कोरोना नियन्त्रणका लागि गण्डकी कोरोना कोषको साढे ६ करोड खर्च

समाधान संवाददाता २०७७ जेठ १६ गते १:५१

अनुप पौडेल, पोखरा

गण्डकी प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि बिहिबारसम्म साढे ६ करोडभन्दा बढी रकम खर्च गरिसकेको छ । कोरोना कोष सञ्चालक समितिका सचिव रामबहादुर केसीका अनुसार प्रदेश सरकारले हालसम्म ६ करोड ५८ लाख २३ हजार ५ सय रुपैयाँ खर्च गरेको छ ।

प्रदेश सरकारको गत वर्ष चैत १२ गते बसेको मन्त्रिपरिषद् बैठकले १५ करोड रुपैयाँको कोष खडा गर्ने निर्णय गरेको थियो । प्रदेश सरकारको १५ करोडबाहेक उक्त कोषमा विभिन्न संघसंस्था र व्यक्तिले ३ करोड ३१ लाख १२ हजार ३ सय रुपैयाँ सहयोग गरेका छन् ।

Advertisement

यो पनि : २ बिरामीको उपचारमा प्रोत्साहन भत्ता डेढ करोड !

प्रदेश सरकारले स्वास्थ्य सामग्री खरिदका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई ५ करोड ७ लाख २० हजार रुपैयाँ दिएको छ । ५ करोड ५ रुपैयाँ स्वास्थ्य सामग्री खरिदका लागि र २ लाख २० हजार रुपैयाँ काठमाडौंबाट पिसिआर मेसिन पोखरा ल्याउँदाको खर्च दिएको छ ।

Advertisement

त्यस्तै बागलुङको धौलागिरी अञ्चल अस्पताललाई आइसियू स्थापना गर्न ६० लाख रुपैयाँ दिएको छ । केन्द्र सरकारले १ करोड दिएकोमा पैसा अपुग भएर थप माग आएपछि ६० लाख रुपैयाँ प्रदेशले दिएको हो । सोही अस्पताललाई करारमा स्वास्थ्यकर्मी खटनपटनका लागि ४ लाख २३ हजार रुपैयाँ उपलब्ध गराएको छ ।५ जना नर्सलाई ३ महिनाका लागि खटाउन २८ हजार २ सय रुपैयाँका दरले अस्पताललाई प्रदेश सरकारले पैसा उपलब्ध गराएको हो ।

कोषमार्फत नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना नियन्त्रणको आन्तरिक तयारी गर्न ५० लाख रुपैयाँ दिइएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई कोरोनाको नतिजा दिने सफ्टवेयर बनाउन ५ लाख रुपैयाँ दिइएको छ । प्रदेशभरका सबै जिल्ला अस्पतालका डाक्टर र नर्सलाई आइसियू व्यवस्थापनतालिम दिन ३ लाख ७८ हजार ५ सय रुपैयाँ उपलब्ध गराइएको छ । त्यसबाहेक जिल्ला अस्पताललाई पूर्वाधार विकासका लागि पनि रकम उपलब्ध दिइएको छ ।

गण्डकीमा थपिँदै संक्रमित

गण्डकीमा कोरोना संक्रमितको संख्या ३ दिनदेखि निरन्तर उकालो लागिरहेको छ । बिहीबारसम्म गण्डकीमा संक्रमितको संख्या १७ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

बिहीबार एकैदिन ५ जना संक्रमित थपिएका छन् । तीमध्ये स्याङजाका ३ जना, म्याग्दी र नवलपुरका १/१ जना छन् । गण्डकीमा बिहीबार थपिएका पाँचै जना कोरोना संक्रमित भारतबाट स्थानीय पालिकाले उद्धार गरी ल्याइएकाहरु रहेको स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

स्याङजामा थपिएका संक्रमित वालिङका २६ र २२ वर्षीय पुरुषसँगै ३९ वर्षीया महिला हुन् । नवलपुरका संक्रमित देवचुली नगरपालिकाका १९ वर्षका पुरुष भएको निर्देशनालयले जनाएको छ । यी ४ बाहेक म्याग्दीको मालिका गाउँपालिकाका ३० वर्षीय पुरुषमा पनि कोरोना देखिएको छ ।

म्याग्दीमा पहिलोपटक कोरोना संक्रमित भेटिएका हुन् । भारतबाट आएर बेनीको क्वारेन्टाइनमा बसेका उनको बेनीस्थित आइसोलेनमा उपचार भइरहेको निर्देशक शर्माले जानकारी दिए ।

नवलपुरका संक्रमितको भरतपुल अस्पतालमा, स्याङजाका ५ मध्ये ४ को जिल्ला अस्पतालमा र १ जनाको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया