कामदार नहुँदा देशकै दोस्रो ठूलो खानेपानी आयोजना ठप्प

समाधान संवाददाता २०७७ जेठ १५ गते १:१६

कृष्ण दवाडी, पोखरा

कोभिड–१९ को संक्रमण रोक्न देशव्यापी जारी बन्दाबन्दीले पोखरामानिर्माणाधीन देशकै दोस्रो ठूलो खानेपानी सुुदृढीकरण आयोजनाको काम रोकिएको छ । जापान सरकारको अनुदान सहयोग र नेपाल सरकारको ऋण लगानीमा ५ अर्ब रुपैयाँमा पोखरा–१९ पुरुनचौरमा बनिरहेको आयोजनाको सम्पूर्ण काम ठप्प भएको हो ।

खानेपानी संस्थानबाट सञ्चालित र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)अन्तर्गत निर्माण भइरहेको सो परियोजनाबाट हाल पोखरामा खानेपानी आपूर्ति भइरहेको मर्दीखोलाको पानी प्रशोधन गर्ने तथा थप वितरण लाइन निर्माणको योजना छ ।

Advertisement

हाल अप्रशोधित पानी उपलब्ध भइरहेकामा सो आयोजना सम्पन्न भएपछि यसले समेटेको क्षेत्रमा २४सै घण्टा गुणस्तरअनुसारको प्रशोधित पानी उपलब्ध हुने खानेपानी संस्थानले जनाएको छ । सो आयोजनाको गत वर्ष जेठमा संघीय सरकारका खानेपानीमन्त्री बिना मगरले शिलान्यास गरेपछि कामले तीव्रता पाएको थियो ।

आयोजनाको निर्माणकार्य जापानी निर्माण कम्पनीले नै अघि बढाएको हो । खानेपानी संस्थानका इञ्जीनियर सन्तोषकुमार दासले लकडाउन आह्वानपछि निर्माणमा परिचालित सबै मजदुर घर फर्किएको र काम ठप्प भएको बताए ।

Advertisement

हालसम्म समग्रमा २४ प्रतिशत कार्य प्रगति भए पनि लकडाउनले गर्दा निर्धारित मितिभित्रमै आयोजना सम्पन्न गर्न बाधा पुग्ने उनको भनाइ छ । ‘यसअघि हाम्रो लक्ष्यभन्दा पनि माथि काम भए पनि दुई महिनायता आयोजनाको सबै काम रोकिएको छ । लकडाउन नखुलेसम्म काम शुरु हुने अवस्था छैन । यसबाट हाम्रो लक्ष्य घट्ने भयो,’ इञ्जीनियर दासले भने ।

प्रशोधन केन्द्र र पाइप लाइन विस्तार गरी दुई खण्डमा आयोजनाको काम अघि बढेको थियो । उनकाअनुसार पोखरावासीले पिउने पानीको प्रमुख स्रोत रहेको मर्दीखोलाको पानी शुद्धीकरणका लागि मुहान नजिक दैनिक ४ करोड लिटर क्षमताका बालुवा हटाउने ट्याङ्की निर्माण गरिनेछ ।

मुहान नजिक ग्रिड च्याम्बर र पानी थिग्र्याउने (सेडिमेन्टेशन ट्याङ्क) को काम शुरु भएलगत्तै काम रोकिएकाले यसमा खासै प्रगति हुन सकेको छैन ।ग्रिड च्याम्बरबाट शुद्धीकरण गरिएको पानीलाई पुरुनचौरमा थप शुद्धीकरणका र प्रशोधन गरिनेछ ।

४ करोड लिटरकै चार पानी थिग्र्याउने ट्याङ्की तथा पानी छान्ने फिल्टर, दुई सफा पानी सङ्कलन गर्ने ट्याङ्की (स्लोस स्याण्ड फिल्टर) र क्लोरिनेसन प्लान्ट निर्माणको काम भइरहेको छ । स्लोस एण्ड फिल्टरको ६० प्रतिशत काम सम्पन्न भएको इञ्जीनियर दासले जानकारी दिए ।

पोखरामा हाल आपूर्ति भइरहेको पानी बिनाप्रशोधन उपभोक्ताको घरसम्म पुग्ने गरेकामा आयोजना सम्पन्न भएपछि धारामा शुद्ध पिउने पानी आपूर्ति हुनेछ । बर्खायाममा नदीमा बाढी आउँदा पोखरामा आउने पानीसमेत दूषित हुने गरेको छ ।

बजारमा आपूर्ति हुने खानेपानी भण्डारण गर्न २० लाख लिटर क्षमता तीन पानी ट्याङकी पोखराको फूलबारी, प्रस्याङ र कोलपाटनमा निर्माण गरी त्यसमार्फत बजारका विभिन्न भागमा वितरण गर्ने योजनाअनुसार काम भइरहेको छ ।

फूलबारीमा निर्माण गर्न लागिएको अन्डरग्राउन्ड ट्याङकीकोे हालसम्म ८० प्रतिशत तथा कोलपाटनको ओभरहेड ट्याङकीको २० प्रतिशत काम सकिएको छ ।

पस्र्याङमा फाउन्डेसनको काम शुरुभएसँगै रोकिएको थियो । बजारमा कूल ९६ किमी पाइपलाइन विस्तार योजनाअन्तर्गत एक वर्षको अवधिमा १४ किमी पाइप जडान गरिसकिएको छ ।

जापान सरकारको रु ४ अर्ब ८१ करोड ३० लाख अनुदान सहयोगमा सन् २०१७ को फेब्रअरी १५ मा सो आयोजनासम्बन्धी सम्झौता भएको थियो । सन् २०२२ को अन्त्यसम्ममा निर्माण गरी सक्ने गरी खानेपानी सुधार आयोजना अघि बढेको हो ।

आयोजना निर्माणपछि पाइपलाइनमा पानीको चापमा सुधार भइ पानी चुहावट नियन्त्रण भइ आपूर्तिमा सुधार भएर महानगरको १ देखि १९ वडाका ४ लाख ५ हजार ८ सय ८९ जनसंख्या लाभान्वित हुने अपेक्षा गरिएको छ ।

संस्थानका अनुसार पोखरामा २४सै घन्टा सहज आपूर्तिका लागि दैनिक ६ करोड ५० लाख लिटर पानी आवश्यक पर्ने गरेकामा हाल ४ करोड हाराहारीमा मात्र आपूर्ति हुने गरेको छ ।

तपाईको प्रतिक्रिया