दलित हत्या प्रकरणमा पोखरेली अधिकारकर्मीको विरोध

समाधान संवाददाता २०७७ जेठ १४ गते १७:४८

पोखरा


रुकुम पश्चिममा अन्तरजातीय विवाहको विषयलाई लिएर भएको कुटपिटबाट ३ जनाको ज्यान गएको र ३ जना बेपत्ता भएको घटनाप्रति शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराले ध्यानाकर्षण भएको जनाएको छ ।


जाजरकोट जिल्ला भेरी नगरपालिका –४ का २१ वर्षीय नवराज विश्वकर्मा सहितका ६ जना नागरिकको हत्या भएकामा नवराज विश्वकर्मा, टिकाराम विश्वकर्मा र गणेश वुढाथोकीको शव मात्र फेला परेको छ । अन्य व्यक्तिको अवस्था अझै यकीन हुन नसकेको छैन ।

Advertisement


सञ्जालका तर्फबाट जारी विज्ञप्तिमा जातीय भेदभावको घटनालाई कठोर रुपमा स्वीकार गरी सो अनुसारको सजायको व्यवस्था गर्न बनेको विशेष ऐनको रुपमा ‘जातीय भेदभाव तथा छुवाछूत कसूर र सजाय ऐन २०६८’ तत्कालीन व्यवस्थापिका संसदबाट पारित गरिएको जनाइएको छ ।

उक्त ऐन पारित भएकै दिनका रुपमा दलित समुदायले उत्सव मनाउने गरेको जेठ १० गते कर्णाली प्रदेशको एक मात्र छुवाछूत मुक्त स्थानीय तह चौरजहारी नगरपालिका क्षेत्रमा भएको यस प्रकारको मानव सभ्यता विरुद्धको अत्यन्त निन्दनीय मानव अधिकार विरोधी घटनाको निष्पक्ष छानबिन गरी, दोषी पत्ता लगाई कानूनी दायरामा ल्याउन र वेपत्ताको खोजी गरी पीडित पक्षलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सञ्जालले माग गरेको छ ।

Advertisement


विज्ञप्तिमा सञ्जाल संयाजक विष्णुप्रसाद बराल, इन्सेक प्रदेश कार्यालय संयोजक शिवप्रसाद खकुरेल, मानवअधिकार संरक्षण मञ्चका संयोजक कमलप्रसाद अर्यालले हस्ताक्षर गरेका छन् ।

तपाईको प्रतिक्रिया