कोराला नाकामा अलपत्र ६ ट्रक राहत सामग्री बुझ्न तयार भए स्थानीय तह

समाधान संवाददाता २०७७ जेठ १७ गते ६:१७

एसके थकाली
जोमसोम

Advertisement

उत्तरी छिमेकी देश चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले २ साताअघि उपलब्ध गराएको राहत सामग्री बुझ्न उपल्लो मुस्ताङका २ स्थानीय तह सहमत भएका छन् । तिब्बत सरकारले गत वैशाख २६ गते उपल्लो मुस्ताङका २ पालिकालाई पठाएको राहत सामग्री विभिन्न कारणले कोरलानाकामा अलपत्र परेको थियो ।

तिब्बत सरकारले नोबेल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा कोरानाकै कारण लकडाउनले समस्यामा पर्दै आइरहेका केही हिमाली तथा उच्च पहाडी जिल्लालाई मेडिकल सामग्री तथा ठूलो परिमाणमा खाद्यान्न लगायतका सामग्री उपलब्ध गराएको थियो । सोहीक्रममा उपल्लो मुस्ताङलाई पनि करिब ६ ट्रक मेडिकल तथा खाद्यान्न पठाएको थियो ।

Advertisement


स्थानीय तहका जिम्मेवार जनप्रतिनिधिलाई सम्पर्क नगरेको भन्दै लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्णकुमार बिष्टले राहत सामग्री नलिने अडान राखेका थिए ।

तिब्बतले ठूलो परिमाणमा पठाएको राहत मुस्ताङका २ पालिकाले लिन मानेका थिएनन् । राहत सामग्री उपलब्ध गराउँदा स्थानीय तहका जिम्मेवार जनप्रतिनिधिलाई सम्पर्क नगरे भन्दै लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्णकुमार बिष्टले राहत सामग्री नलिने अडान राख्दै आइरहेका थिए । उनले आधिकारिक व्यक्तिसँग समन्वय नगरेको र हाल कोरोना भाइरसको संक्रमण बढिरहेका बेला राहत सामग्री लिँदा आफैलाई घातक हुनसक्ने तर्क राख्दै कोरलामा अलपत्र राहत सम्वन्धित स्थानमै फिर्ता गर्ने जनाएका थिए ।

Advertisement

तिब्बत सरकारको कोरला नाकामा खटिएका सुरक्षाकर्मीले लोमान्थाङका वडाध्यक्ष लगायत ३ जना व्यक्तिको सम्पर्कमा मात्रै राहत पठाएको विषयलाई लिएर विवाद उत्पन्न भएको थियो । बिहीबार मुस्ताङका प्रमुख जिल्ला अधिकारीको रोहबरमा भएको छलफलमा लोमान्थाङका अध्यक्षले पूर्व अडान कायमै राखेपछि राहत व्यवस्थापन गर्ने पाटो अन्योल बनेको थियो । यसअघि कोरलानाकामा अलपत्र राहत व्यवस्थापन गर्ने जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले २ निर्णय गरेको प्रजिअ अर्यालले बताए । उनले आइसकेको मेडिकल तथा खाद्यान्न लगायत सामग्री २ पालिकाले नलिने निर्णय गरे जिल्ला विपद व्यवस्थापन कोषमा व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।

अघिल्लो दिनको वार्ता विफल बनेपछि प्रजिअ अर्यालकै अग्रसतामा शुक्रबार बिहान तिब्बत पक्षका सुरक्षा अधिकारीसँग लोमान्थाङका अध्यक्ष बिष्ट र वान टु वान टेलिफोन वार्ता भयो । वार्तामा कोरलामा रहेको चिनिया तिब्बती सुरक्षा अधिकारीले बिष्ट समक्ष राहत हस्तान्तरण प्रक्रियामा आफूहरुबाट त्रुटि भएको भन्दै आत्माआलोचना गरेपछि अध्यक्ष बिष्ट राहत बुझ्न सहमत भएका हुन् ।

अध्यक्ष बिष्टले राहत पठाउँदा प्राविधिक त्रुटि भएको र त्यसलाई तिब्बच पक्षले सच्याएपछि सहमति भएको जानकारी दिए । उनले केही दिनभित्रै दुबै पालिकाका जनप्रतिनिधि छलफल गरेर राहत व्यवस्थापनकार्यलाई अघि बढाउने बताए ।

तिब्बत पक्षका सुरक्षा अधिकारी तथा लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउपालिकाबीच आपसमा टेलिफोन मार्फत् सहमति भएपछि २ साता देखि कोरलामा अलपत्र राहत सामग्री व्यवस्थापन हुने पक्कापक्की भएको छ । तिब्बतले उपल्लो मुस्ताङका लागि कोरोना उपचार सामग्री तथा खाद्यान्न नेपाल तर्फको नाकामा अनलोड गरेको थियो । तिब्बत सरकारले मुस्ताङसहित हुम्ला, जुम्ला, रसुवा, मुगु र डोल्पा लगायतका जिल्लामा राहत सामग्री पठाएको थियो ।

तपाईको प्रतिक्रिया