‘कोरोना रोकथाम कालु र बाघकाे कथाजस्तो’

समाधान संवाददाता २०७७ जेठ १५ गते ६:१४

भरत काेइराला
पोखरा, १५ जेठ

नेपालमा पहिलो कोरोना संक्रमित गत माघमा भेटिएका थिए । उनी उपचारपछि त्यतिबेलै घर फर्के । त्यसपछि संघ सरकारले कोरोना रोकथाम र उपचारका लागि भनेर धेरै काम गरेको सूचीको विवरण प्रस्तुत गर्दै आएको छ । कोरोनाबाट बच्नका लागि जारी लकडाउनले २ महिना पार गरेको छ । जसै लकडाउन लम्बिँदैछ, उसै कोरोना संक्रमित ह्वात्तै बढेका छन् ।


‘अस्पतालमा ल्याब, औजार, जनशक्ति, आइसोलेसन बेड, थप्ने बेलामा गाडी दिने निर्णय सुहाउँदो भएन’

Advertisement

सा‌ंसद मनकुमारी गुरुङ

लकाउन सुरु भएलगत्तै क्वारेन्टाइन र राहतका नाममा मनग्गे खर्च भयो । तर कोरोनाको प्रभाव बल्ल देखिन थालेको छ । सुरुमा हल्लीखल्ली धेरै नै गर्ने तर साँच्चै समस्या पर्दा काम गर्न नसक्ने अवस्था त आउने होइन भन्ने चिन्ता व्यक्त हुन थालेको छ ।

गण्डकी प्रदेश सभाको बुधबारको बैठकमा विशेष समय लिएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद विनोद केसीले कोरोनाको प्रसंगमा कालु र बाघको सुनाए । उनले भने, ‘कोभिड १९ भनेर हामी धेरै सजग भयौं, करोडौं रुपैयाँ खर्च पनि ग¥यौं, हल्लीखल्ली ठूलै भयो, तर रोगको संक्रमण सुरु भएपछि काम नहुने अवस्था आउँछ भन्ने आशंका उब्जेको छ ।’

Advertisement


भारतबाट ल्याइएका फलफूल र तरकारीका कारण कोरोना संक्रमण हुन सक्ने भन्दै प्रदेशका नाकाबाटै रोक लगाउन आग्रह

धौलागिरी अञ्चल अस्पतालमा सामग्री खरिद र २ जना संक्रमितको उपचारका लागि १ करोड ६० लाख रुपैयाँ खर्च भएको बिल सामाजिक विकास मन्त्रालयमा पेस भएको प्रसंग उनले उल्लेख गरे । उनले भने, ‘यही खर्च कसरी व्यवस्थापन कसरी गर्ने भनेर मन्त्रालयका सचिवले चिन्ता व्यक्त गर्नुभएको छ, अबका बिरामीको उपचार कसरी गर्ने होला ?’

अहिले प्रदेशको संरचना नै आवश्यक नभएको सुनिन थालेको भन्दै उनले यस्तो अवस्थामा प्रदेश सभा सदस्यको सुविधा कटौती गरेर स्वास्थ्यको क्षेत्रमा खर्च गर्न उनले सरकारलाई सुझाव दिए ।
नेकपाका सांसद चन्द्रबहादुर बुढाले गण्डकी अस्पतालाई कोरोना डेडिकेटेड अस्पताल बनाउँदा धेरैमा आशंका उब्जेको भनाइ राखे । प्रदेशभरका तल्लो वर्गका बिरामी उपचार गराउन आउने अस्पतालाई कोरोना उपचारका लागि व्यवस्था गरिनु नै गलत रहेको भन्दै छिटै यसको विकल्प खोज्न पनि आग्रह गरे । लकडाउने धेरै समस्या निम्त्याएको भन्दै अब यसको मोडालिटीबारे पनि पुनर्विचार गरिनुपर्ने भनाइ उनले राखे ।

कांग्रेस सांसद मेखलाल श्रेष्ठले कोरोनालाई सरकारले अवसर र चुनौतीका रुपमा लिएर त्यसै अनुसार कार्ययोजना बनाउन आग्रह गरे । उनले पिसिआरको दायरा बढाउन र लकडाउनको मोडालिटी परिवर्तन गर्न माग पनि गरे । कोरोना नियन्त्रण, रोकथामका लागि कांग्रेसले दिएका सुझाव कार्यान्वयमा सरकारले चासो नदिएको भन्दै उनले ध्यानाकर्षण गराए ।

जनमोर्चाकी सांसद पियारी थापाले मृत्युपछि कोरोना परीक्षण गरिनुले सबैलाई अचम्मित बनाएको बताइन् । उनले कोरोनाले भन्दा पनि अरु नै रोगका कारण उपचार नपाएर मर्ने अवस्था आउन थालेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

उनले सूचना सम्प्रेषणमा अलमलका कारण झन् जोखिम बढेको भनाइ राखिन् । पिसिआर परीक्षण भएर रिपोर्ट पोजेटिभ आइसकेका मानिसलाई छिटोभन्दा छिटो व्यवस्थापन गरी आइसोलेसनमा पु¥याउन अलमल गर्न नहुने उनको सांसद थापाले बताइन् ।

पिसिआर अभाव हुँदा गाडी किन चाहियाे ?
प्रदेश सभाको बैठकमा सांसदहरुले प्रदेश सकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि मन फराकिलो पारेर काम गर्न आग्रह गरेका छन् । सांसद मनकुमारी गुरुङले प्रदेशका ११ वटै जिल्लाका अस्पताललाई गाडी दिने व्यवस्थाको उनले चको विरोध गरिन् । ‘अस्पतालमा ल्याब, औजार, जनशक्ति, आइसोलेसन बेड, थप्ने बेलामा गाडी दिने निर्णय सुहाउँदो भएन्,’ उनले भनिन् ।

फ्रन्ट लाइनमा बसेकालाई प्राथमिकतामा राखेर सेवा सुविधा उपलब्ध गराउने उनको आग्रह छ । स्वास्थ्यकर्मी नै बिरामी भएका कारण अस्पताल सिल गर्नुपरेका घटना सार्वजनिक भइरहेका बेला उनीहरुको सुरक्षामा विशेष चासो दिनसमेत उनले जोड दिइन् ।

मुख्यमन्त्रीले प्रदेशलाई ग्रिन जोन भनिरहँदा संक्रमित दैनिक रुपमा बढेको भन्दै पिसिआर परीक्षणको दायरा फराकिलो बनाउन आग्रह गरिन् ।

गोरखामा भारतबाट फर्केनेको लर्को नै लाागेकाले जिल्लाको नाकामै परीक्षण गरी त्यही अनुसार क्वारेन्टाइनमा व्यवस्थापन गर्न सके गाउँमा जोखिम कम हुने भनाइ उनको छ । क्वारेन्टाइनमा बसेकालाई दैनिक रुपमा उपलब्ध गराउने भनिएको सुविधा पनि नियमित गर्न उनको आग्रह छ ।

सांसद ओमकला गौतमले नवलपुरलाई तत्काल रेड जोन घोषणा गरी क्वारेन्टाइन व्यवस्थित गर्न गर्न सरकारलाई सुझाव दिइन् । प्रदेश र जिल्लाबाट विदेशमा रहेका नागरिकलाई फर्काउन प्रदेश सरकारबाट पहल गर्न आग्रह गरिन् ।

सांसद सरीता गुरुङले भारतबाट नेपाली आउने क्रम बढिरहेका बेला जिल्ला जिल्लामा पिसिरको किट र भिटिएम सकिएको भन्दै यसमा चासो दिन आग्रह गरिन् । अहिले सकारले दुखेको घाउ पेन किलर खुवाएर दुखाइ कम बनाएको जस्तो गरेको भन्दै तत्काल दोस्रो चरणको राहतको प्याकेज घोषणा गर्न माग गरिन् ।

सांसद भागवत प्रकाश मल्लले अन्य जिल्ला र भारतबाट आउनेहरु रामदी नाकामा अलपत्र परेकोतर्फ ध्यानाकर्षण गराउँदै सम्बन्धित पालिकाले सहजीकरण गरेर सुरक्षित रुपमा क्वारेन्टाइनमा राख्ने प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरे ।

दोस्रो चरणको राहत माग
सांसद बिन्दुकुमार थापाले पहिलो चरणको राहत वितरण मात्र सञ्चालन भएकोमा धेरै जना अब भोकभोकै मर्ने अवस्था लागेकोतर्फ सरकारको ध्यानाकर्षण गराए । ज्याला मजदुरी गर्नेहरु काम नपाएको र घरमा भएको खाद्यान्न पनि सकिएकाले अब कोरोनाले भन्दा पनि भोकले मर्ने अवस्था आउन लागेकाले तत्काल दोस्रो चरणको राहत कार्यक्रम ल्याउन उनले आग्रह गरे । उनले भने, ‘भोककै कारण लडकडाउन उल्लंघन हुन नदिन सरकारले सोच्नुपर्छ ।’

सांसद मीना गुरुङले श्रमिक वर्गले सुरक्षित रोजगार नपाएका कारण भोकभोकै पर्न थालेकाले दोस्रो चरणको राहत र रोजगारीको सुनिश्चितता गर्न आग्रह गरिन् ।

सांसद आशा कोइरालाले श्रममा आधारित रोजगार कार्यक्रम उत्तम विकल्प रहेको भनाइ राखिन् । कृषिजन्य उत्पादन बढाउन यो उत्तम अवसर रहेकाले कृषिलाई व्यावसायिक बनाउन बढाउन बढाउन उनले माग गरन् । भारतबाट ल्याइएका फलफूल र तरकारीका कारण कोरोना संक्रमण हुन सक्ने भन्दै प्रदेशका नाकाबाटै रोक लगाउन उनले आग्रह गरेकी छन् ।

नेपालका किसानले बजार नपाउने र उपभोक्ताले तरकारी खान नपाउने अवस्थाको अन्यका लागि सरकारले त्यही अनुरुपका योजना ल्यान उनले सुझाव दिएकी छन् ।

जातीय विभेदप्रति आपत्ति
प्रदेश सभाको विशेष र शून्य समयमा बोल्ने अधिकांश सांसदले दलित भएकै कारण जाजरकोटका युवाले ज्यान गुमाउने परेको अवस्थाप्रति आपत्ति जनाए । पोखरा महानगरपालिका १६ मा दलितलाई किरियापुत्री भवन प्रयोग गर्न नदिएको प्रसंग पनि सांसदले उठाएका छन् ।

कांग्रेस सांसद डोबाटे विश्वकर्माले परक समुदायले बनाएको किरियापुत्री भवन दलितलाई प्रयोग गर्न नदिनु र त्यसपछि पनि पटकपटक डरधम्की दिनुले लोकतन्त्रकै उपहास भएको महसुस गरेको बताए । यो प्रसंग अदालत पुगिसकेको र आरोपित ३ जना जनही १ लाख ७० हजार धरौटीमा छुटिसकेकाले पीडितले न्याय पाउने र दोषीमाथि कारबाही हुनेमा विश्वस्त रहेको उनको भनाइ थियो ।

यो घटनालाई ढाकछोप गर्ने गरी प्रदेश सांसद तथा नेकपा कास्की अध्यक्ष कृष्णबहादुर थापाले निकालेको विज्ञप्ति र त्यसपछि मिडियामा दिएका अभिव्यक्तिप्रति सांसद विकले आपत्ति जनाए । यो घटनाप्रति उच्चस्तरीय छानबिन समिति गठन गर्न उनले सभामुखमार्फत सरकारको ध्यानाकर्षण समेत गराए ।

समाजवादी पार्टीका सांसद हरिशरण आचार्यले सरकारी लगानीमा बनेको सार्वजनिक किरयापुत्री भवन सुनार समुदायलाई प्रयोग गर्न नदिएर बाटुलेचौरमा अमावनीय कार्य भएको बताए । यो विवादमा मुछिएका प्रदेश सांसद कृष्णबहादुर थापा र उनको दलले यो घटनाका बारेमा धारणा सार्वजनिक गर्न समेत उनले माग गरेका छन् ।

नेकपा सांसद जूनादेवी नेपालीले बाटुलेचौर प्रकरणका दोषीलाई कारबाही गरी पीडितलाई क्षतिपूर्ति दिन माग गरिन् । सांसद राजीव पहारीले जाजरकोटको बर्बर घटनापछि रुपन्देहीमा बालिका बलात्कारको घटना भएको भन्दै यस्ता कुरीति र घटना अन्त्यका लागि संघ सरकारको ध्यानाकर्षण गराए ।

पर्यटन क्षेत्रलाई राहत देऊ
नेकपा सांसद चन्द्रमोहन गौचनले लकडानका कारण पर्यटन क्षेत्र धरासायी भएको भन्दै सकारले तत्काल राहतको प्याकेज घोषणा गर्न माग गरे । राजनीतिक संक्रमणका कारण आक्रान्त पर्यटन क्षेत्र उकासिन लागेका बेला अप्रत्यासित रुपमा आएको यो महामारीले सबैभन्दा बढी असर पर्यटन क्षेत्रमै परेको उनको भनाइ थियो ।

उनले भने, ‘पर्यटनलाई धरासायी हुनबाट जोगाउन तत्काल राहतको प्याकेज आवश्यक छ ।’

सांसद मनबहादुर गुरुङले २०७२ को भूकम्पबाट क्षति पुगेको पोखरा १२ को माटेपानी गुम्बाको संरक्षण र मर्मतमा सरकारको ध्यानाकर्षण गरे । गुम्बा जाने बाटो भत्केको र गुम्बा फेदीको बाटो मर्मतका कारण अलपत्र गरेको भन्दै तत्काल बजेट व्यवस्थापनका लागि आग्रह गरे ।

तपाईको प्रतिक्रिया