कहिलेसम्म नवराजहरुले मृत्युवरण गर्नुपर्ने हो ?

समाधान संवाददाता २०७७ जेठ १७ गते १३:१०

प्रेम विश्वकर्मा ‘गदाल’

Advertisement


हामी निकट समय अर्थात यही जेठ २१ गते ‘जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा’ दिवस मनाउन गाइरहेका छौं । आज देशलाई छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको यतिका वर्ष बितिसक्दा पनि यो समस्या जिउँका तिउँ रहनु लज्जाको विषय बनिरहेको छ भन्दा अतियुक्ति नहोला । आज जातीय विभेद तथा छुवाछूतका घटनाहरु दिनहुँजसो घटिरहेका छन् । जसले दलित तथा उत्पीडित समुदायलाई स्तब्धमात्र होइन तरंगित र र आक्रोशित पनि बनाएको छ ।

Advertisement


आज विश्व नै कोरोना भाइरसको महाव्याधिबाट आक्रान्त बनिरहेको छ । हाम्रो देशको मात्र होइन विश्व कै अर्थतन्त्र र जनजीवन अस्तव्यस्त भइरहेको यस घडीमा सदिऔंदेखि हाम्रो समाजमा फैलिएको जातपात र छुवाछूत रुपी भाइरसले हामीहरुलाई डसिनै रहेको छ । त्यसैले यस्तो संगीन अवस्थामा पनि जतीय विभेदजन्य घटनाहरु एकपछि अर्को घट्दै जानु संयोगमात्र होइन बिडम्बना नै हो । यस्ता घटनाहरुले सभ्य र आधुनिक भनिने मानव समाजलाई लज्जित र कलंकित बनाएको छ ।

Advertisement


२०७६ चैत ११ गतेदेखि देश बन्दाबन्दीमा छ । सबै मानिसहरु ‘होम क्वारेन्टाइन’मा छ्न । तर यस्तो अवस्थामा पनि आज दलित समुदाय माथि जातीय विभेदका घटनाहरु देश व्यापीरुपमा घटिरहेका छन् । यसै सेरोफेरोमा पोखरा महानगरपालिका १६, बाटुलेचौरमा सार्वजनिक जग्गा तथा सरकारी लगानीमा निर्माण गरिएको किरियापुत्री भवन काजकिरियाका लागि प्रयोग गर्न माग्दा २०७६ चैत २६ गते स्थानीय देवबहादुर थापा, जनक थापा लगायतले सोही स्थानका मोहन सुनार माथि जातीय आधारमा दलित भएका कारण गाली बेइज्जत, धाकधम्की देखाई जातीय विभेद र अपमान गरे ।


अहिले त्यस घटनाका अभियुक्तहरू सम्मानित जिल्ला अदालत कास्कीबाट जनही १ लाख ७० हजार रुपैयाँका दरले धरौटीमा रिहा भएका छन् । सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका ११ तिङला, भदौरेमा सार्वजनिक बाटोमा हिँड्दै गरेको अवस्थामा स्थानीय मीनबहादुर नेपालीलाई सोही ठाउँ बस्ने संगीता राईले मेरो अगाडि हिँड्छस्, तँ दमाई भन्दै ढुंगाले हान्दै लखेटेर जातीय विभेद गरेकी थिइन् ।


गुल्मी जिल्ला कालीगण्डकी गाउँपालिका ५, फोक्सिङ निवासी श्याम परियार सोही स्थान बस्ने नेत्र काउसा मगरको घरमा २०७७ वैशाख २२ गते ओत लाउन घरको मझेरीसम्म प्रवेश गर्दा स्थानीय जनसमुदायले घर अपवित्र भयो भन्दै पूजापाठ गरी शुद्ध शान्ति गर्नुपर्छ भनी श्याम र उनको बाबालाई गाली गलौज गर्दै गाउँ निकाल गर्नेसम्मका डरत्रस, धाकधम्की देखाई जातीय आधारमा १५ हजार रुपैयाँ दण्ड सजाय गराएको घटना सार्वजनिक भएको छ ।


काभ्रे, खनीखोला गाउँपालिका ५, तालढुंगाका विनोद नेपाली माथि २०७७ वैशाख २७ गते सोही वडाका फणीन्द्र तिमल्सिनाले सामान्य विवादमा जातीय आधारमा गालीगलौज गर्दै घरेलु हतियारले कुटपिट गरेका छन् । उनको कुटपिटले विनोदको टाउमा गहिरो चोट लागेको छ । विनोदले आफुलाई जातीय विभेद गरी गालीगलौज र कुटपिट गर्ने तिमल्सिनालाई कानूनी कारबाहीको लागि प्रहरीमा निवेदन दिएका छन् ।


रुपन्देही देवदह नगरपालिका ११, गुम्मीकी १३ वर्षीय बालिका अंगिरा पासीलाई सोही वडा बस्ने बर्ष २५ को वीरेन्द्र भरले २०७७र०२र०९ गते राती बलात्कार गरे पछि स्थानीय समाजले श्रीमती बनाएर २०७७ जेठ १० गते भरको घर पठाइदिए । घरमा पुग्नसाथ भरको परिवारले दलित अछुतकी छोरी हाम्री बुहारी बन्न आई भन्दै बालिका माथी जाई लागे ।

तँ हाम्रो घरमा पस्न पाउदिनस भन्दै कुटपिट गरे। त्यही दिन दिउँसो घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा बालिकाको शव भेटियो । बालिकाको मृत्युु रहस्यमय छ । उनको मृत्युुलाई कुनै पनि हालतमा सहज रुपमा लिन सकिदैन। कर्तव्य गरि बालिकाको हत्या गरिएको भनी बालिकाकी आमाले इलाका प्रहरी कार्यालय रुपन्देहीमा दरखास्त दिएकी छ्न् ।


यही समयको सेरोफेरोमा २०७७र०२र१० गते मुलुक नै स्तब्ध हुने गरी जाजरकोट भेरी नगरपालिका ४, राना गाउँका मुहान विकका छोरा वर्ष २१ का नवराज विक र रुकुम पश्चिम चौरजहारी नगरपालिका ८, सोतीका वीरबहादुर मल्लको छोरी वर्ष १७ की सुष्मा मल्लबीच लामो समयदेखि अन्तरजातीय प्रेम सम्बन्ध रहेकोे र उक्त प्रेम सम्बन्धलाई लिएर विवाह गर्न सुष्माले फोन गरी बोलाएपछि नवराज विकले आफूसहित केही साथीहरू लिएर प्रेमिकाको गाउँजादा गाउँका स्थानीयबासीहरु मिली उच्च जातीय अहंकारवादका आडमा सुनियोजित ढंगबाट सोही वडाका वडाअध्यक्ष डम्बर मल्लसहितको जत्थाले घेरा हाली हँसिया, खुकुरी, चिर्पट, ढुंगा मुढा आदिले आक्रमण गरी बीभत्स हत्या गरेर नवराज सहित अन्य ५ जनालाई भेरी नदीमा फ्याकिएको घटनाले हामी सवैलाई स्तब्ध बनाएको छ ।


जातकै कारण रुकुम चौरजहारीमा जुन जघन्य अपराधको घटना घट्यो यो १६औं शताब्दीको सामन्ती बर्बरताको अर्को नमुना नै हो । यो जातीय विभेदको आधारमा सृजित कल्पना समेत गर्न नसकिने अत्यन्त निन्दनीय नरसंहार हो । यो मानव सभ्यता र मानव मर्यादाविरुद्धको पराकाष्ठा पनि हो । यो जातिवादी समाजको कुरुप अनुहार फेरि एकपटक उदांगिएको छ । यो घटनाको जति निन्दा र भत्र्सना गरे पनि कम नै हुन्छ ।


आज हामी २१औं शताब्दीमा छौं । हाम्रो संविधान र कानुनले जातीय विभेद र छुवाछूतलाई अपराध तथा दण्डनीय घोषणा गरेको पनि धेरै वर्ष भयो । जातीय विभेदलाई मध्य नजर गरी ल्याएको जातीय विभेद तथा छुवाछूत कसूर र सजाँय ऐन २०६८ (संशोधन सहित) आइसकेको आज ९÷१० वर्ष बितिसक्दा पनि विभिन्न बहानमा यस्ता जघन्य अपराधहरु घटनु निकै दुखद कुरा हो । कानुनका दृष्टिमा सबै जातजाति समान हुने छन् भन्ने प्रमुख अवधारणालाई आत्मसात गर्दै अन्तर्राष्ट्रिय महासन्धि सन् १९६५ ले सबै किसिमका जातीय विभेद उन्मूलनको घोषणा गरेको छ । पक्ष राष्ट्र भएर नेपालले ६ वर्षपछि सन् १९७१ देखि यस अन्तर्राष्ट्रिय महासन्धिलाई समर्थन गरेको छ ।


उक्त महासन्धिको प्रावधानलाई नेपालको संविधान लगायत जातीय विभेद सम्बन्धी अन्य ऐन कानुनहरुले स्वीकार गरेका छन् । नेपालको संविधान २०७२ को धारा १८ मा समानताको हक तथा धारा २४ मा छुवाछूत तथा भेदभाव विरुद्धको हकलाई मौलिक हकका रुपमा राखिएको छ । अझ संविधानको धारा २५५ मा जातीय छुवाछूत, उत्पीडन तथा विभेदको अन्त्य गरी दलित समुदायको बीचमा विशेष व्यवस्था गर्ने तथा दलित समुदायको अधिकारसँग सम्बन्धित नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय सन्धि, महसन्धिको व्यवस्थालाई लागु गराउन राष्ट्रिय दलित आयोगको व्यवस्था गरेको छ । तर दुखद कुरा आजसम्म पनि उक्त आयोग गठन हुन सकेको छैन ।

यसरी कानुनमा जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि व्यवस्था भए पनि राज्य तथा सरकारको कार्यान्वयन र नियमक निकाय कमजोर हुनाले आजको दिनसम्म पनि दलित उत्पीडित समुदाय जातीय विभेदको सिकार भइनैरहेका छन् ।


उत्पीडित समुदायको देशका हरेक राजनीतिक परिवर्तनका आन्दोलनहरुमा सहभागिता हुँदै आएको छ । सदिऔंदेखि समाजमा भएका सबैखाले विकृति विसंगति, आफूले भोग्दै आएको जातीय विभेद तथा छुवाछूत अब उपरान्त भोग्न नपरोस् भनी हरेक आन्दोलन र दस वर्षे जनयुद्धमा हजारौं दिलबहादुर रम्तेलहरुले रगत बगाएका हुन्, आफ्नो अमूल्य जीवनको आहुति दिएका हुन् । आज राज्य सत्तामा बस्नेहरु आफूलाई कथित प्रजातन्त्र र समाजवादका अनुयायी भनेता पनि सामन्तवादी यथास्थिति सोच र चिन्तनबाट मुक्त हुन सकिरहेका छैनन् । बोली र भाषणमा क्रान्तिकारिता तर व्यवहार र जीवन पद्धतिमा अनुदारवाद !


हामीले राणा शासन ढाल्यौं । पञ्चायत ढाल्यौं । सामन्तवादको नाइके राजतन्त्र ढाल्यौं । हिन्दु अधिराज्य धर्मनिरपेक्ष राज्य बन्यो । तर सामन्तवादी मूल्यमान्यता र यथास्थिति अनुदारवाद ढलेन । जातपात र छुवाछूत प्रथा ढलेन । अब हामीले समतामूलक, न्यायपूर्ण र समृद्ध समाज निर्माण गर्न के ढाल्नु पर्ने हो ? यति ठूलो परिवर्तनपछि पनि हाम्रो समाज बदलिन सकेन ।

हाम्रो समाज सामाजिक सांस्कृतिक रुपमा रुपान्तरित हुन सकेन । आज सिंगो उत्पीडित तथा दलित समुदाय जातकै कारण अपमान, घृणा, विभेद र अन्याय भोग्न विवश भइरहेको छ । समाजमा मानिस हुनुको अस्तित्व खोज्दा पाइलैपिच्छे त्यसको सामना गर्नु परिरहेको छ । म सोध्न चाहन्छु, जातीय विभेद, अन्तरजातीय विवाह र प्रेमका कारण अझै कहिलेसम्म कति नवराजहरुले मृत्युवरण गर्नु पर्ने हो ?

तपाईको प्रतिक्रिया