डेढ करोड भत्ता प्रकरण: संक्रमितको उपचारमा नखटिनेलाई पनि भत्ता दाबी, नामसहित

समाधान संवाददाता २०७७ जेठ १७ गते १४:०१

अनुप पौडेल, पोखरा

धौलागिरी अञ्चल अस्पतालले कोरोना संक्रमितको उपचारमा खटिएकाबाहेक अन्य कर्मचारीलाई पनि भत्ता दिनुपर्ने माग गरेको खुलेको छ । सरकारले उपचारमा संलग्नहरुको हकमा कार्यान्वयनमा ल्याएको जोखिम भत्ता व्यवस्थापन आदेश २०७७ ले उपचारमा खटिएकालाई मात्र भत्ता दिनुपर्ने उल्लेख गरेको छ । तर अस्पतालले कार्यरत २ कर्मचारीलाई छोडेर अरु सबैलाई कोरोना संक्रमितको उपचारमा खटिएको दाबी गर्दै सामाजिक विकास मन्त्रालयलाई भत्ता पाउनुपर्नेको विवरण पठाएको हो ।

अस्पतालले १ सय ६९ जनाले प्रोत्साहन भत्ता पाउनुपर्ने भन्दै जेठ ११ गते मेलमार्फत पत्र पठाएको हो । १ सय १३ जना कर्मचारीले सत प्रतिशत, २५ जनाले ७५ प्रतिशत र ३१ जनाले ५० प्रतिशत जोखिम भत्ता पाउनुपर्ने विवरण अस्पतालले मन्त्रालयलाई पठाएको छ । त्यसमा स्त्री रोग विशेषज्ञ, हाड जोर्नी विशेषज्ञ, खरिदार, अधिकृतको पनि नाम छ । उनीहरु संक्रमितको उपचारमा संलग्न नभए पनि अस्पताल पुगेकै भरमा भत्ता पाउने गरी नाम पठाइएको हो ।

Advertisement

अस्पतालले चैतदेखि असारसम्मको भत्ता दिनुपर्ने भन्दै डेढ करोड रकम दाबी गरेको हो । अस्पतालले प्रत्येक महिनाको ३८ लाख २९ हजार ५ सय ३९ रुपैयाँ लाग्ने दाबी गर्दै भत्ता रकम उपलब्ध गराइदिन भनेको छ ।

सम्बन्धित समाचार – २ बिरामीको उपचारमा प्रोत्साहन भत्ता डेढ करोड !

Advertisement

सम्बन्धित समाचार – डेढ करोड भत्ता मागेपछि अर्थमन्त्रीले भने – सुन्दै असहज लाग्यो, भिडियोसहित

कार्यविधि स्पष्ट नहुँदा समस्या : अस्पताल

केन्द्र र प्रदेश सरकारले बनाएको कार्यविधि स्पष्ट नहुँदा ‘जम्बो लिस्ट’ पठाउनु परेको अस्पतालले जनाएको छ । सूचना अधिकारी तीर्थराज गौतमले अस्पतालमा अन्य सेवा चलिरहँदा कस–कसले भत्ता पाउने भनेर कार्यविधिमा स्पष्ट उल्लेख नहुँदा समस्यामा परेको बताए ।

संक्रमितको उपचार गर्दा अस्पताल छिर्नु नै जोखिमपूर्ण भएकाले अरु कर्मचारीलाई नैतिकताले पनि छुटाउन नहुने भएकाले नाम पठाइएको उनले जनाए । ‘संक्रमितको उपचार हुँदा अस्पतालको इमरजेन्सीमा अरु सेवा खुल्ला थियो । यस्तोबेलामा अस्पतालमा छिर्नु नै जोखिम हुन्छ नि ! अब उनीहरुलाई के गर्ने भन्ने कार्यविधिमा छैन,’ उनले भने । अस्पतालमा १ सय ७१ जना कार्यरत रहेकोमा २ जनाको नाम नपठाइएको उनले जानकारी दिए । कोरोना संक्रमितको उपचार हुँदा अस्पताले दैनिक ५० जनासम्मलाई इमरजेन्सीमार्फत सेवा दिएको उनले जानकारी दिए ।

प्रदेश सरकारको कोरोना कोषमार्फत उक्त रकम भुक्तानी हुनुपर्ने भएपनि कोरोना कोष सञ्चालक समितिले पैसा दिने/नदिनेबारे केही निर्णय गरेको छैन । मेलमार्फत भत्ता पाउनुपर्ने कर्मचारीको विवरण पठाइए पनि कोरोना कोष सञ्चालक समितिसम्म पुगिसकेको छैन ।

‘अस्पतालले ड्युटी गरेका मात्रै होइन सबै कर्मचारीको नाम हालेर पठाएको छ । २ वटा केस हेर्दा जो ड्युटी बस्नुभएको छ उसैलाई हामीले पैसा दिने हो । जिल्लाका सिडिओ, जनस्वास्थ्य प्रमुखले सोधखोज गरेर सबै खटिएको पुष्टि गरेपछि बल्ल रकम भुक्तानी गर्छौं,’ समितिका एक सदस्यले भने ।

जोखिम भत्ता व्यवस्थापन आदेश २०७७ ले संक्रमितको प्रत्यक्ष सम्पर्क रहेकालाई सरकारले तोकेको तलबको शत प्रतिशत भत्ता दिने उल्लेख छ । बिरामीको प्रत्यक्ष सम्पर्कमा आउने डाक्टर र नमुना संकलन गर्ने जनशक्ति पर्छन् ।

संक्रमणको शंका लागि आइसोलेसनमा राखिएका वा संक्रमण पुष्टि भई उपचारमा अप्रत्यक्ष संलग्न अर्थात् ल्याबका कर्मचारीले ७५ प्रतिशत भत्ता पाउने उल्लेख छ । प्रत्यक्ष र अप्रत्यक्ष रुपमा खटिएका जनशक्तिबाहेक संक्रमित र नमुना ओसारपोसारमा संलग्नले ५० प्रतिशत भत्ता पाउने उल्लेख छ ।

अस्पतालका प्रमुखलाई माग बढी भएको र राज्यले धान्न नसक्ने गरी माग आएको जानकारी गराइएको ती अधिकारीले बताए । कोरोना कोष सञ्चालन गर्न सामाजिक विकास मन्त्री नरदेवी पुनको संयोजकत्वमा १० सदस्यीय समिति बनाइएको छ । सो समितिमा अन्य मन्त्रालयका मन्त्री, सचिव र सामाजिक विकास मन्त्रालयअन्तर्गतको महाशाखाका कर्मचारी पनि सामेल छन् ।

बागलुङका १९ र ६५ वर्षीया २ जना संक्रमितलाई पोखरा ल्याएर उपचार गर्ने चर्चा चलिरहँदा धौलागिरी अस्पतालले उनीहरुको त्यहीँ उपचार गरेर सकुशल घर फर्काएको थियो । कोरोना पुष्टि भएपछि बागलुङ नगरपालिका–४ कुँडुलेकी अंशु सापकोटा चैत १५ गते अस्पताल भर्ना भएर २८ दिनपछि घर फर्किएकी थिइन् ।

जिल्लाकी दोस्रो संक्रमित बागलुङ नगरपालिका–३ गौंडाकोटकी ६५ वर्षीया मनकुमारी पौडेल चैत २० गते अस्पताल भर्ना भएर २२ दिनमा निको भएकी थिइन् । १२ बेडको आइसोलेसन तयार पारेको धौलागिरी अञ्चल अस्पतालले ६ जना संक्रमितको उपचार गरिरहेको छ ।

सामाजिक विकास मन्त्रालयका कर्मचारीले भत्ताका नाममा अनावश्यक खर्च भएको बताइरहँदा अञ्चल अस्पतालले भने उपचारमा खटिएका सबैलाई प्रोत्सहान भत्ता दिन नाम मन्त्रालयमा पठाइएको दाबी गर्दै आएको छ ।

समाधानसँगको कुराकानीमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शैलेन्द्र पोखरेलले उपचारमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा खटिएका सबैलाई भत्ताका लागि नाम पठाइएको दाबी गरेका थिए। ‘२ जना संक्रमितको उपचारमा १/२ जना संक्रमित मात्र खटिएर हुँदैन । जोखिम मोलेर रोटेशनमा काम गर्नेलाई पनि भत्ता दिनुप¥यो,’ मेसु पोखरेलको दाबी थियो ।

भत्ता व्यवस्था माग गर्दै सामाजिम विकास मन्त्रालयमा पठाइएको पत्र

सत प्रतिशत भत्ता दाबी गरिएका

७५ प्रतिशत भत्ता दाबी गरिएका

५० प्रतिशत भत्ता दाबी गरिएका

तपाईको प्रतिक्रिया