मुस्ताङले किन लिन मानेन तिब्बती राहत ?

समाधान संवाददाता २०७७ जेठ १४ गते १४:४२

एसके थकाली, जोमसोम

विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस ९ कोभिड–१९ ०ले सिर्जित लकडाउनका कारण समस्यामा परेका नेपालका केही हिमाली तथा उच्चपहाडी जिल्लालाई उत्तरी छिमेकी देश चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले २ साताअघि कोरोना रोकथाम तथा नियन्त्रण संम्वन्धि मेडिकल सामाग्री र खाद्यान्न लगायतका विभिन्न राहत स्वरुपमा पठायो ।

तिब्बत सरकारले उपलब्ध गराएको राहत सामाग्री अरु जिल्लाले औपचारिक रुपमा बुझेर हस्तान्तरण गरिसक्दा मुस्ताङका लागि पठाएको राहत नेपालतर्फको उत्तरी कोरलानाका १० किमी क्षेत्र यता अलपत्र परेको जानकारी प्राप्त भएको छ । तिब्बत सरकारले मुस्ताङसँगै हुम्ला, जुम्ला, रसुवा, मुगु, डोल्पा लगायतका जिल्लालाई कोरोना भाइरसको जोखिम कम गर्न तथा खाद्यान्न लगायतका सामाग्रीहरु दिएर आर्थिक सहयोग गर्न खोजेको थियो ।

Advertisement

तिब्बत सरकारले उपल्लो मुस्ताङको २ स्थानीय तहलाई बर्सेनि आर्थिक तथा भौतिक सहयोग गर्दै आइरहेको छ । तर, यसपटक भने उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउपालिकाले तिब्बत सरकारले पठाएको राहत लिन ठाडै इन्कार गरे ।

यी २ पालिकालाई लक्षित गर्दै तिब्बत सरकारले गत वैशााख २६ गते उत्तरी कोरलानाका सम्म राहत सामाग्री ल्याइपुर्‍याएको थियो । तिब्बतले राहत स्वरुपमा पठाएको राहत कोभिड–१९ रोकथाम गर्ने मेडिकल सामाग्री र ठूलो परिमाणमा खाद्यान्न र तरकारी छन् ।

Advertisement

गत २६ गते तिब्बत सरकारले पठाएको राहत अझै कोरला पासमै त्रिपालले ढाकिएको अवस्थामा थन्किएको छ । नेपाल पक्षका २ पालिकाले राहत नबुझेपछि ती सामानहरुको व्यवस्थापन कसरी हुने भन्ने अन्याेल छ ।

तिब्बतले क्वारेन्टिनलाई आवश्यक पर्ने बेड ४ सय ८० थान, डिसइन्फेक्सन ६० बोतल, थर्मल गन १० थान, एन–९५ माक्स २ सय ५० थान, पिपिई २ सय ५० थान, सर्जिकल माक्स १० हजार थान, खाने तेल ९ सय बकेट, चामल ९ सय बकेट, जौको पिठो ९ सय बकेट, प्याज, ५ सय केजी, बन्दा ५ सय केजी, काउली ५ सय केजी र आलु १ हजार केजी पठाएको रेकर्ड जिल्ला प्रशासन कार्यालय मुस्ताङमा छ ।

उपल्लो मुस्ताङका २ पालिकाले राहत सामाग्री बुझ्न ढिलाई गर्दा कतिपय राहत सामाग्री भण्डारण गरिएको स्थानमा कुहिन थालेको छ । यसअघि तिब्बत सरकारले पठाएको राहत लोमान्थाङ–५ का वडाध्यक्ष नवाङकुङ्गा लामा ,पासाङ गुरुङ र टसी फेञ्चोक गुरुङले बुझेका थिए ।

उनीहरुले उक्त सामाग्री कोरलापासमै राखेका थिए । तर,कोरलापासमा तिब्बती राहत आएको अप्रत्यक्ष जानकारी पाएका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउपालिकाका २ अध्यक्षले बिना जानकारी सहमति र सहकार्य बिना आएको एकपक्षिय राहत नलिने जनाएका थिए । उनीहरुले कोरोना कहरले सिर्जित अवस्थामा राहत सामाग्री लिदा संक्रमण फैलिन सक्ने अवस्था रहेको र यसवर्ष राहत नलिने निर्णय गरेका थिए ।

कोरला नाकामा २ पक्षीय वार्ता

चीनको स्वशासितक्षेत्र तिब्बत सरकारले २ साताअघि पठाएको राहत सम्वन्धि बुधबार कोरला नाकामा द्धिपक्षीय वार्ता भएको छ ।

कोरला नाकामा खटिएका तिब्बत पक्षका सुरक्षाकर्मी, प्रहरी निरीक्षकस्तरका छिरिङ टसीलगायतका सुरक्षाकर्मी र नेपालपक्षबाट उपल्लो मुस्ताङको लोघेक दामोदरकुण्डका अध्यक्ष सहित २ जना प्रतिनिधि र लोमान्थाङबाट अध्यक्षसहित करिब १० जनाको प्रतिनिधि मण्डलले राहत सामाग्री फिर्ता गर्ने सम्वन्धमा छलफल गरेको लोमान्थाङका अध्यक्ष सुवर्णकुमार विष्टले जानकारी दिए ।

तिब्बतपक्षका नाकामा खटिएका सुरक्षाअधिकारीलाई यसपटक कोरोना कहरका कारण राहत लिन असमर्थ भएको जानकारी गराएको अध्यक्ष सुवर्णकुमार बिष्टले बताए । यसवर्ष माहामारीको रुपमा उत्पन्न कोरोना कहरका कारण स्थानीय जनप्रतिनिधि र गाउले समेतको सहमतीमा राहत नलिने तिब्बत पक्षलाई जानकारी गराएको बताए ।

उनले राहत सामाग्री लिदा पर्याप्त गर्नुपर्ने र राहत लिदा बुझ्दा आवश्यक समन्वय समेत नभएको उल्लेख गरे । लोमान्थाङ–५ का वडाध्यक्ष नवाङकुङ्गा लामाले आफु पनि गाउपालिकाको जिम्मेवार व्यक्ति भएकाले राहत बुझ्ने काम वैधानिक भएको तर्क गरे ।

उनले राहत बुझ्दा सिनियर जनप्रतिनिधिसँग समन्वय गर्न खोजेको भएपनि समन्वय हुन नसकेको स्पष्ट पारे । आइसकेको राहत नबुझ्नु व्यक्तिगत गुनासो नभएको र यस बिषयले कसैलाई चित्त दुखेको खण्डमा माफी माग्न तयार रहेको बताए ।

लोघेकर दामोदरकुण्डका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले राहत फिर्ता गरिदिन तिब्बत पक्षलाई सामुहिक रुपमा अनुरोध गरेको बताए । उनले पछिल्लो समय कोरोना संक्रमित बृद्धि भइरहेको अवस्थामा विदेशबाट भित्रिने सामानले जोखिम निम्त्याउन सक्ने भन्दै तिब्बतीयन पक्षलाई स्पष्ट धारण राखेको जनाए ।

चीनको तिब्बत पक्षले उपलब्ध गराएको राहत सामाग्री नलिने निर्णयमा पुगेपछि कोरलामा थन्क्याएर राखिएको ठूलो परिमाण राहत सामाग्री कसरी व्यवस्थापन हुन्छ भन्ने बिषय अन्योल बनेको छ ।

तिब्बतले मुस्ताङलाई दिएको राहतको रकेर्ड सम्बन्धित निकायमा पुगिसकेकाले राहत सामाग्री तिब्बतले नलैजाने कतिपय स्थानीयको बुझाइ छ । तिब्बतले फिर्ता नगर्ने र मुस्ताङले नलिए ठूलो धनराशीको राहत सामाग्री कोरला नाकामा फ्रिज हुने स्थानीयको भनाइ छ ।

तपाईको प्रतिक्रिया