध्ये ३० हजार नेपाली कांग्रेस जिल्ला समितिले उपलब्ध गराएको हो भने बाँकी १ लाख ७१ हजार १३ नगर समितिले शुभेच्छुकहरुबाट संकलन गरेको हो ।

नेपाली कांग्रेस सुखदुःखमा सधैं जनताको साथमा रहेको भन्दै आचार्यले स्थानीय तहलाई हस्तान्तरण गरिएको रकमको सही सदुपयोग हुनेमा विश्वास व्यक्त गरे ।

भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले कोरोना नियन्त्रण गर्ने अभियानमा नेपाली कांग्रेसको तर्फबाट गरिएको सहयोगप्रति धन्यवाद ज्ञापन गरे ।

Advertisement

नगरपालिकाले खडा गरेको कोरोना कोषमा सहयोग गर्न संघ संस्था तथा व्यक्तिलाई नगरप्रमुख गौलीले आह्वान गरे । जिल्लाका विभिन्न स्थानीय तहले खडा गरेको कोरोना कोषमा राजनीतिक दलको तर्फबाट सहयोग गर्ने क्रम जारी छ ।

कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विभिन्न स्थानीय तहमा सहयोग गरिरहेका छन् ।

शुक्लागण्डकीको कोषमा २७ लाख संकलन

स‌ंकलन तनहुँको शुक्लागण्डकी नगरपालिकाले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा रु २६ लाख ९३ हजार ९ सय २३ संकलन भएको छ । नगरपालिकाको कोषमा प्रदेश सरकारलगायत संघसंस्था र उद्योगी व्यवसायीले सहयोग गरेका छन् ।

उक्त कोषमा गण्डकी प्रदेश सरकारको तर्फबाट प्राप्त १० लाख, शुक्लागण्डकी नगरपालिका–७ शेराटारस्थित सूर्य नेपाल प्रालिको तर्फबाट १० लाख, नगरपालिकाका कर्मचारीको तर्फबाट २ लाख ५२ हजार ६ सय ५, नेपाल रेडक्रस सोसाइटी दुलेगौडा उपशाखाको तर्फबाट १ लाख ५१ हजार १ सय ५१, गण्डकी क्रसर उद्योग व्यवसायी संघको तर्फबाट १ लाख प्राप्त भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ग‌ंगालाल सुवेदीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया